Fast Nepal News

युक्रेनी सैन्य तालिम केन्द्रमा आक्रमण

banner single news

किभ/मस्को — ३०  फागुन २०७८

किभ/मस्को, रुसले युक्रेनमाथिको आक्रमण बढाउँदै लगेको छ । आक्रमण थालेको १८ औं दिनमा रुसी फौजले पोल्यान्डको सीमानजिकैको सैनिक तालिम केन्द्रमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युक्रेनी अधिकारीले आक्रमणमा तालिम केन्द्रमा निकै क्षति पुगेको र कम्तीमा ३५ जनाको ज्यान गएको जनाएका छन् । १ सय ३५ जनाभन्दा बढी घाइते छन् । उक्त तालिम केन्द्रमा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का केही प्रशिक्षकहरूले तालिम दिने गरेका थिए । त्यसैगरी रुसी फौजले पश्चिमी सहर इभानो–फ्रांकिभ्क्सस्थित विमानस्थलमा पनि आक्रमण गरेका बीबीसीले जनाएको छ । रुसी फौजले केही दिनयता युक्रेनको राजधानी किभलक्षित आक्रमण तीव्र पारेका छन् । किभभन्दा करिब २५ किलोमिटरको दूरीमा रहेको रुसी सेनाको ठूलो जत्थाले लगातारजसो क्षेप्यास्त्र प्रहार गरिरहेका छन् । खर्किभ, मरिउपोल, माइकोलेभ र सुमी सहर रुसी सेनाको घेराबन्दीमा छन् । ती सहरका बासिन्दा कठ्यांगि्रँदो चिसोमा विद्युत् र खानेपानीको आपूर्तिबिना बस्न बाध्य भएका बीबीसीले जनाएको छ । त्यसैगरी, निकोलेभ, निप्रो र क्रोपिभिन्टस्की सहरमा पनि रुसी सेनाले आक्रमण जारी राखेका छन् ।

युक्रेनी नागरिकहरू रुसी घेराबन्दीमा परेका सहरबाट सुरक्षित स्थानमा जाने प्रयास गरिरहेका जनाइएको छ । ठूलो आक्रमणमा परेका सहरहरू मरिउपोल, सुमी र किएनजिकैका क्षेत्रबाट सर्वसाधारणलाई निकाल्न केही मार्ग खुला गरिएको छ । रुसी सेनाले मरिउपोलको पूर्वी क्षेत्र कब्जा गरेको छ । युक्रेनी सेना भोल्नोभाख सहरबाट भागेका छन् । भूउपग्रह तस्बिरमा ती क्षेत्रका सहरमा आवासीय भवन तथा पूर्वाधारमा व्यापक क्षति भएको देखिन्छ । रुसी फौजले आक्रमण सुरु गरेयता युक्रेनबाट २५ लाख मानिस विस्थापित भइसकेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार तीमध्ये १६ लाखभन्दा बढी मानिस पोल्यान्ड पुगेका छन् । २ लाख ७० हजार युक्रेनी मोल्दोभा पुगेका छन् । शरणार्थी आउने क्रम जारी रहेको भन्दै मोल्दोभा सरकारले अन्तर्रााष्ट्रिय सहयोगका लागि आग्रह गरेको छ । युद्धका क्रममा १ हजार ३ सय युक्रेनी सैनिक र करिब १२ हजार रुसी सैनिकको मृत्यु भएको युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । कम्तीमा ५ सय रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेका उनको दाबी छ । तर यसको पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाले दुई साताको युद्धका क्रममा ६ हजार रुसी सैनिकले ज्यान गएको अनुमान गरेको थियो ।

Inside Article Ads

जेलेन्स्कीले युद्धमा ठूलो संख्यामा रुसी सैनिकले ज्यान गुमाएका भए पनि आफू खुसी नभएको बताएका छन् । ‘उनीहरूले अनुमानित १२ हजार जना गुमाउँदा मलाई प्रसन्नता छैन, विश्वलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन,’ उनले भने । यसैबीच, रुसी फौजले दक्षिणी सहर डिनिप्रोरुड्नेका मेयरलाई नियन्त्रणमा लिएको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले मेयर एभ्हेन मत्भेएमलाई रुसी सेनाले आइतबार नियन्त्रणमा लिएको पुष्टि गरे । उनी तीन दिनको अवधिमा रुसी सेनाको नियन्त्रणमा पर्ने दोस्रो मेयर हुन् । ‘रुसी युद्ध अपराधीले मत्भेएमलाई नियन्त्रणमा लिए,’ कुलेबाले भनेका छन् । युक्रेनी अधिकारीहरूले भने मेयरलाई ‘अपहरण गरिएको’ भन्दै आक्रोश व्यक्त गरेका बीबीसीले जनाएको छ । यसअघि रुसी सेनाले दक्षिणी क्षेत्र मेलिटोपलका मेयरलाई शुक्रबार नियन्त्रणमा लिएको थियो । युक्रेनका राष्ट्रपति जेलेन्स्की र युक्रेनी अधिकारीहरूले १० जनाको समूहले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपहरण गरेको बताएका थिए । ‘शत्रुलाई सहयोग गर्न इन्कार गरेपछि मेयरहरूलाई अपहरण गरिएको’ युक्रनी अधिकारीहरूको दाबी छ ।

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.