
काठमाडौँ — २५ कात्तिक २०७८
काठमाडौँ , नेपालमा हुने लिगको विशेषता नै हो, यसमा निरन्तर केही न केही परिवर्तन भइरहने । फेरि विश्व फुटबल आफै यति धेरै परिवर्तनशील छ कि हामीसँग पनि त्यही अनुसार फेरिनुबाहेक अर्को विकल्प छैन । सहिद स्मारक लिग ‘ए’ डिभिजन अर्को साता सुरु हुँदा यो प्रतियोगिता यसअघिका संस्करणभन्दा पक्कै केही फरक हुनेछ । यी यस्ता फरक हुन्, जसले टिमको प्रदर्शन र यसले तय गर्ने यात्रामा धेरै फरक पार्छ । अचेलको फुटबल धेरै प्राविधिक भएको छ । यी परिवर्तन त्यसै अनुसार बढी छन् । त्यसो त यसअघि पनि फुटबल मैदानमा मात्र खेलिन्थ्यो, मैदानबाहिर पनि खेलिन्थ्यो । तर आजभोलि फुटबल वास्तवमै धेरै ‘माइन्ड गेम’ भएको छ । टिमको प्रदर्शनमा धेरैभन्दा धेरै प्रशिक्षक हाबी हुन थालेका छन् । अब हुने लिगका त्यस्ता आठ फरकपनबाट चर्चा गर्ने प्रयास गरिरहेका छौं, जसलाई प्रशिक्षक, खेलाडी र क्लब सबैले राम्रोसँग आत्मसात् गर्न सक्नैपर्छ ।
१ . पाँच सब्स्टिच्युटको नियम
कोभिड–१९ का कारण विश्व फुटबलमा आएको एउटा ठूलो परिवर्तन ५ सब्स्टिच्युटको नियम हो । यसअघि एक खेलमा तीन सब्स्टिच्युट गर्न पाइन्थ्यो, अहिले पाँच सब्स्टिच्युटको नियम चलिरहेको छ । यो नियम धेरै लामो चल्ने पनि छैन । सन् २०२२ को डिसेम्बर ३१ सम्म मात्र हो । फेरि सबैले यो नियम पछ्याउनु नै पर्छ भन्ने पनि छैन । यसपल्टको सहिद स्मारक लिग ‘ए’ डिभिजनले भने यो नियम लागू गर्नेछ । रणनीतिक रूपमा यो निकै निर्णायक सावित हुन सक्नेछ । ठीक ढंगले भएका सब्स्टिच्युसनले खेलको स्थिति नै फेरिएका छन् । एकातर्फ ढल्केको खेल अर्कोतर्फ गएको छ । फेरि यो पाँच सब्स्टिच्युसनको नियमका आफ्नै विशेषता छन् । यो हो, तीनपल्टमा सब्स्टिच्युसन गर्नुपर्ने । जस्तो, एकपल्ट पाँच खेलाडी पनि सब्स्टिच्युट गर्न सकिन्छ । अथवा एकपल्टमा तीन, अर्कोपल्ट एक–एक । या दुईपल्टमा दुई–दुई अनि एक । यो स्वरूप हाफटाइममा गरिएको सब्स्टिच्युसनमा भने लागू हुँदैन । विशेषतः प्रशिक्षक यो नियममा चनाखो हुन आवश्यक छ ।
२ . ५० खेलाडीको दर्ता
त्यसै भनिएको होइन लिग फुटबल आफैमा लामो समयका लागि चल्छ । त्यसैले प्रत्येक एक पोजिसनमा खेल्ने दुई दुई खेलाडी चाहिन्छ । ठ्याक्कैभन्दा लिग खेल्दा टिममा धेरैभन्दा धेरै खेलाडी आवश्यक हुन्छ । जुन टिमको बेञ्च राम्रो, त्यसले लिगमा पनि राम्रो गर्ने सम्भावना बढी हुन्छ । यसअघिका लिगमा ४० खेलाडी दर्ता गर्न पाउने नियम रहेकामा यसपल्ट यो संख्या बढाएर ५० पुर्याइएको छ । यसले टिमलाई केही सजिलो पक्कै हुनेछ । तर प्रश्न के रहन्छ भने यति धेरै खेलाडी नेपाली फुटबल बजारमा उपलब्ध छन् र ?
३ . चार मैदानको प्रयोग
प्रत्येक मैदानका आफ्नै विशेषता हुने गर्छ । खेलाडी र टिमले त्यसैअनुसार रणनीति तयार गर्ने गर्छन् । यसपल्टको लिगमा चार मैदान प्रयोगमा आउनेछ । कम्तीमा तीन त निश्चितजस्तै छ । पहिलो त दशरथ रंगशाला नै भयो । प्रतियोगिताको उद्घाटन खेल दशरथ रंगशालामा हुनेछ, त्यो पनि फ्लडलाइटमा । दशरथ रंगशालामै घाममा खेल्ने र फ्लडलाइटमा खेल्दा फरक हुने गर्छ । लिगमा प्रयोगमा आउने दुई मैदान राजधानीकै छन् । ती हुन् सातदोबाटो एन्फा कम्प्लेक्सको मैदान र च्यासलको मैदान । सातदोबाटोको मैदान यसअघि पनि लिगका लागि प्रयोग भइसकेको छ । प्राकृतिक मैदान होइन । त्यसैले यसमा खेल्नुमा फरक छ नै । च्यासलको मैदान भने माथिल्लो डिभिजनका लागि पहिलोपल्ट प्रयोग हुनेछ । भलै, यहाँको मैदान यसअघि तल्लो डिभिजनका लागि प्रयोग भइसके । सम्भवतः चौथो मैदान काठमाडौंबाहिरको हुनेछ । यो लगभग पोखरा रंगशालाकै मैदान हुनेछ ।
४ . फिफा डे ब्रेक
अचेलको नयाँ नियमजस्तै हो, फिफा डे ब्रेक । त्यसो त यसअघि अन्तर्राष्ट्रिय फुटबलका लागि क्लब फुटबल रोकिने चलन थियो नै । यसपल्टको लिग पनि फिफा डे समयावधिमा हुने छैन । नेपाली घरेलु फुटबलमा यो पहिलोपल्ट हुँदै छ । टिमले यसलाई पनि रणनीतिक रूपमा प्रयोग गर्न सक्छन् । यस्तो फिफा डे ब्रेकको धेरै आलोचक छन् । यस्तो आलोचना गर्नेहरू अरू होइनन्, विशेषतः क्लबका प्रशिक्षकहरू हुने गर्छन् । यसपल्टको लिगका बेला जनवरी २४ देखि फेब्रुअरी १ सम्म फिफा डे परेको छ । त्यसैले यसबीचमा लिगका खेल हुने छैनन् । यो समय टिमले आफ्ना खेलाडीलाई आराम दिन प्रयोग गर्नसक्छ । घाइते खेलाडीका लागि यो चोटमुक्त हुन केही अवसर हुनेछ । तर यसको अर्को पक्ष पनि छ । यो हो यसले लयमा रहेको टिमको प्रदर्शनमा बाधा पुर्याउने गर्छ । फेरि प्रश्न, के यो समयमा राष्ट्रिय टिममा रहेका खेलाडीलाई ‘रिलिज’ त गर्नुपर्ने छैन ?
५ . सप्ताहन्त हुने लिग
यसअघिका लिगमा सुन्न पाइने सबैभन्दा ठूलो गुनासो हो, खेलाडीले आराम नै पाएनन् । भन्ने गरिन्छ, खेलाडी के मेसिन हो र भने ? यसपल्टको लिगका लागि अहिलेसम्म तीन चरणकै तालिकामात्र बाहिर आएको छ । सम्भवतः त्यसपछि लिगको स्वरूप सप्ताहन्त हुने खेलमा परिणत हुन सक्नेछ । यो एउटा ठूलो परिवर्तन हुनसक्छ र क्लबले त्यसैअनुसार आफ्नो टिमलाई तयार पार्न सक्नुपर्छ । त्यसो त नेपाली घरेलु लिगका लागि यो सर्वथा नयाँ नियम नै भने होइन । यसअघि २०५२ सालको लिगमा पनि यही नियम लागू गरिएको थियो, शुक्रबार र शनिबार खेल गर्ने । पछि यसलाई पछ्याउने काम भएन । यसपल्ट सम्भवतः शुक्रबार, शनिबार र आइतबार खेल हुन सक्नेछ । लिग हुने बेला काठमाडौंमा मज्जाले जाडो पनि भइसक्नेछ । तर सम्भवतः खेलको आधा भाग फ्लडलाइटमा हुन सक्नेछ । त्यसो भनेको हाफटाइमपछिको खेल कृत्रिम प्रकाशमा । सायद यसबारे भने अझै निर्णय हुन बाँकी छ ।
६ . दुई टिमको रेलिगेसन
लामो समयपछि ‘ए’ डिभिजनबाट यसपल्ट दुई टिम रेलिगेसनमा पर्नेछन् । यसअघिको लिगमा एकै टिममात्र रेलिगेसनमा परेको थियो । यो अभाग्यशाली टिम थियो सरस्वती युवा क्लब । त्यसभन्दा अगाडिको लिगमा रेलिगेसन नै थिएन । फेरि दोहोर्याएर भन्नुपर्छ, यो कलंकित लिग थियो । यसमा पुछारका दुई स्थानमा रहेको टिमको अंकमात्र काटिएको थियो । यस्तो किन गरियो । यसपछाडि धेरै कारण थिए । यसको एउटा प्रमुख कारण चुनावी राजनीति थियो । केहीले यस पछाडि फरक दाबी गरे पनि रेलिगेसनको व्यवस्था नै हटाउने नियम मैदानबाहिरको कारणले बनेको थियो । जेहोस् यसपल्ट फेरि दुई टिम रेलिगेनसमा पर्ने नियम फर्केको छ । यो ठीक छ । सहभागी हुने १४ टिमका लागि दुई टिम रेलिगेसनको नियम सर्वाधिक ठीक हो । यसले प्रतियोगिता आफैमा रौनकता थप्नेछ अनि यहीं आयोजक पक्ष पनि सजग हुनुपर्छ, कहींकतै दुई टिम रेलिगेसन हुने नियमका लागि मैदानबाहिर चलखेल हुने त होइन ?
७ . व्यक्तिगत पुरस्कारमा परिवर्तन
नेपाली फुटबलमा फेसनजस्तै भएको थियो, प्रतियोगिताको समाप्तिमा उत्कृष्ट पाँच खेलाडीलाई व्यक्तिगत पुरस्कार दिने । त्यसमा कहींकतै प्रशिक्षकको पुरस्कार पनि जोडिने गर्छ । यसपल्टको लिगमा खेलाडीका लागि चारै व्यक्तिगत पुरस्कारमात्र रहनेछ र यो पछिल्लो समय विश्व फुटबलमा देखिएको परिवर्तनअनुसार नै हो । यी चार व्यक्तिगत पुरस्कार हुन्, गोल्डेन बुट, गोल्डेन ग्लोभ्स, एमभीपी र राइजिङ प्लेयर । गोल्डेन बुट सर्वाधिक गोल गर्नेलाई भयो । त्यसपछि गोल्डेन ग्लोभ्स उत्कृष्ट गोलरक्षकलाई । एमभीपी, अर्थात मोस्ट भ्यालुएबल प्लेयर प्रतियोगिताकै उत्कृष्ट खेलाडीका लागि अनि राइजिङ प्लेयर उदीयमान युवा र नयाँ खेलाडीका लागि । यो व्यवस्था पछाडि प्रस्तुत गरिएका तर्क पनि आफैंमा स्वभाविक छन् । खासमा भएको के भन्दा अहिलेको आधुनिक फुटबलमा एउटै खेलाडीले एकभन्दा बढी भूमिकामा खेल्ने गर्छन् । एकपल्ट डिफेन्डर भएको खेलाडीले पोजिसन परिवर्तन गरेर मिडफिल्डमा अगाडि बढ्न सक्छ । त्यो फरक खेलमा मात्र होइन, एउटै खेलमा पनि ।
८ . प्राइज मनी र म्याच मनी
सायद प्रशिक्षक र खेलाडीका लागि यी दुई तत्त्वले कमै प्रभाव पार्नेछ । यसमै टिकेर खेल रणनीति बनाइने छैन । यसपल्ट प्राइज मनी बढाइएको छ । त्यो भनेको लिग विजेताले ७५, दोस्रो स्थानमा आउनेले ५० र तेस्रो हुनेछले २५ लाख रुपैयाँ पाउनेछन् । त्यसपछिको स्थानमा आउने टिमले पुरस्कार राशिका रूपमा पाउने छैनन् । तर म्याच मनीका लागि भने अलग्गै व्यवस्था छ । त्यसअनुसार जितमा ५० हजार, बराबरीमा २५–२५ हजार रुपैयाँ । हारमा केही न केही ।
( कान्तिपुर दैनिक )
