
समाचारदाता
हिमालयदेखि महासागरसम्मको (एचटुओ) नेपाल किताब यात्रा काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजु हाइटस्थित सुनौलो छितिज शिक्षालय पुगेको छ । लेखक तथा यात्रावाहक अशोक सिलवाल आफ्ना तीन कृति एभरेस्ट: एन अनफिनिस्ड स्टाेरी, अप्प दीपाे भव: र श्रीलंका स्मृतिसहित शिक्षालय पुगेका हुन् ।

शिक्षालयका प्रधानाध्यापक महेन्द्र ओस्तीले यात्रालाई स्वागत गर्दै याे अभियान विद्यार्थी तथा शिक्षकहरूका लागि अत्यन्त प्रेरणादायी र जीवन उपयोगी रहेकाे बताए । प्रधानाध्यापक ओस्तीका अनुसार, यी पुस्तकहरू केवल साहित्यिक कृति मात्र नभई मानिसलाई सकारात्मक र आत्मबोधपूर्ण जीवनतर्फ प्रेरित गर्ने जीवनदर्शन हुन् । प्रत्येक पुस्तकले विशिष्ट सन्देश बोकेको छ ।
एभरेस्ट: एन अनफिनिस्ड स्टाेरी सगरमाथाको पृष्ठभूमिमा आधारित भए पनि यो केवल हिमाल चढाइको कथा होइन । यसले गन्तव्यभन्दा यात्रालाई महत्व दिन्छ र मानिसलाई बाहिरी संसारभन्दा आफ्नै अन्तरयात्रातर्फ फर्किन प्रेरित गर्छ । यो पुस्तक सगरमाथाबाट फेरि आफ्नै भूमितिर, आफ्नैतर्फ फर्किने चेतनाको कथा हो ।
अप्प दीपाे भव: कैलाश मानसरोवर यात्रामा आधारित आध्यात्मिक कृति हो । तीर्थ जानु राम्रो, गुरु भेट्नु राम्रो, तर सबैभन्दा ठूलो गुरु आफैभित्र हुन्छ भन्ने गहिरो सन्देश बोकेको यो पुस्तकले मानिसलाई आफ्नो प्रकाश आफै बन्न प्रेरित गर्छ ।
त्यसैगरी श्रीलंका स्मृतिले महासागरको छेउमा उभिँदा पनि हिमालयको अनुभूति गराउँछ । यस पुस्तकले प्रकृतिको एकरूपताको दर्शनलाई प्रस्तुत गरेको छ ।
यी तीन पुस्तक, तीन सन्देश र तीन जीवनदर्शनसहित एच टू ओ नेपाल किताब यात्रा देशका ७७ जिल्लातर्फ निरन्तर छ । विशेषगरी विद्यालय केन्द्रित यस अभियानअन्तर्गत यात्रा देशका विभिन्न जिल्ला र विभिन्न विद्यालयहरूमा पुगिसकेको छ, जहाँ विद्यार्थी, शिक्षक र पाठकहरूसँग साहित्य, जीवनदर्शन, प्रकृति र आत्मयात्राबारे अन्तरक्रिया भइरहेको छ ।
सुनौलो क्षितिज शिक्षालयमा प्राप्त माया, सम्मान र आत्मीय स्वागतबाट आफू अत्यन्त भावुक र अभिनन्दित भएको अनुभूति भएको गाउँ पर्यटन दूत समेत रहेका लाङटाङ दूत तथा लेखक सिलवालले बताए ।
