
नयाँदिल्ली — १३ माघ २०७८
नयाँदिल्ली , चीनलगायत छिमेकी देशहरूसँगको सम्बन्ध बिग्रिरहेका बेला भारतले आफ्नो गणतन्त्र दिवसका अवसर पारेर सैनिक शक्ति प्रदर्शन गरेको छ । ७३ औं गणतन्त्र दिवसका अवसरमा बुधबार राजधानी नयाँदिल्लीस्थित राजपथमा देखाइएका सैनिक क्रियाकलाप भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विशिष्ट व्यक्तिले निकै ध्यानपूर्वक हेरे । राजपथमा ९० मिनेट चलेको सैन्य परेडमा नौसेना, वायुसेना र स्थलसेनाले आफ्नो शक्ति प्रदर्शन गरेका हुन् । महिला सैनिक शक्ति प्राथमिकताका साथ देखाइएको समारोहमा दर्जनौं लडाकु जेट सामेल थिए । त्यस्तै, एमआई–१७ भी ५, चिनुक र अपाचे हेलिकोप्टरमार्फत हवाई सेनाले आफ्ना कौशल देखाएका थिए । त्यस अवसरमा भारतका विभिन्न राज्यको संस्कृति झल्किने झाँकीसमेत प्रस्तुत गरिएको थियो । कोभिड–१९ को संक्रमणका कारण दर्शकको संख्या भने ४ हजारमा सीमित पारिएको थियो ।
भट्टाचार्य र मुखर्जीद्वारा सम्मान अस्वीकार
पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्य र प्रसिद्ध गायिका सन्ध्या मुखर्जीले गणतन्त्र दिवसका अवसरमा घोषणा गरिएको पद्म पुरस्कार लिन अस्वीकार गरेका छन् । सरकारले अन्य धेरै जनासहित भट्टाचार्यलाई पद्म भूषण र मुखर्जीलाई पद्मश्री सम्मान दिने निर्णय गरेको थियो । पश्चिम बंगालमा ११ वर्ष मुख्यमन्त्री रहेका भट्टाचार्य मार्क्सवादी कम्युनिस्ट पार्टीका नेता हुन् । उनले आफूलाई सम्मानित गरिने विषयमा कुनै पूर्वजानकारी नदिएको कारण देखाउँदै सम्मान लिन अस्वीकार गरेका हुन् । त्यस्तै गायिका मुखर्जीका तर्फबाट उनकी छोरी सौमी सेन गुप्ताले ९० वर्षको उम्मेरमा आफ्नी आमालाई पद्मश्री पुरस्कार दिएर सरकारले अपमानजनक व्यवहार गरेको उल्लेख गरेकी छन् ।
( कान्तिपुर दैनिक )
