
काठमाडौँ — २७ पुस २०७८
काठमाडौँ , कोरोना संक्रमण बढ्न थालेपछि भारतको दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले राजधानी नयाँदिल्लीका सम्पूर्ण निजी कार्यालयहरू बन्द गर्न आदेश दिएको छ । आपत्कालीन सेवा प्रदान गर्ने कार्यालयहरू भने खुल्ने प्राधिकरणद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । कार्यालयको काम घरबाटै गर्नका लागि प्राधिकरणले आग्रह गरेको छ ।
त्यस्तै दिल्लीका सम्पूर्ण रेस्टुरेन्ट र बारहरू पनि बन्द रहनेछन् । तर‚ ‘होम डेलिभरी’ भने गर्न पाइने आदेशमा उल्लेख गरिएको छ ।दिल्लीमा मेट्रोहरू चल्ने तर उभिएर यात्रा गर्न नपाइने भएको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा ५ हजार ७३ जनामा कोरोना संक्रमण देखिएको छ भने १७ जनाको मृत्यु भएको छ । हाल दिल्लीमा ६५ हजार ८ सय ६ जना सक्रिय संक्रमित रहेका छन् ।
( कान्तिपुर दैनिक )
