Fast Nepal News

सुखीहरूको गाउँ ‘घलेगाउँ’

गुरुङ जातिको कर्मकाण्ड, वेद तथा अन्य शास्त्र सिक्ने र सिकाउने पाठशाला ‘क्होइँबो’ पनि यहाँ निर्माण गरिएको छ ।

banner single news

काजोल गुरुङ, लमजुङ । ‘मैले जन्मेर हुर्केको गाउँ, मैले घाँसदाउरा गरेको गाउँ
स्वर्गभन्दा प्यारो लाग्छ मेरो घलेगाउँ’ (तेजबहादुर घिगाल, गणेश गुरुङ र रिमा गुरुङ)

शिरमा सेतो हिमाल, मध्य भाग जङ्गल अनि फेदमा घलेहरूको बाहुल्य–घलेगाउँ विविधताको सङ्गम हो । प्रकृतिले सिँगारिदिएको र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण घलेगाउँ अहिले लमजुङको सुखी गाउँका रूपमा परिचित बन्दै छ । पर्यटकलाई खुसी बनाउँदै पर्यटकीय सत्कारमा रमाउन थालेका यहाँका बासिन्दा यतिबेला मापदण्ड पूरा गर्दैे गाउँलाई नै सुखी गाउँ बनाउन लागिपरेका छन् ।
जिल्लामा सबैभन्दा बढी पर्यटक यसै गाउँमा आउँछन् । मुलुकमा जनान्दोलनपछि आन्तरिक पर्यटकको वृद्धि हुन थालेपछि घलेगाउँबासी खुसीले गद्गद् छन् । उनीहरू पर्यटकका लागि रातदिन नभनी मेहनत गर्छन् जसको पहिलो प्राथमिकता भनेकै गाउँमा आएका पर्यटकलाई खुसी बनाउनु हो । क्ह्वालासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेका नेतृत्वमा अघि बढ्दै आगामी वैशाख २ गते गाउँलाई ‘सुखी घलेगाउँ’ घोषणा गर्ने तयारीमा गाउँबासी लागेका छन् ।

पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुरका अनुसार सडक, खानेपानी, स्वास्थ्य र शिक्षा केही नभएको गाउँलाई कसरी सुखी बनाउन सकिन्छ भनेर आफूले दुई दशकअघि सोचेको योजना अहिले पूरा हुन लागेको बताउनुभयो । “म भारतीय सेनामा भर्ती हुन पुगेर पनि गाउँ फर्केँ । स्याङ्जा जिल्लाको सिरुबारीका घरमा पाहुना राख्ने र गाँस र बास दिएबापत पैसा लिने गरेको सुनेँ । के कसरी रहेछ भन्ने जिज्ञासाले अध्ययन गर्न त्यहाँ पुगेँ र मैले पनि गाउँमा पाहुना राख्ने र गाउँलेलाई दुईचार पैसाको मुख देख्न सक्ने बनाउने योजना बुनेँ,” उहाँले भन्नुभयो ।

घले, गुरुङ र दलित समुदायको बसोबास रहेको घलेगाउँमा १२५ घर रहेकामा प्रतिघरको वार्षिक आम्दानी सरदर रु पाँचदेखि छ लाख र रु एक लाखदेखि डेढ लाखसम्म वार्षिक बचत हुने गरेकाले र मापदण्ड पूरा गरेकाले गाउँलाई सुखी गाउँ घोषणा गर्न लागिएको समितिको कार्यालय सचिव दीर्घराज घलेले जानकारी दिनुभयो । “घरमै बसीबसी आम्दानी भएपछि हामी सबै खुसी र सुखी छौँ”, उहाँले भन्नुभयो । विसं २०५७ वैशाख २३ गते ‘प्रथम घलेगाउँ महोत्सव’ गरी नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ का रूपमा अघि बढ्दै गरेको घलेगाउँका १२ घरमा सुरुमा पर्यटन प्रयोजनका लागि घरबास कार्यक्रम स्थापना भई प्रचारप्रसार भएपछि विसं २०५८ वैशाखमा ‘घलेगाउँ कला महोत्सव’ आयोजना गरिएको थियो । मान्छेहरूको भीडभाड हुने भएकाले सुरुमा तत्कालीन द्वन्द्वमा संलग्न माओवादीहरूले कार्यक्रम गरेको प्रति आपत्ति जनाएकामा पछि पर्यटन प्रवद्र्धनबारे कुरा बुझेपछि कुनै रोकतोक नभएको समितिका अध्यक्ष प्रेमबहादुरले बताउनुभयो । पछि बिस्तारै घलेगाउँमा पाहुना आउन थाले । प्रकृति, संस्कृति र रहनसहन देखाई गाउँमै उत्पादित खाद्य पदार्थ खुवाएर उनीहरूले आम्दानी गर्न थाले । बिस्तारै घलेगाउँबारे देशविदेशमा प्रचारप्रसार हुँदै गयो ।

Inside Article Ads

दक्षिण एसियाली राष्ट्रहरूको सङ्गठन (सार्क) स्थापनापछिको केही समयमै सुरुका सदस्य राष्ट्र हरेकमा नमुना ‘सार्क भिलेज’ घोषणा गरिएअनुसार नेपालको लमजुङ जिल्लाको उत्तरी भेगमा अन्नपूर्ण हिमालका काखमा अवस्थित क्होलासोथर गाउँपालिका वडा नं ३ स्थित ऐतिहासिक घलेगाउँलाई नेपालको नमुना ‘सार्क भिलेज’ मा छनोट गरिएको थियो । यहाँ सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायत आधारभूत सुविधा पुगेपछि विसं २०७५ पुस १० गते ‘स्मार्ट भिलेज’ अभियान सुरुआत गरिएकामा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७६ मङ्सिर १७ गते विधिवत् रूपमा नामकरण गरी शुभारम्भ गर्नुभएको थियो । गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेका रूपमा पनि यसलाई पुरस्कृत ग¥यो । घलेगाउँका बासिन्दा एवं घरबास पर्यटन सञ्चालक हेमकुमारी घलेले भन्नुभयो, “विगतमा यहाँका बासिन्दालाई दुईचार पैसाको मुख देख्नदेखि स्वास्थ्य शिक्षा, यातायात, खानेपानी, इन्टरनेटलगायत समस्या थियो तर अहिले सबै सुविधा उपलब्ध हुँदै गएकाले उनीहरू सुखी हुन थालेका छन् ।”

गाउँमा दैनिक आउने पर्यटकमार्फत आम्दानी भई यहाँका बासिन्दाको आयस्रोतमा वृद्धि हुँदै जाँदा तिनलाई पैसाको अभाव हुँदैन । यहाँका ९० प्रतिशत जनसङ्ख्यालाई आम्दानीका लागि अन्य दुःख गर्नै नपरेको अध्यक्ष प्रेमबहादुर बताउनुहुन्छ । अधिकांश वस्तु गाउँमै उत्पादन हुन्छ । समितिका सचिव उमलबहादुर विकका अनुसार अन्य घरका बासिन्दाले भने पर्यटकलक्षित व्यापार–व्यवसाय गरेका छन् । स्थानीयवासीले निगालोको चोया, भेंडाको ऊन, अल्लोबाट हस्तकलाका सामग्री तयार गरेर बिक्रीवितरण गर्ने छन् । घरबासमा आएका पर्यटकले ती वस्तु खरिद गरेबाट समेत थप आम्दानी भई आयस्रोत वृद्धि हुँदै गएको स्थानीयवासी बताउँछन् । पर्यटक वृद्धि हुँदै गएको घलेगाउँमा विसं २०७३ माघ २२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले परम्परागत गुरुङ सङ्ग्रहालय उद्घाटन गरेपछि झन् बढी पर्यटक पुग्न थालेका छन् । घरबास सञ्चालकले घरमै बसीबसी पर्यटक आगमन हुँदा महिनामै रु ४० देखि रु ७० हजार आम्दानी गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारले घलेगाउँको प्रवर्ध्दनका लागि आव २०७५÷७६ मा रु २९ लाख ४६ हजार र क्ह्वालासोथर गाउँपालिकाले रु १५ लाख विनियोजन गरेका थिए ।
पर्यटन व्यवसायबाट गाउँलेले बर्सेनि करोडौँ रुपियाँ आम्दानी गर्दै परिवारको भविष्य बनाउनेदेखि गाउँको विकासमा टेवा पु¥याएका छन् । बाइसे–चौबिसे राज्यकालमा घले राजाले यस ठाउँमा शासन गरेका थिए । स्थानीयवासीका अनुसार घले राजाले शासन गरेको र घले जातिको बाहुल्य भएकाले गाउँको नाम नै घलेगाउँ रहन गएको हो । सात सय वर्ष पुरानो मानिएको घलेगाउँलाई गुरुङ भाषामा ‘कोइम्ली’ भनिन्छ । यहाँ अन्तिम राजा क्याल्बोरोजा क्लेको सालिक निर्माण गरिएको छ । गुरुङ जातिको कर्मकाण्ड, वेद तथा अन्य शास्त्र सिक्ने र सिकाउने पाठशाला ‘क्होइँबो’ पनि यहाँ निर्माण गरिएको छ ।

Visited 38 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.