
पेरिस — २० माघ २०७८
पेरिस , कोरोना भाइरसको संक्रमण उच्चस्तरमा हुँदाहुँदै पनि फ्रान्सले प्रतिबन्धहरू हटाउन सुरु गरेको छ । बुधबार साँझदेखि फेस मास्कहरू अब देशभरि नै बाहिर अनिवार्य हुने छैन । त्यसैगरी हप्तामा कम्तीमा तीन दिन कार्यालयको काम घरबाटै गर्नुपर्ने बाध्यात्मक नियमलाई समेत हटाएर सिफारिस मात्र गरिएको छ । रंगशाला, सांस्कृतिक स्थल र बाहिरी खुला ठाउँहरूमा भेला हुन तोकिएको निश्चित क्षमतालाई पनि हटाइएको छ । अधिकारीहरूले नाइटक्लबहरू भने फेब्रुअरी १६ सम्म पूर्वघोषितयोजना अनुसार नै बन्द रहने बताएका छन् । इन्डोर कन्सर्ट हलहरू पहिले दुई हजार जनामा सीमित थिए भने खुला क्षेत्रहरूमा पाँच हजार जनाको सीमा तोकिएको थियो । बुधबार साँझबाट त्यसलाई पनि हटाइएको छ ।
फ्रान्समा सघन हेरचाहमा कक्षमा बिरामीहरूको संख्या हप्तामा लगभग तीन हजार सात सय जनामा लगभग स्थिर रहेको छ । तर अस्पताल भर्ना हुनेहरूको संख्या भने बढ्दै गएको छ ।
डब्ल्यूएचओका अनुसार ओमिक्रोन भेरियन्ट १० हप्ताअघि पहिलो पटक पहिचान भएदेखि कोरोना भाइरसका संक्रमितको संख्या विश्वमा नौ करोड पुगिसकेको छ । यसैबीच डेनमार्कले अधिकांश महामारी प्रतिबन्धहरू खारेज गर्ने मंगलबार नै घोषणा गरेको थियो । कोभिड-१९ सामाजिक रूपमा गम्भीर रोग नरहेको भन्दै डेनमार्कले प्रतिबन्धहरु हटाएको हो । डेनमार्कले हालैका हप्ताहरूमा औसतमा दैनिक ५० हजार भन्दा बढी संक्रमितहरुको सामना गरिरहेको छ । तर अस्पतालका सघन उपचार कक्षहरूमा भने विरामीको संख्या घटेको छ। फ्रान्समा गत २४ घण्टामा चार लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ३८१ जनाको मृत्यु भएको छ ।
( कान्तिपुर दैनिक )
