
१९ कात्तिक, डडेल्धुरा । प्रधानमन्त्री देउवाले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने बताएका छन् । निर्वाचनपछि पनि अहिलेको सत्तारुढ गठबन्धनकै सरकार बनाउने भन्दै उनले धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने धारणा राखे । उनलेे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता आउँछ भनी प्रश्न गरेका छन् ।

शनिबार डडेल्धुरामा आयोजित कार्यक्रममा उनले प्रश्न गरे, ‘केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ?, प्रधानमन्त्री देउवाले कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने र त्यसका लागि भारतसँग कुरा गर्ने बताए ।देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापना र विमानस्थल बनाउने घोषणा गरेका छन् । ‘गर्भवतीले उपचार नपाएर ज्यान गुमाउनु पर्दैन, मेडिकल पढाइ पनि यही हुन्छ’, देउवाले भने, ‘विमानस्थलका विषयमा सम्भाव्यता अध्ययन गरिने र जहाज ल्याएरै छोडिनेछ ।’ डडेल्धुराको धेरै विकास भइसकेको बताउँदै उनले बाँकी काम पनि आफूले गर्ने प्रतिवद्धता व्यक्त गरे ।