
नयाँदिल्ली — २७ माघ २०७८
नयाँदिल्ली , भारत सरकारले पत्रकार र मिडियाकै मान्यता रद्द गर्न सक्ने गरी नयाँ निर्देशिका जारी गरेको छ । सूचना र प्रसारण मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकामा भारतको सम्प्रभुता वा अखण्डता, राज्यको सुरक्षा, विदेशी राष्ट्रसँगको मैत्रीपूर्ण सम्बन्धविरुद्ध कार्य गर्ने पत्रकार वा सञ्चारमाध्यमको मान्यता निलम्बन वा रद्द गर्न सकिने प्रावधान ल्याइएको हो । त्यस्तै, अदालतको मानहानि गर्ने वा सार्वजनिक आदेशविरोधी गतिविधि गर्ने वा अपराधका लागि भड्काउनेको पनि मान्यता निलम्बन वा रद्द गर्न सकिने प्रावधान समेटिएको छ । केन्द्रीय मिडिया मान्यता दिशानिर्देश, २०२२ मा पत्रकारको मान्यता निलम्बन वा रद्द गर्न सकिने विभिन्न १० बुँदा समेटिएका छन् । कुनै पत्रकारले ‘गैरपत्रकारिता गतिविधि’ का लागि सरकारबाट प्राप्त मान्यताको प्रयोग गरेको खण्डमा ‘गम्भीर अपराध’ को मुद्दा चलाउन सकिने उल्लेख छ । र, त्यस्तो व्यक्तिको मान्यता निलम्बन हुने जनाइएको छ ।
( कान्तिपुर दैनिक )
