
सर्लाही — २८ श्रावण २०७८
सर्लाही, धानले गाँज हाल्ने मुख्य समयमै सर्लाहीका किसानले मल अभाव खेप्नुपरेको छ । यसअघि मल नै नछर्की धान रोपेका किसानले गोडमेल गरिसक्दा पनि पाएका छैनन् । मल अभावका कारण उत्पादन घट्ने चिन्ता छ । यस वर्ष मात्र हैन, किसानले बर्सेनि यो समस्या भोग्दै आएका छन् । पिपरियाका किसान सुरेन्द्र राय मल नपाएर यस वर्ष पनि छट्पटाइरहेका छन् । उनले ३ बिघामा धान खेती गरेका छन् । स्थानीय कृषि सहकारीबाट पाएको २५ किलो मलले गर्जो नटर्ने भएपछि उनी छट्पटीमा परेका हुन् । उनलाई अझै ३ बोरा मल चाहिन्छ । ‘अहिले धान खेतमा मल हाल्नुपर्ने
मुख्य समय हो, यतिबेला हालिएन भने उत्पादन घट्छ । अनुदानको मल पनि पर्याप्त पाउन सकिरहेको छैन,’ रायले भने, ‘मलका लागि हामी छटपटाइरहेका छौं, बर्सेनि मुख्य समयमा नै अभाव हुने गरेको छ ।’जिल्लाका अधिकांश किसानको अवस्था उस्तै छ । जिल्लामा मल अभाव भएका बेला भारतीय कमसल मलको व्यापार बढ्ने गरेको छ । भारतबाट लुकीछिपी ल्याइन्छ । त्यही मल किसानले हाल्नुपर्ने बाध्यता छ । कतिपय किसानले अनुदानको मल पनि बढी मूल्य तिरेर निजी पसलबाट खरिद गर्दै आएका छन् ।
शंकरपुरका किसान लालबहादुर लामाले २ बोरा मल चाहिए पनि सहकारीबाट २० किलो मात्र पाएको गुनासो गरे । उनले बाँकी भारतबाट ल्याइएको मल हाल्नुपरेको बताए । उनले दीर्घकालीन रूपमा किसानका लागि मल अभावको समाधान नखोजे कृषिकर्मबाट जीविकोपार्जन गर्नै गाह्रो पर्ने बताए । ‘मल अभावको समस्या समाधान भएन भने कृषिकर्मबाट जीविकोपार्जन गर्न गार्हो हुन्छ,’ उनले भने, ‘चर्को मूल्यमा भारतीय कमसल मल हाल्नुपर्दा एकातिर पैसा नाश, अर्कोतिर उत्पादन कम हुने गर्छ ।’जिल्लामा मल उपलब्ध गराउँदै आएको कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा आपूर्ति गर्न नसक्दा अभाव भएको हो । सोमबार मात्र वीरगन्जबाट आइपुगेको ३२ सय बोरा युरिया, २२ सय बोरा डीएपी र ५ सय बोरा पोटास १ सय ७० सहकारी संस्थालाई दामासाहीको हिसाबले वितरण गरिरहेको कम्पनीका शाखा प्रमुख दीपक थापाले बताए । उनले अहिले वितरण भइरहेको मल किसानका लागि पर्याप्त नरहेको जानकारी दिए । उनले ३६ सय मेट्रिक टन युरिया, २९ सय मेट्रिक टन डीएपी र १ सय २० मेट्रिक टन पोटास जिल्लाको कोटा रहे पनि माग तेब्बर रहेको जानकारी दिए ।
यसका लागि कम्तीमा दोब्बर गरिदिन आग्रह गरिए पनि पाउन नसकेको बताए । थापाका अनुसार मल उपलब्ध नभए भदौको पहिलो सातादेखि कार्यालय नै बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । सहकारीले कृषि सामग्री कम्पनीबाट थोरै परिमाणमा मल पाएपछि कालोबजारीसमेत हुन थालेको छ । कतिपय सहकारीले स्थानीय व्यापारीलाई मल बुझाउने गरेका छन् । व्यापारीले किसानबाट प्रतिबोरा १ हजार २ सयदेखि १ हजार ४ सयसम्म असुल्ने गरेका छन् ।मल छर्नुपर्ने मुख्य समय भएकाले जति महँगो भए पनि किन्नुपर्ने बाध्यता किसानलाई छ । कृषि सामग्रीको शाखाबाट लिँदा भीडभाड हुने भएपछि केही वर्षदेखि कम्पनीले सहकारीमार्फत दिने नीति बनाएको थियो । किसानका लागि आउने मल सहकारीमा नपाउनु, व्यापारीले बढी मूल्यमा मल बिक्री गर्दा पनि कम्पनीका कर्मचारी मौन बस्नुमा उनीहरूको संलग्नता रहेको किसानको आरोप छ । शाखा प्रमुख थापाले कम्पनीको एकल प्रयासले मात्र मलको कालोबजारी रोक्न नसकिने बताए ।
(कान्तिपुर दैनिक)
