Fast Nepal News

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस

banner single news

काठमाडौँ — २५ फागुन २०७८

काठमाडौँ , पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग-एन(पीएमएलएन) ले मंगलबार राष्ट्रिय सभामा प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो । अहिले सदन नचलेकाले संविधानको धारा ५४ अनुसार अविश्वास प्रस्ताव पेस भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । धारा ५४ अनुसार राष्ट्रिय सभाका २५ प्रतिशत सदस्यले हस्ताक्षर गरी बैठक आह्वानको माग गर्न सक्नेछन् । उनीहरूले माग गरेको १४ दिनभित्रमा सभामुखले बैठक आह्वान गर्नुपर्ने छ । विपक्षी गठबन्धनको अर्को घटक पाकिस्तान पिपुल्स पार्टीका प्रवक्ता नवीद कमारले १४० जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेस गरिएको बताएका छन् । 

पाकिस्तानको संविधानअनुसार प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुनका लागि सामान्य बहुमत भए पुग्छ । ३४२ सदस्य रहेको राष्ट्रिय सभामा अविश्वास प्रस्ताव पारित हुनका लागि १७२ भोट आवश्यक पर्छ । विपक्षी गठबन्धनले १७२ भोट जुटाएमा इमरान खान सत्ताबाट बाहिरिनेछन् । खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ(पीटीआई) सँग राष्ट्रिय सभामा १५५ सिट मात्रै छ । उनले केही साना दलसँग मिलेर सरकार बनाएका हुन् । खानलाई समर्थन गर्ने अधिकांश पार्टी सेनाको नजिक रहेका छन् । खान सरकारलाई सघाउने प्रमुख पार्टीहरू पाकिस्तान मुस्लिम लिग कायद-ए-आजम र मुत्ताहिदा कौमी मुभमेन्ट हु्न् ।

Inside Article Ads

उनीहरूले पनि खान सरकारले आफूहरूलाई पर्याप्त रूपमा सहभागी नगराइएको आरोप लगाएका छन् । सरकारका सहयोगी दलले विपक्षी दललाई सघाए मात्रै खानविरुद्ध अविश्वास प्रस्ताव पारित हुन्छ । गत वर्ष मार्चमा खानले विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १७८ भोट पाएका थिए । प्रधानमन्त्री खानले सरकार नढल्ने बरु अझ बलियो हुने प्रतिक्रिया दिएका छन् । विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव पेस गरेपछि निवासमै पत्रकाहरूसँगको कुराकानीमा उनले आफूलाई सरकारबाट बाहिर पठाउन खोज्ने विपक्षीको अन्तिम प्रयास भएको प्रतिक्रिया दिएका हुन् । साथै उनले विपक्षीलाई सन् २०२८ सम्म फर्किन नसक्ने गरी हराउने पनि बताएका छन् ।  

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.