
१५ फागुन, काठमाडौं । सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको छ । नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको हाे।
सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो । तर एमालेले आफू १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो ।
राष्ट्रपति निर्वाचनमा सहमति हुन नसकेपछि अधैर्यतापूर्वक निर्णय नगर्ने भनेर आफूहरुले सरकारमा रहेका काम गर्ने सोच बनाएको भए पनि प्रधानमन्त्रीले एमाले र एमालेका मन्त्रीहरुका सन्दर्भमा दिएको अभिव्यक्ति र व्यवहारका कारण सरकार छाड्ने निर्णयमा पुगेको उपाध्यक्ष विष्णु पौडेलले बताए ।
‘मन्त्रिपरिषदको निर्णयको आधारमा जेनेभा जान लाग्नु भएका परराष्ट्रमन्त्रीलाई अन्तिम क्षणमा अकारण नजान निर्देशन गर्नु भएको छ,’ पौडेलले भने, ‘हामीलाई सरकार छाड्न, नभए उहाँले हटाउने वा विना विभागीय मन्त्री बनाउने अभिव्यक्ति दिनुभएपछि सरकारमा रहिरहन उचित देखेनौं ।’
सचिवालयको बैठकले तत्काल संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको उनले बताए ।
