
काठमाडौ ।जेष्ठ
हिमालयन कम्युनिटी प्रोजेक्टले हरेक शनिबार आयोजना गरिरहेकाे ‘हाइक फर हेल्थ’ श्रृंखला अन्तर्गतकाे जामाचो हाइकमा एचटूओ नेपाल बुक जर्नीलाई स्वागत गरेकाे छ ।
हिमालयन कम्युनिटी प्रोजेक्टका अध्यक्ष रामप्रसाद सापकाेटाले लेखक तथा यात्रावाहक अशोक सिलवाल र यस यात्रासँग जोडिएका तीन पुस्तकलाई स्वागत गर्दै प्रत्येक पुस्तकले बोकेको सन्देशबारे चर्चा गरे ।
‘एभरेस्ट : एन अनफिनिस्ड स्टोरी’ संसार शिखर सगरमाथा आधारित भए पनि यो पुस्तक शिखरभन्दा बढी धरातलको कथा हो, गन्तव्यभन्दा बढी यात्राको कथा हो । यो पुस्तकले मानिस कसरी आफ्नो यात्राबाट फर्किन्छ, यात्राले उसलाई कसरी परिवर्तन गर्छ भन्ने कुरा बताउँछ ।
पवित्र कैलाश यात्रामा आधारित ‘अप्प दीपो भव:’ले सबैभन्दा ठूलो तीर्थ र मन्दिर बाहिर होइन, आफ्नै अन्तरमनभित्र रहेको सन्देश दिन्छ । यो आत्मबोध, आत्मपरिवर्तन र भित्री यात्राको कथा हो ।
‘श्रीलंका स्मृति’ महासागरका छालहरूमा हिमालयको ध्वनि सुन्ने प्रयास हो । प्रकृति, संस्कृति र मानवताको एकत्वलाई अनुभूत गराउने यो कृति हिमाल र समुद्रबीचको अद्भुत सम्बन्धको कथा हो ।
किताब यात्रालाई स्वागत गरेकाेमा हिमालयन कम्युनिटी प्रोजेक्टका अध्यक्ष तथा ‘आधा शताब्दी’का लेखक समेत रहेका सापकाेटालाई धन्यवाद दिँदै लाङटाङ दूतसमेत रहेका गाउँ दूत सिलवालले भने, ‘हिमालयदेखि महासागरसम्म, कथा, यात्रा र सम्बन्धको यो यात्रा निरन्तर अगाडि बढिरहेको छ ।’
