Fast Nepal News

युक्रेन छाड्नेको संख्या २० लाख पुग्यो

banner single news

जेनेभा — २५ फागुन २०७८

जेनेभा , युक्रेनमा रुसले आक्रमण सुरु गरेयता २० लाख सर्वसाधारणले देश छाडेका छन् । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका अुनसार विस्थापितहरू पोल्यान्ड, हंगेरी, स्लोभाकिया, मोल्दोभा, रोमानिया पुगेका छन् । कम्तीमा १२ लाख ४० हजार जना छिमेकी देश पोल्यान्ड पुगेको जनाइएको छ । त्यसैगरी, १ लाख ९१ हजार जना हंगेरी पुगेका छन् । १ लाख ४१ हजार स्लोभाकिया, ८३ हजार मोल्दोभा र ८२ हजार रोमानिया पुगेका छन् । त्यस्तै, रुस जानेको संख्या ९९ हजार ३ सय पुगेको छ । बेलारुस जानेको संख्या भने न्यून रहेको जनाइएको छ । ४ सय ५३ जना मात्र बेलारुस पुगेका छन् । युक्रेनबाट विस्थापित भएकामध्ये १ लाख ८३ जार जना अन्य युरोपेली देश पुगेका राष्ट्रसंघले जनाएको छ । आक्रमणपछि शरणार्थी जीवन बिताउन बाध्य युक्रेनीलाई छिमेकी देशहरूले खाने, बस्ने लगायतका आधारभूत आवश्यकताको जोहो गरिरहेका छन् ।

पछिल्ला दिनहरूमा रुसी सेनाले युक्रेनमाथिको आक्रमण तीव्र पारेपछि विस्थापित हुनेको संख्या निकै बढेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युक्रेनका विभिन्न सहरहरूबाट सीमाक्षेत्रतर्फ जाने रेलमा यात्रुहरू खचाखच देखिन्छन् । त्यस्तै सडकहरूमा गाडीको निकै लामो लाइन देखिन्छ । शरणार्थीहरूलाई अन्य मुलुक जान युक्रेनी वा विदेशी पासपोर्टका अलावा अन्य कागजात नचाहिने जनाइएको छ । बालबालिकाको हकमा भने जन्म दर्ता तथा स्वास्थ्यसम्बन्धी प्रमाणपत्र आवश्यक पर्ने जनाइएको छ । तर अफ्रिकी देशका नागरिकलाई भने युक्रेनबाट बाहिरिन रोकिएको सूचना प्राप्त भएको बीबीसीले जनाएको छ । युक्रेनका छिमेकी देशमा आफन्त वा साथीभाइ नभएकाहरूलाई अस्थायी शरणार्थी शिविरमा राखिएको र पानी, खानेकुरा तथा औषधिको व्यवस्था गरिएको छ ।

युरोपका रेल सञ्चालकहरूले युक्रेनी नागरिक पुष्टि हुने कागजपत्र भएकालाई निःशुल्क यात्राको व्यवस्थासमेत गरिएको जनाएका छन् । युरोपेली संघले गत बिहीबार युक्रेनी नागरिकलाई अस्थायी बसोबास अनुमति दिइने बताइसकेको छ । जसका कारण उनीहरूले शरणका लागि निवेदन दिनुपर्ने छैन । शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयुक्त फिलिपो ग्रान्डीले ‘पोल्यान्डमा समुदायस्तरबाट शरणार्थीलाई असामान्य सहयोग’ भइरहेको भन्दै प्रशंसा गरेका छन् । तर अबका केही दिनमा शरणार्थीको संख्या निकै उच्च हुने भन्दै खाना तथा बासस्थानका लागि समस्या पर्ने सक्ने जनाए । रुसी आक्रमणका कारण यक्रेनबाट कम्तीमा ४० लाख विस्थापित हुने राष्ट्रसंघको अनुमान छ । अन्य करिब १० लाख आन्तरिक रुपमा विस्थापित हुने राष्ट्रसंघले जनाएको छ । युरोपेली संघले भने रुसी आक्रमणका कारण ७० लाख विस्थापित हुने र कम्तीमा १ करोड ८० लाख युक्रेनी प्रभावित हुने जनाएको छ ।

Inside Article Ads

रुसी आक्रमण सुरु भएसँगै पोल्यान्डले युक्रेनलाई मानवीय र सैन्य सहायता उपलब्ध गराउँदै आएको छ । त्यस्तै, युक्रेनसँग सीमा जोडिएका अन्य देशले पनि शरणार्थी सहायताका लागि स्रोत परिचालन गरिरहेका छन् । पोल्यान्डको सीमावर्ती क्षेत्रमा सयौं स्वयंसेवक विस्थापितको सहायताका लागि खटिएका छन् । उनीहरूले युक्रेनीलाई न्यानो कपडा तथा खानेकुराका साथै मोबाइल फोन र सिमकार्ड उपलब्ध गराएको जनाइएको छ । युक्रेन र रुसबीच सन् २०१४ मा नै सुरु द्वन्द्वका कारण विस्थापित करिब २० लाख युक्रेनी पोल्यान्डमा बस्दै आइरहेका छन् । रोमानिया सरकारले ३० दिनका लागि कम्तीमा ७० हजार शरणार्थीका लागि खाने, बस्ने व्यवस्था गर्ने जनाएको छ । हंगेरी र रोमानियाले विस्थापितलाई खानेकुरा र लुगाफाटोका लागि नगद भत्ताको व्यवस्था गरेका छन् । त्यस्तै, बालबालिकालाई स्थानीय विद्यालय पढाउन दिइएको जनाइएको छ ।मोल्दोभाका राष्ट्रपति मैआ सन्दुले शरणार्थीलाई आवश्यक सहयोग पुर्‍याउन सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छन् । चेक गणतन्त्रले शरणार्थीका लागि विशेष भिसा आवेदनको व्यवस्था गरिने जनाएको छ ।

त्यस्तै, जर्मनी र ग्रीसले पाल, ब्लांकेट र मास्कहरू स्लोभाकिया पठाएका छन् भने फ्रान्सले औषधि तथा स्वास्थ्य सामग्री पठाएका बीबीसीले उल्लेख गरेको छ । जर्मनीले ५ वर्षअघि सिरियाली शरणार्थीका लागि तयार पारेका शिविरहरू पुनः सञ्चालनमा ल्याइसकेको छ । सिरियाली शरणार्थीको समस्या चुलिएका बेला सीमा प्रवेशमा कडाइ गरेका पोल्यान्ड र हंगेरीलगायत मुलुकले युक्रेनीहरूका लागि भने ढोका खुला गरेका हुन् । त्यसैगरी, बेलायती रक्षामन्त्री बेन वालेन्सले शरणार्थीका लागि आफ्नो देशले सहयोग बढाउने जनाएका छन् । युक्रेनबाट विस्थापितका लागि सक्दो सहयोग नगरेको भन्दै यसअघि बेलायतको आलोचना भएको थियो । बेलायतले नयाँ योजनाअनुसार कम्तीमा ३ सय युक्रेनीलाई भिसा उपलब्ध गराइसकेको र पारिवारिक सदस्य भेट्ने क्रममा रहेका १७ हजार ७ सयको आवेदनबारे अध्ययन सुरु भइसकेको जनाएको छ । त्यसैगरी, अन्य ८ हजार ९ सयले आवेदन दिएका बेलायतले जनाएको छ ।

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.