
काठमाडौँ — २ मंसिर २०७८
काठमाडौँ , घरेलु महिला फुटबलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टिमको प्रभुत्व छ । गत वर्षको राष्ट्रिय महिला लिगको उपाधि होड यिनै विभागीय टिमबीच भएको थियो, त्यसमा सशस्त्र प्रहरीको एपीएफ क्लबले ट्रफी जितेको थियो । तीनै टिम यसपालि पनि उपाधि दाबेदार हुन् । विभागीय टिमहरूले सिधै राष्ट्रिय लिग खेल्ने भए पनि उसका खेलाडीहरू आइतबार सम्पन्न उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा व्यस्त रहे । लिग च्याम्पियन एपीएफका मात्रै होइनन्, आर्मी र पुलिसका खेलाडीहरू पनि छनोटका हरेक टिममा मैदानमा देखिए । लिग च्याम्पियन भइसकेका र लिगकै क्लबमा अनुबन्धित रहेकै अवस्थामा खेलाडीहरू (जो अझै ती टिममा जागिर वा सम्झौतामा छन्) छनोट खेल्नु ठीक हो त ? राष्ट्रिय टिमकी कप्तान रेनुका नगरकोटे भन्छिन्, ‘लिगको छनोट नखेल्ने भनेरै बसिरहेकी थिएँ । तर, खेल्न मिल्ने नियम रहेछ । सबैले खेल्नुपर्छ भने । अनि खेल्यौं । खासमा खेल्न चाहिँ नमिल्नुपर्ने हो ।’ सिनियर खेलाडीले नै छनोट पनि खेल्दा स्थानीय र जुनियरहरूले खेल्न पाउने अवसरबाट बञ्चित हुने उनी मान्छिन् । एपीएफकी मिडफिल्डरसहित राष्ट्रिय महिला टिमका लगभग सबै खेलाडी लिगको छनोटमा विभिन्न नगरपालिका टिमबाट खेलेका थिए ।
रेनुकासँगै राष्ट्रिय टिमका खेलाडीहरू डिफेन्डर गीता राना, फरवार्ड रश्मीकुमारी घिसिङ र पुलिसकी गोलकिपर सपना राई वाग्मती नगरपालिका (सर्लाही) बाट खेलेका थिए । उनीहरूको टिम नकआउट पुग्न सकेन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ३१ नगरपालिकाबीच कात्तिक ४ देखि २८ सम्म भएको छनोटबाट धनगढी उपमहानगर र ललितपुर महानगरपालिकाले आउने राष्ट्रिय लिगमा स्थान बनाए । यी दुई टिम पुलिसका खेलाडीहरूको बलबुतामा राष्ट्रिय लिगलाई छनोट भएको हो । छनोटको फाइनलमा धनगढीले ३–३ को बराबरीपछि टाइब्रेकरमा ललितपुरलाई ३–१ ले हरायो । पेनाल्टी सुटआउटमा निर्णायक गोल रेखा पौडेलले गरेकी थिइन् । उनी पुलिसकी फरवार्ड हुन् । पाँच खेलमा दुई ह्याट्रिकसहित सात गोल गर्दै धनगढीको यात्रा सफल बनाएकी उनले लिगको टिमबाट छनोटमा झरेर खेलेकोबारे भनिन्, ‘छनोटमा एउटा टिममा विभागका चार खेलाडी खेल्न पाउने नियम रहेछ, त्यसैले खेलेकी हुँ ।’
पुलिसकी डिफेन्डर रेविका पाण्डे त धनगढीकी कप्तान नै हुन् । पुलिसकी अर्की डिफेन्डर मनिका पुलामी मगर र गोलकिपर उषा नाथ पनि धनगढीको जर्सीमा निरन्तर उत्रिए । पुलिसका यी चारसहित फरवार्ड चन्द्रा भण्डारी र मिडफिल्डर सरस्वती रोकाय आफ्नो टिमका मुख्य खेलाडी भएको बताउँछन् धनगढीका प्रशिक्षक राघवन्दर कार्की । ललितपुर पनि मुख्यतः पुलिसका चार खेलाडी (फरवार्ड निर्मला बिक, मिडफिल्डरद्वय मनीषा राउत र शिवानी कुसवार तथा विंगर सम्झना लावती) कै प्रदर्शनमा छनोटमा उपविजेता भएर राष्ट्रिय लिगमा पुगेको हो । छनोटका लगभग सबै टिमले विभागीय टोलीका खेलाडीहरूलाई खेलाएको थियो । विभागका ती खेलाडीहरू राष्ट्रिय लिगमा भने आफ्नै टिममा फर्कने छन् । लिगमै लामो समयका लागि अनुबन्धित रहेका खेलाडी अर्कै टिममा छनोट खेल्ने र फेरि लिगमा आफ्नै टिममा फर्किने पाउने नियमे विश्वमै कहींकतै पाइन्न । यसबारे एपीएफ क्लबका कुमार थापाले भने, ‘महिला खेलाडीहरू ट्रेनिङ गरिरहेका थिए । प्रतियोगिता थिएन । एउटा लिग (छनोट र लिग) दुई टिमबाट खेल्न पाउने नियम भएकाले हामीले खेलाडीलाई खेलको अनुभव हुन्छ भनेर छनोटमा खेल्न पठाएका हौं । एउटै टिमबाट मात्र खेल्न पाउन भए हाम्रा खेलाडीलाई छाड्ने थिएनौं ।’
महिला लिगमा अपनाइएको ‘दोहोरो मापदण्ड’ बारे अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामाले भनिन्, ‘महिला खेलाडी एकदमै कम छन् । विभागीय टिमका खेलाडी त्यतिकै बसिरहन्छन् । त्यसैले महिला फुटबलको विकासका लागि यो अवधारणा लिइएको हो ।’ एन्फा महिला समितिकी संयोजकसमेत रहेकी उनले थपिन्, ‘नयाँ खेलाडीलाई खेलाउँदा १०–१५ गोल हुन्छ । त्यसैले टिम बलियो र प्रतिस्पर्धी बनाउन पनि पुराना (सिनियर) खेलाडीलाई खेल्न दिएको हो ।’ उनले भनेजस्तै महिला खेलाडीकै संख्या एकदमै कम भएको अवस्था भने छैन । किनभने ललितपुरले डेढ महिना सञ्चालन गरेको ट्रेनिङबाट १६ खेलाडी छनोट गरेको थियो । व्यवस्थापक नन्दकला थापाका अनुसार ललितपुरको छनोटमा नपरेका खेलाडीलाई लिएर महालक्ष्मी नगरपालिकाको टिम बनाइएको थियो ।
धनगढीको छनोटमा त ठूलै भीड थियो । ‘ट्रेनिङमा ४५ खेलाडी थिए । जसबाट २० खेलाडी (पुलिसका चार जनासहित) लिएर छनोट खेलेका हौं,’ प्रशिक्षक कार्कीले भने, ‘विभागका सिनियर खेलाडीको उपस्थितिले नयाँ खेलाडीलाई कसरी खेल्ने, कसरी उत्साहित बनाउने भन्ने टिम निर्माणमा सहज भयो । अनुभवीसँगै खेल्दा जुनियर खेलाडीको प्रदर्शनमा सुधार आएको छ ।’ छनोट खेलेका धनगढी र ललितपुरका चार–चार खेलाडी राष्ट्रिय लिगमा पुलिसमा फर्किने छन् । त्यसैले लिगमा उत्कृष्ट खेलाडी ल्याउने चुनौती हुनेछ । एन्फाले गत वर्ष नेपालगन्जमा भएको मोफसलका क्लबहरूको प्रतियोगिता ‘एन्फा प्रेसिडेन्ट लिग’ मा पनि दोहोरो मापदण्ड अपनाएको थियो । उक्त प्रतियोगिताबाट चार टिम राष्ट्रिय लिगमा छनोट गरिएको थियो । तर, राष्ट्रिय लिगमा छनोट भइसकेका राजधानीको सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेलाडीलाई पनि प्रेसिडेन्ट लिगमा खेल्न दिइएको थियो ।
( कान्तिपुर दैनिक )
