
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सूचना, सञ्चार तथा यातायात मन्त्री शिवराज जोशीले दलभित्र पुस्तान्तरणको आवश्यकता औंल्याउँदै पुराना नेताले विश्राम लिएर नयाँ पुस्तालाई अवसर दिनुपर्ने सुझाव दिएका छन् ।
जोशीले बेलायतमा केही वर्ष अघि प्रधानमन्त्री ऋषि सुनकको नेतृत्वमा भएको पार्टी पराजयपछिको उदाहरण दिँदै भने, “सुनकले हारपछी पार्टीका सम्पूर्ण पदबाट राजीनामा दिएर राजनीतिबाट बिश्राम लिन सके। तर, नेपालमा लज्जास्पद अवस्थासम्म आइपुग्दा पनि नेताहरूले विश्राम लिन चाहँदैनन्। अब नेता, उपनेता र पदाधिकारी सबैले जिम्मेवारी हस्तान्तरण गरेर नयाँ पुस्तालाई अगाडि ल्याउन जरुरी छ।”
जोशी नेपाली कांग्रेसका पुराना नेता हुन् । नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा उनि पटक–पटक जेल समेत पुगेका थिए भने लोकतन्त्र रक्षाका लागि सडक संघर्षमा सक्रिय भूमिका निर्वाह गरेका थिए। युवावस्थामै तीन पटक मन्त्री बनेका जोशी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका निकट मानिन्थे।
जोशीले मन्त्रीकालमा कुनै प्रकारको लबिङ वा साँठगाँठ नगरी आफ्नो भागमा परेको जिम्मेवारी सहज ढंगले निर्वाह गरेको स्मरण गर्दै दलभित्र रूपान्तरण र पुस्तान्तरणबारे निरन्तर आवाज उठाउँदै आएका छन् । जोशी तिनै व्यक्ति हुन्, जसले २०७० मा सभापति सुशील कोइराला हुँदा संविधान सभा निर्वाचनका लागि आफ्नो भागमा समानुपातिक सांसद पद पर्दा पनि अरूलाई नै हस्तान्तरण गरेका थिए । केन्द्रिय सदस्यदेखी तत्कालीन कांग्रेस सरकारमा छँदा संसदीय दलका मुख्य सचेतक समेत रहेका उनले पार्टीबाट विश्राम लिइसकेका छन् भने रुपान्तरण र पुस्तान्तरणको बहस चलाइरहेका छन् ।