Fast Nepal News

अणु निर्माणमा योगदान पुर्‍याउने वैज्ञानिकलाई रसायनशास्त्रको नोबेल

banner single news

स्टकहोम — २१ असोज २०७८

स्टकहोम , अणु निर्माण कार्य विकसित गर्ने वैज्ञानिकद्वयलाई सन् २०२१ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । नोबेल पुरस्कार कमिटीले वैज्ञानिकद्वय बेन्जामिन लिस्ट र डेभिड म्याकमिलनलाई संयुक्त रूपमा उक्त पुरस्कार दिने निर्णय गरेको हो । उनीहरूको कार्यले औषधि क्षेत्रमा अनुसन्धानका लागि सहायता पुग्ने अपेक्षा गरिएको कमिटीले जनाएको छ । जर्मन नागरिक लिस्ट र अमेरिकी नागरिक क्याकमिलनको खोजले ‘रासायनिक अणुहरूलाई कसरी सँगसँगै राख्ने भन्ने नयाँ अवधारणा विकसित भएको’ रासायनशास्त्रतर्फको नोबेल कमिटीका सदस्य पर्निला विइटुङ–स्टाफसेडले बताइन् ।

‘यो नयाँ औजार यसअघि नै औषधिको विकासलगायतका नयाँ आविष्कारका लागि प्रयोगमा आइसकेको छ । यसले मानवजगत्लाई ठूलो फाइदा पुर्‍याइरहेको छ,’ उनले भनिन् । वैज्ञानिकद्वयले छुट्टाछुट्टै रूपमा अध्ययन, अनुसन्धान गरेका भए पनि कमिटीले पुरस्कार भने संयुक्त रूपमा दिने निर्णय लिएको हो । उनीहरूले संयुक्त रूपमा स्विडिस क्रोनर एक करोड र मेडल पाउनेछन् । ५३ वर्षीय म्याकमिलन अमेरिकाको न्युजर्सीस्थित प्रिन्स्टन विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक हुन् । त्यस्तै, जर्मनीको फ्यांकफर्टका ५३ वर्षीय लिस्ट कोलोग्न विश्वविद्यालयका प्राध्यापक हुन् । चिकित्सातर्फ अमेरिकी वैज्ञानिकद्वय डेभिड जुलियस र आर्डेम पटापौटियन र भौतिकशास्त्रतर्फ स्युकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीलाई नोबेल पुरस्कार दिने निर्णय यसअघि भइसकेको छ ।

Inside Article Ads

स्विडिस उद्योगपति अल्फ्रेड नोबेलको नाममा सन् १८९६ मा स्थापित पुरस्कार सन् १९०१ देखि प्रदान गर्न थालिएको हो । रसायनशास्त्रतर्फ यो पुरस्कार हालसम्म १ सय ८७ जनाले प्राप्त गरिसकेका छन् । तीमध्ये ७ जनामात्र महिला छन् । दुई महिला वैज्ञानिक एमानुएल कार्पेन्टाएर र जेनिफर डउड्नाले संयुक्त रूपमा गतवर्ष रसायनशास्त्रको नोबेल पुरस्कार पाएका थिए । बेलायती वैज्ञानिक फ्रेडेरिक सङ्गरले मात्र सन् १९५८ र १९८० मा गरी दुईपटक यो पुरस्कार पाइसकेका छन् । रसायनशास्त्रतर्फ पुरस्कार पाउने वैज्ञानिकमा सबैभन्दा बढी ७२ जना अमेरिकी छन् । जर्मनी र बेलायत दुवै देशका समान ३४ जना वैज्ञानिकले यो पुरस्कार पाइसकेका छन् ।

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.