Fast Nepal News

पूर्वी युरोपमा सैन्यशक्ति बढाउँदै नेटो

banner single news

काठमाडौँ — ११ चैत्र २०७८

काठमाडौँ , ब्रसेल्स/किभ (एजेन्सीहरू)– उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) ले पूर्वी युरोपमा सैन्यशक्ति बढाउने भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ‘सैन्य सहयोगका लागि आग्रह’ गरेसँगै बेल्जियमको राजधानी ब्रसेल्समा बिहीबार भएको बैठकमा नेटो सदस्य राष्ट्रका नेताहरूबीच सहयोग गर्नका लागि पूर्वी युरोपमा सैन्यशक्ति बढाऊने सहमित जुटेको हो । ‘रुसले यत्रुेनमाथि गरेको आक्रमणको जवाफमा हामीले नेटोको प्रतिरक्षा योजना सक्रिय पारेका छौं । त्यसका साथै, पूर्वी युरोपमा जल र हवाई हातहतियारसहित ४० हजार फौज तैनाथ गरिएको छ,’ नेटो सदस्य राष्ट्रका नेताहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसविरुद्धको युद्धमा युक्रेनलाई सहयोग गर्न स्लोभाकिया, रोमानिया, बुल्गेरिया र हंगेरीमा गरी ४ वटा सैन्य अखडा स्थापना गरिने जनाएका छन् । बाइडेनले नयाँ युद्ध आधार स्थल निर्माणले ‘नेटो क्षेत्रको रक्षाका लागि हामी संयुक्त रूपमा अघि बढ्छौं’ भन्ने कडा संकेत भएको बताए ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकाले आवश्यकताअनुसार थप सहयोग गर्दै जाने बाइडेनको भनाइ छ । अमेरिकाले थप ३ सय २८ जनाविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । तीमध्ये अधिकांश रुसी सम्भ्रान्तहरू तथा वित्तीय संस्थाका कार्यकारी प्रमुखहरू रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनलाई आवश्यक परेकाले हातहतियारलगायतको सहयोग गरिएको प्रतिक्रिया दिएका छन् । ‘रुसी फौजविरुद्ध युक्रेनले गरेको कडा प्रतिकारले युरोपको अर्थराजनीतिमा परिवर्तन आएको’ जोन्सनको भनाइ छ । यसअघि जोन्सनले राष्ट्रपति जेलेन्स्कीसँग रुसी आक्रमणविरुद्ध आवश्यक सहयोगका विषयमा कुराकानी गरेका थिए । त्यसलगत्तै, जोन्सनले युक्रेनलाई बचाउन विश्व समुदायले उसलाई सैन्य सहयोग उपलब्ध गराउन आवश्यक रहेको बताएका थिए ।

नेटोका महासचिव जेन्स स्टोल्टेनवर्गले पत्रकारहरूसँग कुराकानी गर्दै ‘नेटो सदस्य राष्ट्रका नेताले आफ्नो स्वतन्त्रता र भविष्यका लागि युक्रेनी जनताले देखाएको सहास र दृढ संकल्पको’ प्रशंसा गरेका जनाए । युक्रेनको सहयोगका लागि नेटोले सहयोग जारी राख्ने उनको भनाइ छ । यसअघि उनले पूर्वी युरोपका लागि तत्काल थप सैन्य सहयोग आवश्यक रहेको र त्यसका लागि नेटोका सदस्य राष्ट्रहरू एकजुट हुने बताएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती गरेका’ उनको दाबी छ । ‘पुटिनले युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरूको सशस्त्र बलको बहादुरीलाई कम मूल्यांकन गरेका छन्,’ उनले भने । रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको बिहीबार एक महिना पुगेको छ । यो अवधिमा युक्रेनका ७५ लाख बालबालिकामध्ये करिब ४३ लाख विस्थापित भएका जनाइएको छ । विस्थापितमध्ये अधिकांश १८ लाख छिमेकी देश पुगेका छन् भने २५ लाख आन्तरिक रूपमा विस्थापित भएका हुन् ।

Inside Article Ads

त्यस्तै, १४ लाख युक्रेनी पानीबिना र ४६ लाख मानिस सीमित आपूर्तिका भरमा बाँच्न बाध्य भएका राष्ट्रसंघले जनाएको छ । पछिल्ला केही दिनयता रुसी फौजले युक्रेनको बन्दरगाह सहर मरिउपोलमाथि नियन्त्रण कायम गर्न संघर्षरत छन् । रुसी फौजले सहरलाई चारैतिरबाट घेरेका भए पनि युक्रेनी सेनाले कडा प्रतिकार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मरिउपोलका कम्ती ८० प्रतिशत आवासीय भवन तथा व्यापारिक केन्द्रहरू भत्किएका वा ध्वस्त भएका जनाइएको छ । ४ लाख ५० हजार जनाको बसोबास रहेको सहरका कम्तीमा ३ लाख मानिस बिजुली, ग्यास तथा पानीको अभावमा बाँच्न बाध्य भएका अधिकारीहरूले जनाएका छन् ।

युक्रेनको बन्दरगाह सहर मरिउपोल भूराजनीतिक कारणले पनि महत्वपूर्ण भएकाले पनि सुरुदेखि नै रुसी सेनाको निसानामा परेको हो । युद्ध सुरु भएको एक महिना पुगेको दिनमा बोल्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले संसारभरका मानिसलाई आफ्नो देशको पक्षमा समर्थन गर्न अपिल गरेका थिए । रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको जनाउँदै जेलेन्स्कीले युक्रेनी प्रतीक लिएर प्रदर्शनमा उत्रन आग्रह गरेका हुन् । ‘तपार्इंहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस् । मानिसको जीवनको, स्वतन्त्रताको र शान्तिको महत्त्व छ । अनि युक्रेनको महत्त्व छ भनेर आवाज उठाउनुहोस्,’ उनले भने । रुसको अत्याचार र निर्मम प्रहारलाई संसारले रोक्नुपर्ने जेलेन्स्कीले भने ।

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.