Fast Nepal News

श्रमिकको शवमा पनि ठगी

विदेशमा पसिना बगाएर देश चलाउन ‘रेमिट्यान्स’ पठाउने श्रमिक वैदेशिक रोजगारीमा जाँदा मात्रै ठगिँदैनन्, रोजगारीका क्रममा ज्यान गुमाएकाको शवमाथि पनि दलालहरूले गिद्धेदृष्टि राख्छन्, मृतकका परिवारले पाउने सहायता रकममा दलालले कमिसन खाने र बिमाबापतको रकममा बिमा कम्पनीले ठगी गर्छन्

banner single news

२४ माघ, काठमाडौँ-वैदेशिक रोजगार बोर्डबाट पाउने रकममा कमिसन खान दाङकी रविना घर्तीमगरको घरमै पुगे दलाल

पति गंगाबहादुरको मृत्युपछि वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीबाट पाउने क्षतिपूर्ति रकम उपलब्ध गराइदिने भन्दै दलालहरूले रविनालाई काठमाडौं ल्याए । बोर्डबाट पाउने सात लाखबाट दुई लाख र बिमा कम्पनीले भुक्तानी गर्ने १४ लाखबाट पाँच लाख कमिसन खाने उनीहरूको योजना थियो । सबै तयारी साथ उनीहरूले रविनालाई खाता खोल्न बैंकसम्म पनि पुर्‍याइसकेका थिए । तर, त्यही वेला आएको एउटा फोनमा ती व्यक्तिहरू दलाल भएको र ठग्न खोजेको सूचना पाएपछि उनी खाता नखोली उम्किएर घर फर्किन् ।

साउदीमा ज्यान गुमाएका सप्तरी धनगढीका जितेन्द्र मण्डलकी श्रीमती अनितामाथि बिमा कम्पनीको ठगी : १४ लाख पाउनुपर्ने, आठ लाख ७० हजार मात्र भुक्तानी

दुई वर्षअघि छरछिमेकसँग ऋण लिएर उहाँ वैदेशिक रोजगारीका लागि साउदी अरब जानुभएको थियो । परिवारको एक मात्र आर्थिक आधार उहाँ नै हुनुहुन्थ्यो । तर, २१ मंसिर ०७८ मा दुई चिचिला छोराछोरी र मलाई एक्लो बनाएर उहाँको जानुभयो, परदेशमै निधन भयो । वैदेशिक रोजगारीको प्रक्रियाअनुसार उहाँले सिटिजन्स इन्स्योरेन्स कम्पनीबाट वैदेशिक रोजगारी म्यादी जीवन बिमा गर्नुभएको थियो । उहाँको मृत्युपछि बिमा कम्पनीबाट पाउनुपर्ने १४ लाख माग गर्न कन्चनरूप शाखा कार्यालयमा पुगेँ । तर, कम्पनीका हाकिमले हरेकपटक कागजात पुगेन भन्दै फर्काइदिए । ११औँपटकमा कम्पनीले आठ लाख ७० हजारको मात्रै चेक दियो । १४ लाखमा पाँच लाख ३० हजार काटेको छ । पूरै पैसा दिनुस् भन्दा बिमाका कर्मचारीले मानेनन् । बाँकी पैसा बिमा कम्पनीले केका लागि काटेको भन्ने मलाई थाहा छैन । कम्पनीले मेरो बिमा गरिदिएको बताए पनि कुनै प्रमाण दिएको छैन । गरिदिएकै भए पनि मेरो इच्छाविपरीत गर्न पाइन्छ र ?

…                                                    …

रोजगारीका लागि कुवेत गएका दाङको घोराही उपमहानगरपालिका– १३ सेवारका २६ वर्षीय गंगाबहादुर घर्तीमगर गत साउनमा कम्पनीले दिएको छुट्टीमा घर आएका थिए । २७ साउनको राति खाना खाएर सुतेका उनी बिहान उठेनन् । नौ महिनाको छोरा र २१ वर्षीया श्रीमती रविनालाई छाडेर उनी सधैँका लागि बिदा भए ।

Inside Article Ads

श्रीमानकाे अन्तिम संस्कारको काम सकेपछि रविना संघर्षका पहाड सम्झिएर सुस्ताउँदै थिइन् । असोजको अन्तिमतिर दुई अपरिचित उनको घरमै पुगे । उनीहरूले रविनालाई गंगाबहादुरले सरकारबाट सहायता रकम पाउने सुनाए । कमाइ गरेर पाल्ने श्रीमान्को देहावसान भए पनि उनकै नाममा सरकारबाट आर्थिक सहयोग पाउने सुनेर रविनालाई केही राहत महसुस भयो । ती व्यक्तिले सहायता प्राप्त गर्न काठमाडौं जानुपर्ने पनि बताए । रविना दुई दाइ र जेठानीसमेत साथमा लिएर काठमाडौं आइन् । काठमाडौं आएपछि ती दुई व्यक्तिले ‘वैदेशिक रोजगार बोर्डले दिने सात लाख रुपैयाँबाट दुई लाख र बिमा कम्पनीले भुक्तानी गर्ने १४ लाखबाट पाँच लाख आफूहरूलाई दिनुपर्ने’ प्रस्ताव राखेको रविनाले बताइन् ।

भोलिपल्ट दलालहरूसँगै रविना वैदेशिक रोजगार बोर्ड पुगिन् । बोर्डले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न पठायो, नयाँ बानेश्वरस्थित बैंकको शाखामा पुगिन् । त्यही वेला उनलाई ‘सामी कार्यक्रम’ दाङकी संयोजक बसान्ता पुनको फोन आयो । रविनालाई दलालहरूले फसाउन लागेको सूचना पाएकी बसान्ताले त्यसबारे जानकारी गराउँदै तुरुन्त दाङ फर्किन सल्लाह दिइन् ।

‘बसान्ताको फोनपछि छाँगाबाट खसेझैँ भएँ । कतै दलालले ज्यान नै लिने पो हो कि भन्ने पनि डर लाग्यो,’ रविनाले भनिन्, ‘तर, उनीहरूसँग तत्काल कुनै प्रतिक्रिया नजनाई उम्किने सोच बनाएँ ।’ त्यसपछि उनले खाता खोल्न आनाकानी गरिन् । होटेलमा कागजपत्र छोडिएको बहाना बनाएर होटेल फर्किने निधो गरिन् । तर, उनी चढेको गाडीमा दलालहरू पनि चढे । ‘होटेलसम्म पुग्दा उनीहरूले पिछा गरे । होटेलको आफ्नो कोठामा छिरेपछि बाहिर निस्किनँ । उनीहरूलाई विभिन्न बहाना बनाउँदै आलटाल गरेँ,’ रविनाले घटनाबारे सुनाइन्, ‘भोलिपल्ट दाङ फर्किएँ ।’

समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.