Fast Nepal News

दिल्ली र मुम्बईमा संक्रमण तीव्र

banner single news

नयाँदिल्ली — १८ पुस २०७८

नयाँदिल्ली , भारतका दिल्ली तथा मुम्बईमा कोभिड संक्रमितको संख्या तीव्र रूपमा वृद्धि भएको छ । दिल्लीमा शनिबार संक्रमितको संख्या २ हजार ७ सय १६ पुगेको छ । पछिल्लो एक दिनमै एक हजार संक्रमित थपिएका छन् । पछिल्लो ७ दिनमा मात्रै संक्रमितको संख्या दिल्लीमा १० गुनाले वृद्धि भएको छ । दिल्लीमा डिसेम्बर २६ मा २ सय ९० जना संक्रमित थिए । लगातार २ दिन संक्रमण दर ०.५ भन्दा माथि पुगेपछि सरकारले विभिन्न सार्वजनिक गतिविधिमा प्रतिबन्ध लगाइसकेको छ । ‘यलो अलर्ट’ जारी गर्दै मेट्रो तथा बसमा सिट संख्याको आधा मात्रै यात्रु हिँड्न पाउने, सिनेमा हल, पार्टी प्यालेस बन्द गर्नुका साथै रात्रिकालीन निषेधाज्ञा जारी गरिएको हो । नयाँ वर्षको पहिलो दिन सार्वजनिक तथ्यांकअनुसार संक्रमण दर ४ प्रतिशत पुग्न लागेको छ । यो अवस्थामा दिल्ली सरकारले सार्वजनिक गतिविधिमा थप प्रतिबन्ध लगाउन सक्ने जनाएको छ ।

 दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले थप प्रतिबन्धको अनिवार्य अवस्था आइसकेको बताएका छन् । दिल्लीमा धेरै संख्यामा गरिएको जिनोम परीक्षणबाट संक्रमितमध्ये ५० प्रतिशतमा ओमिक्रोन पाइएको छ । शनिबारसम्म भारतका २५ राज्यमा ओमिक्रोनको संक्रमण पुष्टि भइसकेको छ । दिल्ली र महाराष्ट्र सबैभन्दा बढी प्रभावित छन् । मुम्बईमा शनिबार ६ हजार ३ सय ४७ नयाँ केस थपिएका छन् । त्यहाँ पनि एक दिनको फरकमा एक हजार संक्रमित बढेका छन् । सक्रिय संक्रमितको संख्या २२ हजार बढी छ । संक्रमण बढ्न नदिन मुम्बईमा प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक स्थलमा मानिसहरूको जमघटमा रोक लगाइएको छ । समुद्र किनार, पार्कलगायतका स्थानमा मानिसको जमघटमा रोक लगाइएको हो ।

Inside Article Ads

त्यस्तै, संक्रमितको संख्या बढ्न थालेपछि कर्नाटक सरकारले सार्वजनिक यातायातको प्रयोग गर्नेलाई कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लगाएको प्रमाणपत्र बोक्नुपर्ने भनेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोभिड संक्रमितको संख्या २२ हजार ७ सय ७५ थपिएको छ । उक्त अवधिमा ४ सय ६ जनाको मृत्यु भएको छ । ओमिक्रोनबाट संक्रमितको संख्या १ हजार ४ सय ३१ छ । केन्द्र सरकारले कोभिडको ‘तेस्रो लहर’ को आशंका जनाउँदै सबै राज्य सरकारलाई शनिबार पत्र लेखेर स्वास्थ्यको आवश्यक तयारी तथा परीक्षणको संख्या बढाउन भनेको छ । पत्रमा अस्थायी कोभिड अस्पताल बनाउन, अस्पतालमा बेड थप्न, अन्य सुविधा बढाउन तथा थप सतर्कता अपनाउन भनिएको छ ।

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.