
पर्वत — १३ फागुन २०७८
पर्वत , साँघुरो र अँध्यारो कोठा । भित्ताको सानो खोपीमा हाजिरी रजिस्टरसहित महत्त्वपूर्ण कागजात राखिएको छ । भुइँमा कार्पेट बिछ्याइएको छ । चारतिर फर्केर बसेका विद्यार्थी । शिक्षक र बालशिक्षिका एउटै कोठामा एकैसाथ पढाइरहेका छन् । एउटाले पढाउँदा अर्कोले विद्यार्थीलाई कक्षाकर्म गर्न लगाउँछन् । ससाना विद्यार्थीको होहल्ला उत्तिकै छ । मोदी–६ दोबिल्लास्थित हरि प्राविको भवन गत भदौ १८ मा माथिबाट आएको पहिरोले नामोनिशानै नरहने गरी पुरिदियो । कोठा अभावमा बालकक्षादेखि ३ कक्षासम्मका सबै विद्यार्थी एकै ठाउँमा राखेर पढाउन बाध्य भएका हुन शिक्षक । त्यही कोठा पनि एक अभिभावकले निःशुल्क उपलब्ध गराएका हुन् । ‘निकै कष्टसाथ बाबुनानीलाई पढाउनुपरेको छ’ शिक्षिका (प्रधानाध्यापक) सीता पौडेलले भनिन, ‘शिक्षण सिकाइमा बाधा पुगेको भए पनि निरन्तरता दिएका छौ ।’
भदौ १८ को दिउँसो साढे ३ बजे पहिरोले ४ कोठे स्कुलको भवन र शौचालय बगाएको थियो । उक्त दिन शुक्रबार भएकाले १ बजे नै विद्यालय बन्द भयो । विद्यालय समयमै भएको भए ठूलो क्षति हुने उनले बताइन् । त्यसपछि विद्यालय सहयोगी रचना केसी क्षेत्रीको घरमा साढे २ महिनासम्म पढाइयो । तर उपयुक्त स्थान नभएकाले साँघुरो भए पनि अभिभावक छविलाल प्रधानको घरको कोठामा सारिएको पौडेलले बताइन् । ३ कक्षामा पढ्ने रिहाना प्रधानले पहिला डेस्क र बेन्चमा पढ्दा सजिलो हुने बताइन । ‘अहिले त कस्तो गाह्रो भएको छ,’ उनले भनिन्, ‘सबै जना एकै ठाउँमा बसेर पढ्दा समस्या भएको छ । छिट्टै स्कुल बनिदिए राम्रोसँग पढ्न पाइन्थ्यो ।’ दरबन्दी दुई जनाको भए पनि एक मात्रै शिक्षक सीता पौडेल कार्यरत छिन् । साथै विद्यालयमा एक जना बालशिक्षिका नविना रोका र अर्को एक जना विद्यालय सहयोगी रचना केसी क्षेत्री छन् । बालकक्षामा ६ विद्यार्थी छन् । कक्षा १ मा ४, २ र ३ कक्षामा ३/३ जना छन् । तर पहिरोले ४ जना विद्यार्थी अहिले विद्यालय आउन सकेका छैनन् ।
विद्यालय २०४४ मा स्थापना भएको हो । मोदी र रती खोलाको बीचमा रहेको दोबिल्ला तत्कालीन समयमा व्यापारिक केन्द्र रहेकाले चहलपहल निकै हुन्थ्यो । विद्यालयमा विद्यार्थी पनि धेरै थिए । तर वारिपारिबाट मोटरबाटो विस्तार भएपछि चहलपहल हराउँदै गयो । स्थानीय विस्थापित हुन थालेपछि जनसंख्या कम भयो । ३ कक्षासम्म पढाइ हुने विद्यालयमा १४ विद्यार्थी थिए । सोही दिनको पहिरोले पैदलमार्ग नै बन्द भएपछि गाडताराबाट आउने ४ विद्यार्थी आउन पाएनन् । अहिले २ विद्यार्थी थपिएर १२ पुगेका छन् । उनीहरू भने नियमित विद्यालय आउँछन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले साँघुरो कोठामा विविध समस्या भए पनि पढाउन नछाडेको बताए । ‘बालबालिकाले दुःख पाएका छन् । अब छिट्टै अर्को भवनमा सार्ने योजना छ,’ उनले भने । अहिले पहिरो गएको स्थानमा अर्को भवन बनाउन सक्ने अवस्था छैन । नजिकैको तत्कालिन गाउँ पञ्चायतको जीर्ण भवन मर्मत गरी विद्यालय सार्ने योजना उनले सुनाए । यसका लागि गाउँपालिकाबाट ५ लाख रुपैयाँ विनियोजन भएको छ ।
पञ्चायत भवन भएको ठाउँमा मन्दिर पनि रहेकाले पश्चिमतर्फबाट ढोका निकालेर मर्मत गर्ने योजना रहेको तर मुखैमा अजंगको ढुंगा परेकाले समस्या भएको छ । ढुंगा फुटाउन मात्रै लाखौ रुपैयाँ चाहिने केसीले बताए । ‘ढुंगाका कारण भवन मर्मतमा ढिलाइ भएको छ,’ उनले भने । विद्यालय निर्माण समिति अध्यक्ष चित्रसागर श्रेष्ठले ढुंगा फुटाउन प्राविधिकलाई देखाइसकिएको र फोडिनसाथ भवन मर्मत गरेर कक्षाकोठा बनाउने बताए । उनले भने, ‘गाउँपालिकाले दिएको रकम अपुग हुने निश्चित छ । कहाँ माग्न जाने अन्योलमा छौ ।’ मोदी गाउँ शिक्षा अधिकृत झकप्रसाद गौतमले भौगोलिक हिसाबले उक्त विद्यालय अन्यत्र मर्ज गर्न नसकिने बताए । ‘विद्यार्थी सुरक्षितसाथ बसेर पढ्न पाउनुपर्छ,’ उनले भने, ‘गाउँपालिकाले पठाएको ५ लाख रुपैयाँ अनुमानित स्रोत हो । नपुगे व्यवस्थापन गर्नुपर्छ ।’ यहाँबाट अन्यत्र विद्यालय जान कम्तीमा पनि ४५ मिनेट पैदल हिँड्नुपर्छ । जुन ससाना बालबालिकाका लागि सम्भव हुँदैन ।
( कान्तिपुर दैनिक )
