Fast Nepal News

युक्रेनमा पालना भएन युद्धविराम

banner single news

किभ/मस्को — २२ फागुन २०७८

किभ/मस्को, सैन्य आक्रमण सुरु गरेको दसौं दिनमा युक्रेनका दुई सहरमा ‘अस्थायी युद्धविराम’ घोषणा गरेको रुसले त्यसको पालना नगरेपछि सर्वसाधारणको उद्धारमा कठिनाइ भएको छ । रुस तथा युक्रेनका अधिकारीले मरिउपोल र भोल्नोभाख सहरमा अस्थायी युद्धविराम गर्ने सहमति भएको घोषणा गरेका थिए । रुसी समाचार संस्था तासले युद्धविराम सहमतिसँगै ती सहरका स्थानीयलाई बाहिर निस्कन मानवीय निकाश मार्ग खुला गरिने जनाएको थियो । दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि मार्ग खुला गर्ने सहमति भएको थियो । तर रुसी पक्षले युद्धविरामको पालना नगरेपछि सर्वसाधारणलाई मरिउपोलबाट बाहिर लैजाने काम स्थगित गर्नुपरेको युक्रेनी अधिकारीले जनाएका छन् । सर्वसाधारणहरू फरकफरक स्थानमा गएर आश्रय लिनुपर्ने भन्दै छिट्टै थप जानकारी दिइनेसमेत जनाएका छन् ।

मरिउपोलका उपप्रमुखले सहरमा अझै बमबारी भइरहेको र निकास मार्ग सकिने स्थानमा दुई देशका सेनाबीच भिडन्त जारी रहेको बताएका छन् । स्थानीयले सहरमा हरेक पाँच मिनेटको समयमा एउटा बम पड्किएको आवाज सुनिने गरेको बताएका छन् । तर रुसी रक्षा मन्त्रालयले भने युक्रेनको दाबी गलत भएको र आफूहरूले सर्वसाधारणलाई सहरबाट बाहिरिन नरोकेको जनाएको छ । ‘युक्रेनी राष्ट्रवादीहरूले नागरिकलाई सहरहरू छाड्नबाट रोकेका छन्,’ रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रुसले युक्रेनी फौजलाई ‘राष्ट्रवादीहरू’ भन्ने गर्छ ।

सर्वसाधारणका लागि मानवीय सहयोगद्वारा बनाएपछि युक्रेनी फौजले उल्टै रुसी सेनामाथि आक्रमण गरेको दाबी गरेको छ । युक्रेनका दुई सहर मरिउपोल र भोल्नोभाखमा केही दिनदेखि दुवै पक्षबीच भीषण संघर्ष जारी छ । रुसी रक्षा मन्त्रालयले आफ्नो सेनाले युक्रेनी सहरहरूलाई निसानामा नराखेको पनि दाबी गरेको छ । साथै उसले सर्वसाधारणलाई कुनै पनि खतरा नभएको दाबी गर्दै केवल सैन्य संरचनामा मात्रै आक्रमण केन्द्रित गरिएको जनाएको छ । आक्रमणपछि रुसी सेनासँग लड्न ६६ हजार २ सय २४ जना युक्रेनी स्वदेश फर्केका युक्रेनका रक्षामन्त्रीले दाबी गरेका छन् ।

राष्ट्र संघीय सुरक्षा परिषद्को आपत्कालीन बैठकमा अमेरिकाले युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा भएको रुसी आक्रमणलाई लापरबाहीपूर्ण कदमको संज्ञा दिएको छ । ‘भगवानको कृपाले संसार सम्भावित एक परमाणु प्रकोपबाट बच्यो,’ राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले भनेकी छन् । युक्रेनको दक्षिण–पूर्वी क्षेत्र जापोरिज्यास्थित परमाणु ऊर्जा केन्द्रका केही भवनहरू आगो लागेपछि रुसी सेनाले केन्द्रलाई कब्जामा लिएको थियो । जसका कारण केहीको मृत्यु र केही घाइते भएको युक्रेनको दाबी छ । तर रुसले केन्द्रमा आक्रमण नगरेको बताउँदै आएको छ । केन्द्रमा कुनै रेडियोधर्मी पदार्थ नरहेको अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूको भनाइ छ ।

Inside Article Ads

रुसले हालसम्म युक्रेनको खर्किभ सहरलाई पूर्णरूपमा नियन्त्रणमा लिइसकेको छ । त्यस्तै राजधानी किभलगायतका सहरहरूमा भने आक्रमण जारी राखेको छ । रुसी सेनाको आक्रमणका कारण शनिबार साँझसम्ममा करिब १२ लाख सर्वसाधारणले युक्रेन छाडेका शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च निकाय यूनएचसीआरले जनाएको छ । युक्रेन छाड्नेमध्ये आधाभन्दा बढी पोल्यान्ड पुगेका जनाइएको छ । पोल्यान्ड पुग्ने युक्रेनीको संख्या करिब ७ लाख पुगेको जनाइएको छ । त्यस्तै १ लाख ५० हजार हंगेरी र बाँकी मोल्दोभा, स्लोभाकिया र रोमानिया पुगेका जनाइएको छ । यूएनएचसीआरका अनुसार देशभित्रै विस्थापित हुनेको संख्या पनि निकै ठूलो छ । ‘उनीहरूलाई सुरक्षा र सहयोगको खाँचो छ । अनुमानित ४० लाख मानिसले युक्रेन छोड्न सक्छन्,’ उसले भनेको छ ।

यसैबीच, रुसी राष्ट्रिय विमान सेवा एरोफ्लटले अधिकांश अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ । उसले ‘विभिन्न परिस्थिति’ का कारण सेवा अवरुद्ध गर्नुपरेको जनाएको छ । आन्तरिक तथा छिमेकी देश बेलारुससँगका उडानमा भने कुनै असर नपर्ने विमान सेवाले जनाएको छ । युरोपेली संघ, बेलायत, अमेरिका र क्यानडाले आफ्ना आकाशमा रुसी विमानहरू उड्न प्रतिबन्ध लगाए पनि अन्य गन्तव्य र हवाई मार्गमा असर देखा परेको छ । रुसले समेत उड्डयन क्षेत्रमा त्यस्तो जवाफी प्रतिबन्ध लगाएको छ । रुसले सामाजिक सञ्जाल फेसबुकमाथि पनि प्रतिबन्ध लगाएको छ । त्यसका साथै, ट्वीटर तथा युट्युबको पहुँचमा पनि रोक लगाइएको जनाइएको छ ।

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.