
लन्डन — ९ भाद्र २०७८
लन्डन , इंग्लिस कप्तान जो रुट भारतविरुद्धको पाँच टेस्ट शृंखलामा आफ्नो टिमको सम्भावना जीवन्त देख्छन् । अहिलेको अवस्थामा इंग्ल्यान्डले खेल्न पाउनुलाई नै ठूलो मान्छन् उनी । बुधबार हेडिङ्लेमा तेस्रो टेस्टअगाडि घरेलु टिम चोटको मारमा परिरहेको छ । इंग्ल्यान्ड दुई टेस्ट समाप्तिमा १–० ले पछाडि छ । उसका सामु तेस्रो टेस्ट जितेर शृंखला बराबरी गर्ने अवसर छ । तर तीव्र गतिका बलर मार्क उड चोटका कारण नखेल्ने भएपछि इंग्ल्यान्डलाई अझै गाह्रो छ ।यसपल्टको खेल कम्तीमा कप्तानको आफ्नै योर्कसायर मैदानमा हुँदै छ । लडर््समा भएको दोस्रो टेस्टमा चौका बचाउने क्रममा डाइभ गर्दा विज्ञापन बोर्डमा ठोक्किएर उड चोटग्रस्त भएका थिए । इंग्ल्यान्डले यसअघि चोटकै कारण स्टुवार्ट ब्रोड, क्रिस वोक्स र ओली स्टोनलाई गुमाइसकेको छ । अर्कोतर्फ बेन स्टोक्स अनिश्चित समयका लागि विश्राममा छन् । मानसिक स्वास्थ्यका कारण उनी उपलब्ध छैनन् । इंग्ल्यान्डका लागि माथिल्लो क्रममा रन बनाउने रुट एक्ला खेलाडी रहेका छन् ।
अन्य प्रमुख ब्याट्सम्यान भने लगातार असफल छन् । रुटले लर्ड्समा पहिलो इनिङ्समा १ सय ८० रन बनाएका थिए । दोस्रो इनिङ्समा उनको ३३ रन टिमकै उच्च स्कोर थियो तर पूरा टिम अन्तिम दिन ५२ ओभरमा १ सय २० रनमात्र बनाएर अलआउट भएको थियो । इंग्ल्यान्डले खराब खेलिरहेका प्रारम्भिक ब्याट्सम्यान डम सिब्लीलाई टिमबाट हटाएको छ । उनले यस वर्ष १० टेस्टमा १९.७७ को औसतले मात्र रन बनाएका छन् ।अब उनको स्थानमा हसिब हमिदले इनिङ्सको सुरुआत गर्न सक्नेछ । उनले रोरी बर्नसलाई साथ दिनेछन् । हमिद आफैंले पनि लडर््समा ९ रन मात्र बटुलेका थिए । सन् २०१२ मा एन्ड्रयु स्ट्राउसले संन्यास लिएयता इंग्ल्यान्डले २२ फरक जोडीलाई इनिङ्स सुरुआत गर्ने अवसर दिइसकेको छ । पछिल्लो समय टेस्ट क्रिकेटमा प्रारम्भिक ब्याट्सम्यानको औसत निकै कमजोर छ । सन् २०१७ यता विश्व टेस्ट क्रिकेटमा औसतले मात्र ३०.३८ छोएको छ ।
रहानेले लर्ड्सको दोस्रो इनिङ्स ६१ रन बनाएका थिए । उनी ब्याटिङका लागि ओर्लिंदा कप्तान विराट कोहली आउट भएर टोली २८–३ को स्थितिमा थियो । उनले पुजारासँग शतकीय साझेदारी गरे । पुजाराले २ सय ६ बलमा ४५ रन जोडे । त्यसपछि भारतका लागि मोहम्मद सामी र जसप्रित बुमराहले नवौं विकेटमा नटआउट ८९ रनको साझेदारी गरेका थियो । उपकप्तान रहेका रहाने भन्छन्, ‘टिमका लागि के–कस्तो योगदान दिन सकियो, यो नै महत्त्वपूर्ण हो ।’
(कान्तिपुर दैनिक)
