
काठमाडौँ — ३० कात्तिक २०७८
काठमाडौँ , केही राम्रो हुन्छ भने त्यसलाई व्यवस्थित गर्दा झन राम्रो । प्रसङ्ग फुटबलको ‘प्रि–सिजन फ्रेन्ड्ली’ । अहिले धुमधामले यसको मौसम चलिरहेको छ । आइतबार नै भनौं, सातदोबाटोको एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी र एनआरटीबीच फ्रेन्ड्ली खेल भएको थियो । विश्वास नहुन सक्छ, दर्शकको पनि कमी थिएन । जेहोस्, एउटा माहौल बनेको थियो । कुनै सानोतिनो प्रतियोगिता चलिरहे जत्तिकै । एनआरटीका सदाबहार प्रशिक्षक राजुकाजी शाक्य क्यामरापर्सनका लागि छुट्याएको स्थानबाट खेल हेर्दै थिए । त्यो स्थान मैदानबाट केही माथि नै थियो, तर त्यहींबाट सबैले सुनिने गरेर उनी आफ्ना खेलाडीलाई निर्देशन दिइरहेका थिए । हाफटाइममा उनी तल झरे र टिममा अझै सुधार आवश्यक भएको हाउहाउ देखाउँदै थिए । सहिद स्मारक लिग ‘ए’ डिभिजन सुरु हुन केही दिनमात्र बाँकी हुँदा अहिले ‘प्रि–सिजन फ्रेन्ड्ली’ को मौसम चलेको छ । त्यसो त यसअघिका लिगअघि पनि यस्ता खेल नभएका होइनन् । भएकै थिए । तर यसपल्ट यस्ता खेल बाक्लो रूपमा चलेको छ ।
केही व्यवस्थित र ढंगले चलेको छ । अब त यस्ता खेलका पनि समाचार हुन थाले । एनआरटीकै कुरा गरौं । पछिल्लो एक साताजतिको समयमा एनआरटीले खेलेको यो चौथो फ्रेन्ड्ली थियो । जबकि मनाङले तेस्रो खेल खेलिरहेको थियो । लिग खेल्ने सबै टिमले खेलेका खेल जोड्ने हो भने यस्ता फ्रेन्ड्लीको संख्या दुई दर्जनभन्दा बढी हुनेछ । शुक्रबार लिग औपचारिक रूपमा सुरु हुनु अगाडिसम्म यो क्रम चलिरहने छ । त्यसैले यसको संख्या अझै बढ्ने छ । पछि तिनै प्रशिक्षक शाक्यले प्रतिक्रिया दिए, ‘ठूला प्रतियोगिताअगाडि यस्ता खेल आवश्यक हुन्छ, यो राम्रो हो ।’ उनकै भाषामा भन्दा यस्ता खेलले टिमको प्रदर्शन कहाँनिर छ, कस्तो छ त्यो थाहा पाउन मदत पुग्छ । नयाँ पुराना खेलाडी के कस्तो अवस्थामा छन्, त्यो पनि जान्न सकिन्छ । त्यसैले यस्तो खेल आवश्यक हुन्छ । मनाङका प्रशिक्षक राजेन्द्र तामाङ पनि आफ्नो टिमबारे मैदानमा बुझ्न पाएकामा खुसी थिए । खेलकै क्रममा स्थितिको गहिरो अध्ययन गरिरहेका थिए उनी । उनी भनिरहेका थिए, ‘पछिल्लो समय हामीजस्ता धेरै प्रशिक्षक निस्किए । तर हामीमा मैदानी अनुभव कम छ, त्यसैले टिम मिलाउन गाह्रो भइरहेको छ । हामीले यस्तै खेलबाट त हो सिक्ने । अझ हामी त उमेर समूहको फुटबलबाट सिक्दै माथि आउनुपर्ने हो । जस्तै प्रशिक्षकलाई पनि ‘ए’ डिभिजनका खेल खेलाउन गाह्रो हुन्छ । अनुभवले धेरै सिकाउने हुन्छ । सम्भवतः राजु दाइ जत्तिको अनुभवी प्रशिक्षकलाई पनि आफूले सिकेका कुरा मैदानमा उतार्न गाह्रो हुन्छ ।’
फ्रेन्ड्लीको सम्भावित प्रयोग
सायद, युवा प्रशिक्षक तामाङ केही भावनामा बगे, तर जे भने ठीक भने । जेहोस् कुनै ठूलो प्रतियोगिताअगाडि यस्ता फ्रेन्ड्लीको साँच्चै आवश्यकता हुन्छ । विशेषतः लिग अगाडि । विदेशतिर यसको प्रचुर प्रयोग हुन्छ । अझ ठू–ठूला नाम कहलिएका लिगअगाडि त यस्ता फ्रेन्ड्ली अनिवार्य हुन्छ । त्यतिमात्र होइन, ‘प्रि–सिजन फ्रेन्ड्ली’ का लागि तीन चार टिमसम्मिलित प्रतियोगिता नै हुने गर्छ । यसले लिगअघि गजबको माहौल बनाउने गर्छ । अधिकांश प्रतियोगिताको सुरुआती खेल केही नमज्जाको हुने गर्छ । केही न केही नपुगेको जस्तो हुन्छ त्यस्ता खेलमा । आफ्नो पहिलो खेलमा जस्तै बलियो टिमले पनि अपेक्षाअनुसार प्रदर्शन गर्न सकिरहेका हुन्नन् । यसका लागि अधिकांश प्रशिक्षकले ‘प्रि–सिजन फ्रेन्ड्ली’ को अभावलाई पनि मुख्य कारण मान्ने गरेका छन् । अब त नेपालमा पनि यस्ता खेलको लहर आएको छ । यसलाई अझ व्यवस्थित गर्ने हो भने यो सबैका लागि ठोस अवसर हुनसक्छ, अब यसका लागि पनि बहस गर्ने कि ?
जस्तो, काठमाडौंका अधिकांश क्लबको गुनासो हो ‘मैदान अभाव’ । यस्तोमा ढंगको मैदान भएका बाहिरी जिल्लाले धेरै होइन, दुई–तीन ‘ए’ डिभिजन क्लबलाई बोलाएर फ्रेन्ड्ली प्रतियोगिता आयोजना गर्न सक्छ । यस्ता प्रतियोगिता पक्कै केही खेलकै मात्र हुने गर्छ । समय पनि धेरै चाहिँदैन, केही दिनको मात्र हो । यसले एकातर्फ क्लबले राम्रो मैदानमा ठोस अभ्यास गर्न पाउने हुन्छ भने यसले ‘फ्यानबेस’ पक्कै बढाउने हुन्छ । अझ स्थानीय आयोजक र सहभागी हुने क्लबका लागि आम्दानी पनि बढ्न सक्छ ।
सतर्कता आवश्यक
युरोपका ठूला क्लबबीच यस्तो चलन सुरु भएको पनि धेरै भइसकेको छ । केही राम्रो छ भने त्यसलाई पछ्याउने त हो । र, यहाँनिर ‘प्रि–सिजन फ्रेन्ड्ली’ का लागि उत्तिकै सतर्कता पनि आवश्यक हुन्छ । यस्ता खेलका क्रममा टिमले चोटका कारण मुख्य खेलाडी गुमाउनु हुँदैन । यसमा पनि बढी चनाखो हुनुपर्ने प्रशिक्षक नै हो । यसका लागि प्रशिक्षकले खेलाडीलाई कम समयका लागि प्रयोग गर्न सक्छन् । फेरि चोटमुक्त भएर मैदानमा फर्कने प्रयास गरिरहेका खेलाडीका लागि ‘प्रि–सिजन फ्रेन्ड्ली’ जत्तिको राम्रो अवसर अरू हुँदैन ।
( कान्तिपुर दैनिक )
