मेराे याे दिलकाे अपार मुटु हौ सारा जवानी थियौ!
प्यासीकाे जल हौ थिएँ म बटुवा मेराे सहारा थियौ!!
भाेकाे पेट थिएँ तथापि बबुराे आमा भनी फुर्कियौ!
मेराे काख भरी थियौ सयनमा छाती चुसी हुर्कियौ!!
१
नौ मैनाभर कष्टभाे अझ बढी भाेकी र नाङ्गी भएँ!
तिम्राे स्वागतमा हतार मनले पर्खी बसेकी थिएँ!!
टेक्याै याे धरती प्रसन्न मन भाे सारा वेथा बिर्सिएँ!
राखेँ काखभरी लिएँ हृदयमा मुस्कानमा फर्किएँ!!
२
भाेकाेमा पनि पूर्ण थेँ जब तिमी छातीभरी टाँसियौ!
निन्द्रामा पनि झल्झली नयनमा मात्रै तिमी देखियौ!!
तिम्राे ध्यान गरेँ थियौ नि घरमा तिम्रै खुसीमा रमेँ!
आमा हुँ अति हर्षले प्रफुल भै संसार सारा जितेँ!!
३
यात्रा जीवनमा तिमी जब भयौ काेक्राे लिदै फुर्किएँ!
निन्द्रा,प्यास र भाेक,जीवन सवै विर्सेर यात्री भएँ!!
तिम्रो पाउ लिएँ सधै शिर भरी ढाेगेँ जवानी दिएँ!
मेराे यौवनमा थियौ कुसुम हौ चुल्ठी सजाई लिएँ!!
४
मेरा पुत्र थियौ सबै धनथियौ पुत्री थियौ बैशमा!
आँखा भित्र थियौ सबै नजरमा तिम्रै थिएँ ध्यानमा!!
छायाँ हौ कि त हौ अपार निधि हौ मेराे सबै हौ तिमी!
तिम्रै भक्त भएँ थियौ नि कुलकाे देवी र द्यौता तिमी!!
५
मेला पर्म जता गएँ दिनभरी आमा भनि खाेज्दथ्यौ!
कैले `कुक्कु´भनी छकाइ पथमा मेराे खुसी राेज्दथ्यौ!!
सन्ध्याकाल भयाे विलाप गरदै बाटाे ढुकी वस्दथ्यौ!
त्याे थाङ्नाे पटुकी फुकाइ तिमीले पाेल्टाे सवै छाम्दथ्यौ!!
६
दु:खीकाे अति नै अभाव बिचमा;आमा थिएँ फुर्कियौ!
आफ्नाे दु:ख सबै छिपाइ वयमा ल्याएँ तिमी हुर्कियौ!!
मेराे प्राण थियौ सबै तन थियौ सर्वश्व मेराे सबै !
हुर्काएँ अति कष्टले ऋण बाेकी राेगी र भाेकी हुँदै!!
७
हुर्काएँ गुणमा थियौ नि बचरा,चाराे पखेटा दिएँ!
नाच्यौ पंख फिजाउदै शयनमा आमा प्रफुल्ली भएँ!!
हान्यौ बेग गयौ कता अलपियौ आमा अकेली भएँ!
जाेडी टप्प मिल्यौ हरेक पलमा आमा नजाती भएँ!!
८
आशा थ्याे अति नै अशक्त वयमा लौरी हुनेछौ भनी!
आमाले उपहार दिन्छु`ममता´ छाेडेर जाँदा पनि!!
डाेलीमा जब अन्मियौ किन भयौ?सन्तान टाढा भयौ!
आशिर्वाद दिएँ सधैं मन उचाे मेराे परानी थियौ!!
९
साँचाे बाेल्छु सधैं जपेर जननी सत्कर्मकाे काखमा!
गर्दै आश्रममा वसेर घरमा सन्तानकाे संझना!!
आयाे पर्व दशै,तिहार जमरा टीका मनैले दिएँ!
खाऊ पूर्ण हुँदै रमाइ घरमा पुकार मैले गरेँ !!
१०
आमा हौँ जलभेल यी नयनमा उर्लन्छ ऐले किन!
आशिर्वाद लिदैछु पितृजनकाे सन्तानलाई दिन!!
पंक्षी झट्ट उडेर जा ! पटुकिकाे गाँठाे फुका लैदिए!
जाेड्दै हात पुकार गर्छु दुनिया! आमा मलाई दिए!!
११
????????????????????????????
४ माघ २०८१, शुक्रबार
TRENDING
Visited 86 times, 1 visit(s) today
यो पनि पढ्नुस