
गुल्मी — ६ पुस २०७८
गुल्मी , उमेरले भर्खर २३ वर्ष पुग्दै गरेका कपिल ज्ञवालीको दैनिकी बारीमा फल्दै गरेका कृषिजन्य उपजको रेखदेखबाट सुरु हुन्छ । उनलाई सघाउन २८ वर्षीय दाजु कमल पनि बिहानै बारीमा पुग्छन् । गोलभेडा र भेडेखुर्सानी खेतीको गोडमेल गर्न पुग्छन् । भर्खरका यी दुई दाजुभाइ मिलेर गुल्मीको रुरु गाउँपालिका–४, जोर्तेपोखरामा लोभलाग्दो कृषि खेती गरिरहेका छन् । काठमाडौंको जनमैत्री कलेजबाट व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण कपिल दाजुभाइले गाउँ फर्केर व्यावसायिक कृषिमा रमाएको देखेर गाउँले छक्क परेका छन् । ज्ञवाली दाजुभाइले दाजुभाइ कृषि फर्ममार्फत ५२ रोपनी जग्गामा तरकारी खेती लगाइरहेका छन् । विगत चार वर्षदेखि व्यावसायिक खेती सुरु गरेका दाजुभाइले अहिले राम्रै आम्दानी गर्ने गरेको बताए । ‘चार वर्षअघि ३० लाख रुपैयाँ लगानी गरेका हौं,’ कपिलले भने, ‘अहिले सबै खर्च कटाए वार्षिक ४० लाख रुपैयाँजति नाफा हुन्छ ।’ होटल व्यवस्थापनमा प्रवीणता पत्र तह पूरा गरेका कमल केही समय वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेर फर्किएका हुन् ।
दुई सिजनमा तरकारी उत्पादन गर्ने ज्ञवाली दाजुभाइले एक सिजनमा सिमी–गोभी उत्पादन गर्छन्, अर्को सिजनमा टमाटर र क्याप्सीकमको उत्पादन गर्ने बताए । प्रविधिको उच्चतम् प्रयोग गरेर व्यावसायिक कृषि खेती गर्दा आफूले मिहिनेत गरे अनुसारकै प्रतिफल लिन सकिने कपिलले बताए । ‘पहिला प्रविधिका बारेमा खासै थाहा भएन,’ उनले भने, ‘अहिले पछिल्लो दुई वर्षमा भने प्रविधिको प्रयोग पनि गर्दै छौं ।’ आफूहरूजस्तो युवाले गाउँ फर्केर व्यावसायिक कृषि खेती गर्दा पनि राज्यका तर्फबाट भने कुनै सहयोग नपाएको उनीहरूको गुनासो छ । पहुँचका भरमा कृषिको अनुदान पाउने प्रवृत्तिका कारण पनि आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ । रुरु गाउँपालिका–६ रिमुवाका प्रेमबहादुर थापाले पनि तरकारी खेतीबाट वार्षिक रूपमा पाँच लाख आम्दानी गर्छन् । उनले तीन रोपनी जग्गामा तरकारी लगाएका छन् । ‘मैले तीन रोपनी जग्गामा सिमी, गोभी, आलु र मुला लगाएको छु,’ उनले भने, ‘तरकारी बेचेर वर्षमा पाँच लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।’ ६३ वर्षीय थापाले १० वर्षदेखि तरकारी खेती गरिरहेको बताए । आफैं बजार व्यवस्थापन गरेर रिडी, बलेटक्सार र बुटवललगायतका सहरमा तरकारी बिक्री गरिरहेका थापाले गाउँपालिकाले प्लास्टिक टनेल सहयोग गरेको बताए ।
( कान्तिपुर दैनिक )
