Fast Nepal News

एसियन युथ बक्सिङमा तीन पदक पक्का

banner single news

काठमाडौँ — ८ भाद्र २०७८

काठमाडौँ , नेपालका बक्सर छिरिङ वाङदी शेर्पा एसियन जुनियर एन्ड युथ पुरुष/महिला बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा काजकिस्तानका खेलाडीसँग भिड्ने भएका छन् । उनले अन्तिम चारमा पुगेर इतिहास कायम गर्दै कम्तीमा कांस्य पदक पक्का गरेका छन् । उनले एसियन जुनियरमा जित्ने पदक नेपालका लागि पहिलो हुनेछ । महिलातर्फ अन्य दुई खेलाडीले सिधै सेमिफाइनल खेल्ने भएपछि कम्तीमा दुई कांस्य पक्का भएको हो ।यूएईमा भइरहेको प्रतियोगिताको वेन्टमवेट ५४ केजीमुनि तौलसमूहको सेमिफाइनलमा छिरिङले काजकिस्तानका अदाइबेक नियाजबायेसँग खेल्नेछन् ।

आइतबार सम्पन्न खेलमा छिरिङले कुवेतका राष्ट्रिय च्याम्पियन मोहम्मद अलेनेजी मोहम्मदलाई अंकका आधारमा पराजित गरेका थिए । कदाइबेकले भने क्वाटरफाइनलमा सिरियाका मोहम्मदलाई रेफ्री स्टप द कन्टेस्ट (आरएससी) का आधारमा हराएका थिए । यस तौलसमूहको अर्को सेमिफलाइनल भारतका आशिष र उज्वेकिस्तानका नोर्कोसिनोभ मिरोन्सोखबीच हुनेछ । मिनोन्सोखले यूएईका हिलाल मोहम्मद र आशिषले ताजकिस्तानका रहमानोभ जफरलाई अंकका आधारमा हराएका थिए ।

नेपाली टोलीसँगै यूएईमा रहेका रहेका प्रशिक्षक तथा बक्सिङका एसियाली खेलकुद पदक विजेता दीपक महर्जनले पहिलो खेलमा जित हासिल गरेपछि आत्मविश्वास बढेको र सेमिफाइनलमा छिरिङले कडा टक्कर दिने अपेक्षा गरेको बताए । छिरिङको बायाँहाते हुक प्रभावकारी बन्दा क्वाटरफाइनलमा सहज जित निस्किएको हो । सोमबार युथतर्फ ५४ केजीमुनि तौलमा नेपालका सुलभ माली पहिलो खेलमै इरानका अफ्सारियाबोल्कार्लोउ अलियास्घसँग पराजित भएका छन् । उनी रिङमा विपक्षीसामु एक मिनेट पनि टिक्न सकेनन् ।

Inside Article Ads

प्रतियोगिताका लागि नेपालबाट २ महिलासहित ६ खेलाडी प्रतिस्पर्धारत छन् । त्यसमध्ये ७१ केजीमुनि तौलका सुदीन गिरी र ६० केजीमुनि तौलका इन्द्रबहादुर सुनार पहिलो खेलमै पराजित भए । उनीहरू दुवैले युथ विधामा प्रतिस्पर्धा गरेका थिए । महिला जुनियरतर्फ ५२ केजीमुनि तौलकी स्वस्तिका तिरुवा र युथतर्फ ५७ केजीमुनि तौलकी नारिका राईको पनि पदक पक्का भएको छ । उनीहरूले सिधै सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । जसले गर्दा कम्तीमा उनीहरूले कांस्य पदक पक्का गरेका छन् ।

(कान्तिपुर दैनिक)

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.