![banner single news](https://newsnepalhd.com/wp-content/uploads/2020/07/1584335564.gif)
मुकुन्द सिलवाल
काठमाडौं – विकासको प्रमुख आधारका रूपमा लिइने सडक निर्माणले जनजीवनमा पुर्याउने प्रभावको चर्चा सायद धेरैलाई थाहा छ। समाजका बुद्धिजीवी, राजनीतिकर्मी, र समाजसेवी सबैलाई सडक निर्माणबाट हुने फाइदाका साथै निर्माणका क्रममा हुने लापरवाहीले जनतामा पार्ने असरको बारेमा राम्ररी जानकारी छ। तर, सीमित स्वार्थ पूर्तिका लागि यस विषयमा चुईक्क बोल्नसमेत पछि हट्छन्।
अहिले चक्रपथ उत्तरखण्ड अन्तर्गतको कलंकी-चाबहिल सडक विस्तार र निर्माण कार्य चलिरहेको छ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, र काठमाडौं चक्रपथ सुधार योजनाअन्तर्गत भइरहेका यस सडक खण्डको निर्माण कार्यमा भएको लापरवाहीका कारण लाखौं जनताको स्वास्थ्यमा गम्भीर असर परेको छ। साथसाथै, हजारौं साना व्यवसायीहरूको दैनिकीमा ठूला धक्का पुगेको छ।
२०७५ सालमा नै चिन सरकारको सहयोगमा निर्माण हुने भनिएको यो सडक खण्डको डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डीपीआर) अझै अन्तिम रूपमा छैन भने महाराजगन्ज चोकमा जग्गा अधिग्रहणसमेत हुन सकेको छैन। यस्तो अवस्थामा, यो सडक विस्तार जनतालाई सास्तीबाहेक केही दिन नसक्ने अवस्था छ। धुलो र हिलोको कारण दैनिक स्वास्थ्यमा पर्ने असर, सवारी दुर्घटना, र व्यवसायको ठप्प अवस्थाले जनताको जीवन कष्टकर बनिरहेको छ।
सडक विस्तारको क्रममा फुटपाथ व्यापार, दैनिक ज्यालादारी, साना व्यवसायीहरू सबैभन्दा बढी मारमा परेका छन्। उनीहरूको पसलमा धुलो पस्दा सामाग्री बिग्रने, ग्राहक आउन छोड्ने र बहाल तिर्न कठिन हुने समस्याले उनीहरूलाई बाध्य बनाएको छ। यस्तै, ठुला व्यवसायीहरूले आफ्ना पसल अगाडि पार्किङ स्थल बनाउने नाममा फुटपाथ व्यापारीलाई हटाउँदा उनीहरूको रोजीरोटीसमेत गुमेको छ।
डीपीआरले वातावरणीय प्रभावको मूल्यांकन रिपोर्टमा यस क्षेत्रका लागि विभिन्न मापदण्ड उल्लेख गरेको हुन्छ तर काम गर्ने क्रममा एक प्रतिशत पनि ती मापदण्डलाई पालना नगरिनु, राज्यका निकाय र ठेकेदारहरूको लापरवाहीलाई स्पष्ट देखाउँछ।
यस क्षेत्रका जनताले स्वास्थ्य र दुर्घटना न्यूनिकरणको पक्षमा आवाज उठाउनु आजको समयको आवश्यकता बनेको छ। यसका लागि समाजका सक्रिय व्यक्तिहरूले दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ। यो अवस्थाको सामना गर्न सबै प्रभावित नागरिक, व्यवसायी, र सामाजिक अभियन्ताहरू एकजुट हुन जरुरी छ। तसर्थ, म आम नागरिक र व्यवसायीलाई तयार रहन आह्वान गर्दछु।
जय देश! जय राष्ट्र!
(मुकुन्द सिलवाल, लामो समयदेखि सामाजिक अभियन्ता र गत निर्वाचनमा काठमाडौंबाट लौरो चिन्हका उम्मेदवार।)