Fast Nepal News

युरोपमा फैलँदै ओमिक्रोन

banner single news

लन्डन — २ पुस २०७८

लन्डन , युरोपेली देशहरूमा कोभिड–१९ को नयाँ भेरिएन्टको संक्रमण तीव्र बन्दै गएको छ । पछिल्लो समय यो भेरिएन्टबाट संक्रमितको हुनेको संख्या उल्लेख्य रूपमा बढिरहेको बेलायती स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । बेलायतमा यसको संक्रमणका कारण कम्तीमा एक जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय फ्रान्स, जर्मनी, इटाली, स्पेन, पोर्चुगल, स्विडेन, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, आयरल्यान्ड, हंगेरी, ग्रीस, फिनल्यान्ड, पोल्यान्ड, टर्कीलगायतका देशमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएको अधिकारीहरूले जनाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोन भेरिएन्ट अप्रत्यासित रूपमा फैलिइरहेको बताइसकेको छ । संगठनका अनुसार यो हालसम्म ७७ देशमा पुष्टि भइसकेको छ । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पुष्टि भएको ओमिक्रोन कोभिड–१९ का भेरिएन्टमध्ये सबैभन्दा बढी उत्परिवर्तित हो । डब्लूएचओले ओमिक्रोनलाई ‘उच्च जोखिम’ को सूचीमा राख्दै थप स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।

डब्लूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेससले कोभिड–१९ विरुद्धको खोपको बुस्टर डोजले यसको फैलावट रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । हाल प्रयोगमा रहेका खोपहरूले ओमिक्रोनको संक्रमणबाट सुरक्षित राख्ने विषयमा वैज्ञानिकहरूले अध्ययन जारी रहेको बताएका छन् । तर प्रारम्भिक नतिजामा कोभिडविरुद्धका खोपहरूले संक्रमण हुनबाट पूर्ण रूपमा नबचाउने तर संक्रमितहरू अस्पताल जानुपर्ने अवस्थामा कमी ल्याउने जनाइएको छ । बुस्टर डोज लिएको खण्डमा कोभिडबाट सुरक्षित हुने सम्भावना कम्ती ७० प्रतिशत हुने उनीहरूको भनाइ छ । संक्रमण बढ्दै गएपछि फ्रान्सले बेलायतबाट आफ्नो देश भ्रमण गर्नेलाई लक्षित गरी नियमहरू पारेको छ । ओमिक्रोनको संक्रमण थप फैलन नदिने प्रयासस्वरूप नियमहरू कडा पारिएको फ्रान्सेली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अब बेलायतबाट फ्रान्स जान यात्रुहरूका लागि २४ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट आवश्यक पर्नुका साथै कम्तीमा २ दिन आइसोलेसनमा बस्नुपर्नेछ ।ओमिक्रोन संक्रमितको संख्या हाल फ्रान्समा भन्दा बेलायतमा बढी छ । हालसम्म बेलायतमा ओमिक्रोन संक्रमितको संख्या १० हजार नाघिसकेको छ । फ्रान्समा २ सय ४० जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । त्यस्तै, बेलायतमा पछिल्लो समय कोभिड–१९ को संक्रमण पनि बढ्दै गएको छ । अधिकारीहरूका अनुसार बेलायतमा बुधबार मात्रै ७८ हजार ६ सय १० जनामा कोभिड पुष्टि भएको छ । एकै दिन संक्रमित हुने यो कोभिड महामारी सुरु भएयताकै उच्च संख्या हो । यसअघि गत जनवरीमा एकै दिनको सबैभन्दा धेरै एकै दिन ६८ हजारलाई संक्रमण भएको थियो । उक्त अवधिमा फ्रान्सका ६५ हजार ७ सय १३ जनामा कोभिड पुष्टि भएको जनाइएको छ ।

Inside Article Ads

इंग्ल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटीले आगामी साताहरूमा पटकपटक संक्रमितको नयाँ रेकर्ड कायम हुने बताएका छन् । एक पत्रकार सम्मेलनमा बोल्दै उनले क्रिस्मसका बेला जमघट गर्नुअघि मानिसले महत्त्वका क्षेत्र र सुरक्षाका उपायहरू निर्धारण गर्न सक्नुपर्ने बताए । कार्यक्रममा प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड खोपको बुस्टर मात्रा लिएको खण्डमा सुरक्षित भइने बताए । जोन्सनका अनुसार कतिपय स्थानमा संक्रमितको संख्या दुई दिनमै दोब्बर भएको जनाए । उनका अनुसार भाइरसका कारण मृत्युको संख्या भने संक्रमणको तुलनामा कम छ । करिब एक महिनाको अवधिमा बेलायतमा कोभिडका कारण १ सय ६५ जनाको मृत्यु भएको छ ।

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.