
[pl_row]
[pl_col col=12]
[pl_text]
विज्ञ भन्छन्– ‘सेनिटाइजर नै चाहिँदैन, साबुनपानीले मिचीमिची हात धोए हुन्छ ।’
काठमाडौँ — भाद्र १२, २०७७।
बजारमा पाइने विभिन्न ब्रान्ड र लेबल नै नभएका सेनिटाइजरमध्ये ५५ प्रतिशत मात्रै प्रभावकारी रहेको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) को विज्ञान संकायअन्तर्गत वातावरण अनुसन्धान प्रयोगशालामा काठमाडौं उपत्यकामा पाइने सेनिटाइजरको प्रभावकारिता परीक्षण गर्दा यस्तो नतिजा देखिएको हो ।
‘बजारमा आएका सेनिटाइजरले निश्चित समयभित्र रोगकारक कीटाणु (ब्याक्टेरिया) मार्न वा तिनको वृद्धि रोक्न सक्छ/सक्दैन भनेर जाँच गरेका थियौं,’ नास्टकी वैज्ञानिक डा. टिस्टा प्रसाईं जोशीले भनिन्, ‘संकलित नमुनामध्ये ५५ प्रतिशत मात्रै प्रभावकारी देखिए ।’
बजारबाट सेनिटाइजरका २१ फरक नमुना लिएर नास्टले परीक्षण गरेको थियो । जसमा नेपालसहित भारत र चीनको उत्पादन पनि समावेश थियो । निम, घिउकुमारी र लसुनलगायत मिसाएर बनाइएको सेनिटाइजरको पनि जाँच गरिएको जोशीले बताइन् । त्यस्ता सेनिटाइजर प्रभावकारी देखिए पनि गन्हाउने तथा लामो समयसम्म हातमै रहिरहने समस्या देखिएको छ । ‘हर्बल प्रोडक्ट प्रभावकारी देखिए पनि ‘मास प्रोडक्सन’ गर्दा ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘यसमा उत्पादकहरूले फिजिबिलिटी अध्ययनमा ध्यान दिनुपर्छ ।’ अल्कोहलको मात्रा बढी भएको सेनिटाइजर प्रभावकारी हुने उनले बताइन् ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार घरेलु मदिराको प्रयोग गरेर नास्टले आफैं पनि सेनिटाइजर तयार पारेको छ । बजारमा पाइएका नमुनासँगै परीक्षण गर्दा त्यसको प्रभावकारिता राम्रो पाइएको नास्टको भनाइ छ । ‘रोगका कारक सूक्ष्मजीव हटाउन वा मार्न सेनिटाइजर नै नभई नहुने भन्ने होइन । साबुनपानीले मिचीमिची हात धोए पनि हुन्छ,’ उनले भनिन्, ‘जहाँ पानी पाइँदैन त्यहाँ सेनिटाइजर विकल्प हो । तर त्यसको गुणस्तरबारे जानकार हुनैपर्छ ।’
औषधि व्यवस्था विभागले हाल ४० वटा स्वदेशी उद्योगलाई सेनिटाइजर उत्पादन गर्न अनुमति दिएको छ । विभागले स्वदेशमा उत्पादित सेनिटाइजरको गुणस्तरबारे बुझ्न उद्योगहरूमा अनुगमन पनि गरेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । तर कोरोना महाव्याधिसँगै भारतलगायत विभिन्न मुलुकबाट आयातित सेनिटाइजरले स्वदेशी उत्पादनभन्दा धेरै बजार लिएका छन् । तिनको गुणस्तरका सवालमा भने विभाग मौन छ ।
गत वैशाखयता मापदण्ड पूरा नगरी सेनिटाइजर उत्पादन र बिक्री गर्ने तीनवटा उद्योगलाई विभागले कारबाही गरेको छ । सूचना अधिकारी केसीका अनुसार वीरगन्ज र उपत्यकाका दुईवटा उद्योग कारबाहीमा परेका हुन् । केही व्यवसायीले मिथानोल हालेर सेनिटाइजर बनाएको पाइएपछि विभागले कारबाही गरेको थियो । त्यसपछि विभागले अनुगमन गरेको छैन ।
के छ मापदण्ड ?
प्रायः एक सय एमएलको सेनिटाइजरमा ८० एमएल इथानोल र बाँकी २० एमएलमा पानी, हाइड्रोजन पेरोक्साइड र ग्लिसिरोल हुन्छ । हाड्रोजन पेरोक्साइड सेनिटाइजरमा ब्याक्टेरियाको कन्टामिनेसन नहोस् भनेर प्रयोग गरिन्छ भने ग्लिसिरोलले मोस्चराइजरका रूपमा काम गर्छ । यी कम्पाउन्डको प्रयोगलाई अनिवार्य गरिएको छ ।
सेनिटाइजर तयार गरेपछि उद्योगले पुनः यसको गुणस्तर परीक्षण गरेर मात्रै बजारमा लैजान पाइने मापदण्डमा छ । यसमा उपयुक्त लेबल र ढुवानी गर्दार्का मापदण्डलाई पनि अनिवार्य गरिएको छ । सेनिटाइजरमा कुनै पनि किसिमका हानिकारक तथा सूक्ष्म जीवको गतिविधि नदेखिने किसिमको हुनुपर्ने, गन्धमा ख्याल गर्नुपर्ने र यो तरल वा जेल अवस्थामा मात्रै उत्पादन गर्न पाइने नियम छ ।
अब स्वदेशमै उत्पादित सेनिटाइजरले नै माग पूरा गर्ने नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायण क्षेत्री बताउँछन् । ‘नेपाली उद्योगहरूले गुणस्तर मेन्टेन गर्ने हो भने अब बाहिरबाट आयात गर्नुपर्ने अवस्था होइन,’ उनले भने, ‘सेनिटाइजर उत्पादनका लागि चाहिने कच्चा पदार्थ पनि स्वदेशमै पुग्ने अवस्था भइसकेको छ ।’
मास्क र ग्लोब्सको छैन अनुगमन
सेनिटाइजरबारे औषधि व्यवस्था विभाग र नास्टसम्मको ध्यानाकर्षण भए पनि कोरोना महाव्याधिले बढाएको मास्क र ग्लोब्सको बिक्री सरकारी निकायको आँखामा परेको छैन । निर्धारित मूल्यभन्दा बढीमा बिक्री भएका मास्क बेलाबेला बरामद गरिए पनि त्यसको गुणस्तरबारे अध्ययन भएको छैन । सेनिटाइजर जसरी नै मास्क र ग्लोब्स पनि संक्रमणबाट सुरक्षित रहने सामग्री छन् ।
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मास्क तथा ग्लोब्सको मापदण्ड तयार गरे पनि यी वस्तुहरू अहिले स्वयंसेवाका रूपमा उत्पादन भइरहेको बताए ।
(कान्तिपुर दैनिक)
[/pl_text]
[/pl_col]
[/pl_row]