
२४ माघ, काठमाडौँ-वैदेशिक रोजगार बोर्डबाट पाउने रकममा कमिसन खान दाङकी रविना घर्तीमगरको घरमै पुगे दलाल
पति गंगाबहादुरको मृत्युपछि वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीबाट पाउने क्षतिपूर्ति रकम उपलब्ध गराइदिने भन्दै दलालहरूले रविनालाई काठमाडौं ल्याए । बोर्डबाट पाउने सात लाखबाट दुई लाख र बिमा कम्पनीले भुक्तानी गर्ने १४ लाखबाट पाँच लाख कमिसन खाने उनीहरूको योजना थियो । सबै तयारी साथ उनीहरूले रविनालाई खाता खोल्न बैंकसम्म पनि पुर्याइसकेका थिए । तर, त्यही वेला आएको एउटा फोनमा ती व्यक्तिहरू दलाल भएको र ठग्न खोजेको सूचना पाएपछि उनी खाता नखोली उम्किएर घर फर्किन् ।
साउदीमा ज्यान गुमाएका सप्तरी धनगढीका जितेन्द्र मण्डलकी श्रीमती अनितामाथि बिमा कम्पनीको ठगी : १४ लाख पाउनुपर्ने, आठ लाख ७० हजार मात्र भुक्तानी
दुई वर्षअघि छरछिमेकसँग ऋण लिएर उहाँ वैदेशिक रोजगारीका लागि साउदी अरब जानुभएको थियो । परिवारको एक मात्र आर्थिक आधार उहाँ नै हुनुहुन्थ्यो । तर, २१ मंसिर ०७८ मा दुई चिचिला छोराछोरी र मलाई एक्लो बनाएर उहाँको जानुभयो, परदेशमै निधन भयो । वैदेशिक रोजगारीको प्रक्रियाअनुसार उहाँले सिटिजन्स इन्स्योरेन्स कम्पनीबाट वैदेशिक रोजगारी म्यादी जीवन बिमा गर्नुभएको थियो । उहाँको मृत्युपछि बिमा कम्पनीबाट पाउनुपर्ने १४ लाख माग गर्न कन्चनरूप शाखा कार्यालयमा पुगेँ । तर, कम्पनीका हाकिमले हरेकपटक कागजात पुगेन भन्दै फर्काइदिए । ११औँपटकमा कम्पनीले आठ लाख ७० हजारको मात्रै चेक दियो । १४ लाखमा पाँच लाख ३० हजार काटेको छ । पूरै पैसा दिनुस् भन्दा बिमाका कर्मचारीले मानेनन् । बाँकी पैसा बिमा कम्पनीले केका लागि काटेको भन्ने मलाई थाहा छैन । कम्पनीले मेरो बिमा गरिदिएको बताए पनि कुनै प्रमाण दिएको छैन । गरिदिएकै भए पनि मेरो इच्छाविपरीत गर्न पाइन्छ र ?
… …
रोजगारीका लागि कुवेत गएका दाङको घोराही उपमहानगरपालिका– १३ सेवारका २६ वर्षीय गंगाबहादुर घर्तीमगर गत साउनमा कम्पनीले दिएको छुट्टीमा घर आएका थिए । २७ साउनको राति खाना खाएर सुतेका उनी बिहान उठेनन् । नौ महिनाको छोरा र २१ वर्षीया श्रीमती रविनालाई छाडेर उनी सधैँका लागि बिदा भए ।
श्रीमानकाे अन्तिम संस्कारको काम सकेपछि रविना संघर्षका पहाड सम्झिएर सुस्ताउँदै थिइन् । असोजको अन्तिमतिर दुई अपरिचित उनको घरमै पुगे । उनीहरूले रविनालाई गंगाबहादुरले सरकारबाट सहायता रकम पाउने सुनाए । कमाइ गरेर पाल्ने श्रीमान्को देहावसान भए पनि उनकै नाममा सरकारबाट आर्थिक सहयोग पाउने सुनेर रविनालाई केही राहत महसुस भयो । ती व्यक्तिले सहायता प्राप्त गर्न काठमाडौं जानुपर्ने पनि बताए । रविना दुई दाइ र जेठानीसमेत साथमा लिएर काठमाडौं आइन् । काठमाडौं आएपछि ती दुई व्यक्तिले ‘वैदेशिक रोजगार बोर्डले दिने सात लाख रुपैयाँबाट दुई लाख र बिमा कम्पनीले भुक्तानी गर्ने १४ लाखबाट पाँच लाख आफूहरूलाई दिनुपर्ने’ प्रस्ताव राखेको रविनाले बताइन् ।
भोलिपल्ट दलालहरूसँगै रविना वैदेशिक रोजगार बोर्ड पुगिन् । बोर्डले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्न पठायो, नयाँ बानेश्वरस्थित बैंकको शाखामा पुगिन् । त्यही वेला उनलाई ‘सामी कार्यक्रम’ दाङकी संयोजक बसान्ता पुनको फोन आयो । रविनालाई दलालहरूले फसाउन लागेको सूचना पाएकी बसान्ताले त्यसबारे जानकारी गराउँदै तुरुन्त दाङ फर्किन सल्लाह दिइन् ।
‘बसान्ताको फोनपछि छाँगाबाट खसेझैँ भएँ । कतै दलालले ज्यान नै लिने पो हो कि भन्ने पनि डर लाग्यो,’ रविनाले भनिन्, ‘तर, उनीहरूसँग तत्काल कुनै प्रतिक्रिया नजनाई उम्किने सोच बनाएँ ।’ त्यसपछि उनले खाता खोल्न आनाकानी गरिन् । होटेलमा कागजपत्र छोडिएको बहाना बनाएर होटेल फर्किने निधो गरिन् । तर, उनी चढेको गाडीमा दलालहरू पनि चढे । ‘होटेलसम्म पुग्दा उनीहरूले पिछा गरे । होटेलको आफ्नो कोठामा छिरेपछि बाहिर निस्किनँ । उनीहरूलाई विभिन्न बहाना बनाउँदै आलटाल गरेँ,’ रविनाले घटनाबारे सुनाइन्, ‘भोलिपल्ट दाङ फर्किएँ ।’
समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।
