Fast Nepal News

सैन्य तनावबीच भारत-चीन व्यापार १ सय अर्ब डलर नाघ्यो

banner single news

काठमाडौँ — १३ पुस २०७८

काठमाडौँ , सीमा विवादका कारण कूटनीतिक सम्बन्धमा उतारचढावका बीच भारत-चीन द्विपक्षीय व्यापार भने बढिरहेको छ । यस वर्ष भारत र चीनबीच द्विपक्षीय व्यापार १ सय अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । लद्दाखमा दुवै देशबीच सैन्य संघर्षका बीच पनि द्विपक्षीय व्यापार बढेको हो । समाचार संस्था पीटीआईका अनुसार सन् २००१ मा १ अर्ब ८३ करोड डलरबाट सुरु भएको भारत-चीन द्विपक्षीय व्यापार यस वर्षको ११ महिनामा १०० अर्ब डलरभन्दा बढी पुगेको हो । चीनको जनरल एडमिनिस्ट्रेसन अफ कस्टम्स(जीएसी) द्वारा गत महिना सार्वजनिक तथ्यांकअनुसार ११ महिनामा भारत-चीनको द्विपक्षीय व्यापार ११४ अर्ब २६ करोड अमेरकी डलर पुगेको छ । भारतबाट चीनतर्फ २६ अर्ब ३५ करोड अमेरिकी डलरबराबरको निर्यात भएको छ भने चीनबाट भारतमा ८७ अर्ब ९० करोड अमेरिकी डलरबराबरको सामान आयात भएको छ । यससँगै चीनसँग भारतको व्यापार घाटा बढिरहेको छ । चीनसँग भारतको व्यापार घाटा ६१ अर्ब ५४ करोड अमेरिकी डलर पुगेको छ । यस वर्ष चीनसँगको व्यापार घाटा ५३. ४९ प्रतिशतले बढेको छ ।

कूटनीतिक सम्बन्धमा उतारचढावका बाबजुद पनि दुई देशबीचको व्यापार बढिरहेकोमा विश्लेषकहरूले प्रश्न उठाएका छन् । भारतका रक्षा विश्लेषक ब्रम्हा चेलानीले यससम्बन्धमा केही प्रश्न सोध्दै ट्विट गरेका छन् । उनले ट्विटमा भनेका छन्, ‘चीनद्वारा सीमा अतिक्रमण भइरहेका बेला मोदी सरकारले सन् २०२१ मा चीनसँगको ५० प्रतिशत व्यापार वृद्धिलाई कसरी सही ठहर्‍याउनेछ ? जसमा जनवरीदेखि नोभेम्बरसम्म चीनको पक्षमा ६१.५ अर्ब डलरको कारोबार रहेको छ । जुन चालु आर्थिक वर्षमा भारतको कुल रक्षा खर्चबराबर हो ।’ गत वर्षको मे ५ मा भारत र चीनबीच सैन्य संघर्ष सुरु भएको थियो । जुनमा लद्दाखको गलवान उपत्यकामा भारतीय सेना र चिनियाँ सेनाबीच हिंसात्मक झडप नै भएको थियो । करिब ४ दशकपछि दुई देशबीच भएको ठूलो हिंसात्मक झडपमा २० जना भारतीय र ४ चिनियाँ सैनिकको मृत्यु भएको थियो । चीनले पहिले मानवीय क्षति नभएको जनाए पनि पछि मात्रै ४ जनाको मृत्यु भएको स्वीकार गरेको हो ।

गत सेप्टेम्बरमा भारत र चीनबीच उत्तरी लद्दाख क्षेत्रको सीमा विवादका कारण सिर्जित तनाव कम गर्न पाँच बुँदे सहमति भएको थियो । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच रुसको राजधानी मस्कोमा भएको बैठकमा यस्तो सहमति भएको थियो । भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ । केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ । सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो । करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभाग दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतका तर्फबाट संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो तिब्बत बोर्डर पोलिस (आईटीबीपी) ले नै सीमा सुरक्षा हेर्दै आएको छ ।

Inside Article Ads

लद्दाखमा भारत-चीन झडप : २० भारतीय सैनिकको मृत्यु

सन् १९६२ मा दुई मुलुकबीच सीमालाई लिएर युद्ध भएपछि लामो समयसम्म दुई मुलुकबीच सामान्य कूटनीतिक सम्बन्धसमेत थिएन । सन् १९८८ मा भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले चीनको भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा ‘आइस ब्रेक’ गरेका थिए । त्यसपछि यी दुई मुलुक आर्थिक र कूटनीतिक रूपमा नजिकिँदै गए । दुई देशबीचको व्यापार बढेर नब्बे अर्ब डलर नाघिसकेको छ । र, शीर्ष तहको राजनीतिक भेटघाट पनि बाक्लो बन्दै गएको थियो । तर सन् २०१७ मा भुटानको दोक्लम क्षेत्रको त्रिदेशीय विन्दुलाई लिएर दुई देशबीच तनाव सिर्जना भएको थियो । त्यतिबेला दुई देशका सैनिकहरूबीच ७३ दिनसम्म घम्साघम्सी परेको थियो । अन्तत: उच्च राजनीतिक तहमा वार्ता भएपछि स्थिति मत्थर भयो । त्यसयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वुहान र ममाल्लापुरम अनौपचारिक शिखर वार्तासमेत भइसकेको छ ।

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.