Fast Nepal News

उत्तर कोरियाद्वारा अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण

banner single news

सोल — ११ चैत्र २०७८

सोल , उत्तर कोरियाले सन् २०१७ यता पहिलोपटक प्रतिबन्धित अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षण गरेको दक्षिण कोरिया र जापानले जनाएका छन् । जापानी अधिकारीका अनुसार एक घण्टाभन्दा बढी समयसम्म करिब १ हजार १ सय मिटर उचाइमा उडेको क्षेप्यास्त्र दक्षिणतर्फको जापानी पानीमा खसेको थियो । (आईसीबीएम) क्षेप्यास्त्रले हजारौं किलोमिटर टाढासम्म मार हान्न सक्छ । सैद्धान्तिक रूपमा उक्त क्षेप्यास्त्रले अमेरिकी भूमिसम्म प्रहार गर्न सकिन्छ । पछिल्ला केही सातामा उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्रको परीक्षण गरेको छ । तीमध्ये केही आईसीबीएम प्रणालीको परीक्षण भएका दक्षिण कोरिया र अमेरिकाको दाबी छ । तर उत्तर कोरियाले भने भू–उपग्रह प्रणाली प्रक्षेपण गरिएको बताएको छ । उत्तर कोरियाले बिहीबार गरेको परीक्षण ५ वर्षअघिको क्षेप्यास्त्रभन्दा बढी शक्तिशाली भएको जनाइएको छ । सन् २०१७ मा परीक्षण गरिएको क्षेप्यास्त्र ६ हजार किलोमिटरभन्दा बढी उचाइमा पुगेको थियो ।

उत्तर कोरियाली कदमलाई दक्षिण कोरियाली सेनाले पनि विभिन्न क्षेप्यास्त्र परीक्षण गरेर जवाफ दिएको बीबीसीले जनाएको छ । दक्षिणले जमिन, समुद्र र हावाबाट ५ वटा क्षेप्यास्त्र परीक्षण गरेको हो । पछिल्ला दिनहरूमा उत्तर कोरियाले पूर्ण क्षमताको आईसीबीएम परीक्षणको तयारी गरिरहेको भन्दै अमेरिका र दक्षिण कोरियाले चेतावनी दिएका थिए । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले क्षेप्यास्त्र परीक्षण गर्ने उत्तर कोरियाली कदमको भर्त्सना गरेका छन् । उक्त कदम राष्ट्रसंघको प्रतिबन्ध र किम आफैंले गरेको प्रतिबद्धताविपरीत भएको मुनको भनाइ छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक क्षेप्यास्त्र तथा परमाणु अस्त्र परीक्षणमा प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाली नेता किम जोङ–उनले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ४ वर्षअघि भएको वार्तापछि उत्तर कोरियाले लामो दूरीका क्षेप्यास्त्र परीक्षणमाथि अस्थायी रोक लगाएको थियो ।

Inside Article Ads

तर सन् २०२० मा किमले उक्त प्रतिबद्धता मान्न आफू बाध्यकारी नभएको बताएका थिए । सन् २०१७ मा उत्तर कोरियाले परीक्षण गरेको ह्वासोङ–१२ आईसीबीएम क्षेप्यास्त्र ४ हजार ५ सय किलोमिटरको उचाइसम्म पुगेको थियो । ह्वासोङ–१४ भने ८ हजार किलोमिटर उचाइमा पुगेको थियो । यो क्षमताका जमिनबाट प्रहार गर्न सकिने क्षेप्यास्त्र अमेरिका, रुस र चीनसँग मात्रै छन् । कतिपय विज्ञले सन् २०१७ मा परीक्षण गरिएको क्षेप्यास्त्र नियमित बाटोअनुसार प्रहार गरिएको भए १३ हजार किलोमिटरको उचाइमा पुग्न सक्ने बताउने गरेका छन् । त्यसको अर्थ उक्त क्षेप्यास्त्रले अमेरिकाको जुनसुकै स्थानमा प्रहार गर्न सम्भव हुन्छ । उत्तर कोरियाले बिहीबार गरेको परीक्षण पुङ्ग–री परमाणु केन्द्रबाट गरिएको बीबीसीले उल्लेख गरको छ ।

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.