
काठमाडौं । नेपाल पर्वतारोहण संघ ९एनएमए०ले आफ्नो ५०औं स्थापना दिवस एवं स्वर्णजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा राजधानी दैनिक पत्रिकाका वरिष्ठ उपसम्पादक मधुजंग पाण्डेलाई पुरस्कृत गरेको छ ।
साढेदुई दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका पाण्डेलाई विशेषगरी पर्यटन विद्यामा कलम चलाएर सञ्चारकर्मको माध्यमबाट मुलुकको पर्वतीय पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उत्कृष्ट योगदानको मूल्यांकनस्वरूप संघले ‘स्वर्गीय दावा नोर्बु पर्वतारोहण पत्रकारिता अवार्ड’ प्रदान गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेलाई सो अवार्ड प्रदान गरेका हुन् । संघले पुरस्कार छनोट समितिले गरेको निणर्यअनुसार बुधबार सो अवार्ड प्रदान गरिएको जनाएको छ । यसैगरी, संघले कर्पोरेट नेपाल डटकमकी पर्यटन पत्रकार फुर्वा शेर्पालाई पनि सोही पुरस्कार प्रदान गरेको थियो । शेर्पाले केही साता अघि मात्र युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको पनि सफल आरोहण गरिसकेकी छन् ।
