
काठमाडौं । क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय सानेपा पुगेर अनशन बसेका जिल्ला सभापतिलाई माग पूरा भइसकेको जानकारी गराएका थिए । क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले त्यसपछि अनशन अन्त्य गरेका छन् ।उनीहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका लागि बनाइएको दोहोरो मापदण्ड हटाई एउटै बनाउनुपर्ने र क्रियाशील सदस्यता विवाद मापदण्ड अनुसार अन्त्य गर्नुपर्ने माग राखेर अनशन शुरु गरेका थिए ।
जिल्ला सभापतिहरुको अनशन अन्त्यका लागि शनिबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेका थिए ।
नेता सिटौलाले सबै माग पूरा भइसकेको भन्दै जिल्ला सभापतिहरुलाई महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेपछि रिले अनशनमा बसेका जिल्ला सभापतिले अनशन तोडेका हुन् ।
मंगलबारदेखि पौडेल पक्षका जिल्ला सभापतिहरुले शुरु गरेको रिले अनशन अन्तर्गत शनिबार काठमाडौं, उदयपुर र संखुवासभाका जिल्ला सभापति रिले अनशनमा थिए ।
छलफलले जिल्ला सभापतिहरुले राख्ने सबै माग पूरा गर्ने सहमति भएपछि नेताहरु सिटौला, रिजाल र लेखक पार्टी कार्यालय पुगेका थिए ।
