
नयाँदिल्ली — २ भाद्र २०७८
आसन्न आईसीसी ट्वान्टी–२० विश्वकपमा एकै समूहका चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान पहिलो खेलमै आमनेसामने हुने भएको छ । आईसीसीले मंगलबार विश्वकपको खेलतालिका सार्वजनिक गरेको हो ।१६ देश सम्मिलित प्रतियोगिता अक्टोबर १७ देखि यूएई र ओमानमा आयोजना हुँदै छ । पहिलो चरणको खेलमा ८ टोलीबीच दुई समूहमा प्रतिस्पर्धा हुनेछ । समूहको शीर्ष दुई टोलीले सुपर १२ मा स्थान बनाउने छन् । जहाँ पछिल्लो वरीयताका आधारमा शीर्ष ८ टोलीसँग मुख्य प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो खेल आयोजक ओमान र पपुवा न्युगिनीबीच हुनेछ । त्यसपछि त्यही दिन स्कटल्यान्ड र बंगलादेश भिड्नेछन् ।
सुपर १२ मा ६–६ टोलीको दुई समूह हुनेछ । समूह ‘एक’ का खेलमा अस्ट्रेलिया, साबिक विजेता वेस्ट इन्डिज, इंग्ल्यान्ड र दक्षिण अफ्रिकालगायतले खेल्नेछन् । सुपर १२ का खेल अक्टोबर २३ देखि सुरु हुनेछ ।तर, समूह ‘दुई’ मा रहेका भारत र पाकिस्तानबीचको खेलले सबैको ध्यान आकर्षित गरेको छ । कश्मीर द्वन्द्वयता यी दुई प्रतिस्पर्धीले ट्वान्टी–२० विश्वकपमा एकपल्ट मात्र खेलेका छन् । दुई एसियाली महारथीबीच सन् २०१९ को एकदिवसीय विश्वकपमा भएको पछिल्लो भेट भारतले जितेको थियो । कुनै पनि फर्म्याटको विश्वकपमा पाकिस्तानलाई भारतले हराउन सकेको छैन ।
