Fast Nepal News

क्षेप्यास्त्र परीक्षण तीव्र पार्दै उत्तर कोरिया

banner single news

सोल (एजेन्सी) — १२ माघ २०७८

सोल (एजेन्सी), कोभिड–१९ को महामारीसँगै केही समय शान्त रहेको उत्तर कोरियाले पछिल्लो समय क्षेप्यास्त्र प्ररीक्षणलाई तीव्रता दिएको छ । दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार उत्तरले मंगलबार पुनः पूर्वी सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले जनवरी महिनामा मात्रै क्षेप्यास्त्र परीक्षण गरेको यो ५ औं पटक हो । यसअघि उसले जनवरी ५ र ११ मा हाइपरसोनिक, जनवरी १४ मा दुई रेल तथा कारबाट प्रहार गर्न मिल्ने छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र र जनवरी १७ मा दुईवटा रणनीतिक रूपमा निर्देशितसहित ४ क्षेप्यास्त्र परीक्षण गरेको थियो । दक्षिण कोरियाली सेनाका अनुसार तीमध्ये कतिपय क्षेप्यास्त्र उत्तर कोरियाली राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको हो । उत्तरले ती क्षेप्यास्त्र तटीय क्षेत्रमा प्रहार गरेको हो । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई क्षेप्यास्त्र तथा परमाणु हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । तर उसले त्यसको बेवास्ता गर्दै क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिँदै आएको हो । त्यसैगरी, अमेरिका र युरोपेली संघले पनि उत्तर कोरियामाथि आर्थिकलगायत नाकाबन्दी लगाउँदै आएका छन् ।

उत्तरले शृंखलाबद्ध रूपमा क्षेप्यास्त्र प्रहार गरेपछि दक्षिण कोरिया, जापान र अमेरिकाले त्यसको निन्दा गर्दै आएका छन् । उत्तर कोरियाली गतिविधिले क्षेत्रीय शान्ति र सुरक्षा खतरामा पारेको जापानको भनाइ छ । जापानी रक्षामन्त्री नोबुओ किसीले पछिल्ला दिनमा उत्तरले क्षेप्यास्त्र विकासमा जोड दिएको भन्दै त्यसको विरोध गरेका छन् । ‘उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र प्रक्षेपण जापानसहित अन्तर्राष्ट्रिय समुदायका लागि विनाशकारी समस्या हो,’ उनको भनाइ छ । त्यस्तै, अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डले उत्तर कोरियाको अवैध हतियार कार्यक्रमले अस्थिरता निम्त्याउने जनाएको छ । तर त्यस्ता प्रक्षेपणले अमेरिका र उसका सहयोगीलाई तत्काल कुनै खतरा नपर्ने कमान्डको दाबी छ । जनवरी १४ मा परीक्षण गरिएका हाइपरसोनिक क्षेप्यास्त्र भने उत्तर कोरियाली नेता किम जोङ–उनले अवलोकन गरेका थिए । क्षेप्यास्त्र परीक्षणका क्रममा उत्तर कोरियाली विदेशमन्त्रीले अमेरिकी प्रतिबन्धको कडा आलोचना गरेका थिए ।

जनवरी महिनामा उत्तरले गरेको प्रक्षेपण गति भने अस्वाभाविक देखिएको छ । कोरियाली प्रायद्वीपमा अमेरिका र दक्षिण कोरियाली सेनाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यासको कडा विरोध जनाउन उत्तरले क्षेप्यास्त्र परीक्षणको गति बढाएको हो । त्यसका साथै आफ्ना क्षेप्यास्त्रको क्षमता विकसित गर्न तथा तयारी अवस्थामा राख्न उत्तरले त्यस्ता परीक्षण गर्ने गरेको जानकारहरू बताउँछन् । पछिल्ला परीक्षण त्यसको निरन्तरता भएको अमेरिकाको वासिङ्टनस्थित एक अन्तर्राष्ट्रिय थिंकट्यांक संस्थाका विज्ञ अंकित पन्डा बताउँछन् । ‘किम जोङ–उनले अन्तर्राष्ट्रिय समुदायलाई देश आर्थिक रूपमा अप्ठ्यारो अवस्थामा रहेको भए पनि प्रतिरक्षा नीति प्राथमिकतामा रहेको सन्देश दिन चाहन्छन्,’ उनले भने ।
Inside Article Ads

पछिल्लो समय उत्तर कोरिया चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । कोभिड–१९ को महामारी नियन्त्रणका लागि नाकाबन्दी गरेपछि खाद्यान्न अभाव भएको छ । केही साताअघि दलको वार्षिक बैठकका क्रममा नेता किमले ‘देशले जीवन र मरणबीच संघर्ष गरिरहेको’ स्वीकार गरेका थिए ।

देश विकास र जनताको जीवनस्तर सुधार्नु नै सन् २०२२ को प्रमुख लक्ष्य भएको उनको भनाइ थियो । तर कोरियाली द्वीपमा आफ्नो देशको प्रतिरक्षा क्षमता सुदृढ पार्ने क्रम भने जारी रहने तर त्यसका लागि तयारी भइरहेको किमले बताएका थिए । त्यसको केही दिनमा उत्तरले क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको हो । उत्तर कोरियाले सन् २०१७ मा ह्वासोङ–१५ क्षेप्यास्त्र  परीक्षण गरेको थियो ।उक्त क्षेप्यास्त्रले प्रशान्त महासागरको गुआम रहेको अमेरिकी सैन्य अखडामा प्रहार गर्न सक्छ । त्यसैगरी, जो बाइडेन अमेरिकी राष्ट्रपति भएसँग दुई देशबीचको परमाणु वार्ता पनि अवरुद्ध छ । उत्तरले जनवरी सुरुमा क्षेप्यास्त्र परीक्षण गरेपछि बाइडेन प्रशासनले केही प्रतिबन्धहरू लागू गरिसकेको छ । दक्षिण कोरियास्थित एक विश्वविद्यालयका उत्तर कोरिया मामिलाका प्राध्यापक पार्क वन–गोन ‘पछिल्ला परीक्षण त्यसको कडा जवाफ भएको’ बताउँछन् । उत्तर कोरियाले पछिल्ला दिनमा क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएपछि छिमेकी देश चीन पनि असन्तुष्ट देखिएको आकलन गरिएको छ । यद्यपि, चीनले संवादमार्फत तनाव कम गर्न सबै पक्षलाई आग्रह गर्दै आएको छ । राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिक्सको केही दिन अघि चीनले यस्ता गतिविधि स्वागत नगर्ने कपितय विश्लेषकहरूको बुझाइ छ ।

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.