
काठमाडौँ — २६ मंसिर २०७८
काठमाडौँ , नेपालले साफ वुमन्स यू–१९ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ । ढाकाको कम्लापुरस्थित वीर सेरेष्ठ सहिद सिपाही मुस्ताफा कमल रंगशालामा घरेलु टोलीको चर्को दबाब झेलेको नेपालले गोल भने गर्न दिएन । नेपाली कप्तान तथा गोलरक्षक अञ्जना रानामगर निकै नै व्यस्त हुनुपरेको खेलमा नेपालले बंगलादेशका ९ गोलका उत्कृष्ट अवसर विफल पारेको थियो । त्यसमध्ये धेरैजसो कप्तान अञ्जनाले नै क्लियर गरिदिइन् । सुरुदेखि नै घरेलु टोली हाबी भएको खेलमा नेपालले गोलको एउटै डरलाग्दो अवसर सिर्जना गर्न सकेन । पहिलो हाफमा दीपा शाही घाइते भएपछि तत्कालै अस्पताल लगिएको थियो ।
५३ औं मिनेटमा वंगलादेशले कर्नरमार्फत गोलको उत्कृष्ट अवसर पाउँदा गोलरक्षक अञ्जना बिट भइसकेको अवस्थामा विमला बिकले गोललाइनबाट बल क्लियर गरिइन् । खेलको अन्त्यतिर वंगलादेशकी मोनिका चक्माको प्रहार अञ्जनाले बचाइन् । मारिया मान्दाका केही अवसरलाई नेपाली रक्षापंक्तिले विफल पारिदिएको थियो । दक्षिण एसियाली महिला फुटबलमा उमेर समूहको प्रतियोगिता बढाउने क्रममा सन् २०१८ मा साफ वुमन्स यू–१८ च्याम्पियनसिप सुरु गरिएको थियो । भुटानमा भएको सो प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
( कान्तिपुर दैनिक )
