
५ असोज, काठमाडौं । सबैभन्दा धेरै निर्वाचन क्षेत्र नेपाली कांग्रेस काठमाडौंको वडा र क्रियाशील सदस्यता रहेको काठमाडौंमा आज अधिवेशन हुँदैछ । ।कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगो लगाएर जिल्लालाई पठाइसकेकाले आज वडा अधिवेशन गर्न लागेको जानकारी दिए ।
कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गत शुक्रबार गरेको थियो ।
कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि शुरु भएको थियो । करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्यहरु पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरुले आफनो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
कांग्रेसले गाउँ/नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।
