
अस्ट्रेलिया — ०१ फागुन २०७८
अस्ट्रेलिया , सरकारले लगाएको अनिवार्य खोपको नियमको विरोध गर्दै अस्ट्रेलियाको राजधानी क्यानबेरामा शनिबार हजारौंले प्रदर्शन गरेका छन् । प्रहरीले तीन जना प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ । कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएपछि असन्तुष्ट सर्वसाधारणले संसद् भवन अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा करिब १० हजार सहभागी भएका थिए । स्थानीय सञ्चार माध्यमले प्रदर्शन शान्तिपूर्ण भएको जनाएका छन् । विरोधका कारण परोपकारी कार्यका लागि आयोजना गरिएको पुस्तक प्रदर्शनी स्थगित भएको छ ।
अधिकारीहरूले क्यानबेरास्थित एक्जिबिसन पार्कबाट आइतबारसम्म हटिसक्न प्रदर्शनकारीलाई आदेश दिएका छन् । खोप अनिवार्य गर्ने सरकारी नियमको विरोध गर्दै आएका प्रदर्शनकारी करिब एक सातादेखि उक्त स्थानमा छन् । अस्ट्रेलियामा खोप लगाउन योग्यमध्ये करिब ९० प्रतिशतले दोस्रो र ९५ प्रतिशतले पहिलो मात्रा लगाइसकेका छन् । तर पनि पछिल्ला दिनहरूमा सरकारले लगाएको नियमको विरोध हुँदै आएको छ ।
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले प्रदर्शनकारीलाई शान्तिपूर्वक प्रदर्शन गर्न आग्रह गरेका छन् । उनले खोप अनिवार्य गर्ने नियमका लागि राज्य सरकार उत्तरदायी भएको जनाएका छन् । केन्द्र सरकारले अत्यन्तै संवेदनशील स्वास्थ्य क्षेत्र, वृद्धवृद्धालाई रेखदेख गर्ने एज केयर होममा लगाइएको अनिवार्य खोपको नियमप्रति मरिसनले समर्थन जनाएका छन् । उनले यसबाहेकका अन्य खोपसम्बन्धी अनिवार्य नियम केन्द्र सरकारले लगाउन नसक्ने र त्यसका लागि राज्य सरकार जिम्मेवार भएको बताए । अस्ट्रेलियामा स्वास्थ्य क्षेत्र, एज केयर होम, अपांगता भएका व्यक्तिलाई सहयोग गर्ने क्षेत्रलगायत अन्य संवेदनशील क्षेत्रमा काम गर्ने कर्मचारीले अनिवार्य खोप लगाएको हुनुपर्ने नियम लगाइएको छ । सरकारको यही नियमका कारण केही कर्मचारीले जागिरसमेत छाडेको समाचारमा जनाइएको छ ।
( कान्तिपुर दैनिक )
