
विराटनगर — १४ माघ २०७८
विराटनगर , कोभिड–१९ संक्रमण सुरक्षाको कि स्वास्थ्यको समस्या ? पक्कै पनि यो स्वास्थ्यको समस्या हो । तर सुरुदेखि यसलाई सीमा र सुरक्षासँग बढी जोड्ने प्रयास गरियो । डरत्रास देखाएर नियन्त्रण गर्ने प्रयास भए । नागरिकले पनि यो स्वास्थ्य संकटमा आफ्नोभन्दा सुरक्षा संयन्त्रको जिम्मेवारी बढी देख्यो । ‘लौरो देखाएर वा तर्साएर कोरोना नियन्त्रण गर्ने प्रयास भइरह्यो, यसले स्वास्थ्य र जनचेतनाको पक्षलाई गौण बनायो,’ समाजशास्त्री मुकेश सिंह भन्छन्, ‘पहिलो र दोस्रो चरणमा मोरङलगायत मुलुकका विभिन्न ठाउँमा लाठी जुलुस प्रदर्शन भयो, घरबाट निस्केकालाई बीच सडकमा घण्टौं बसाइयो, कान समाएर उठबस गर्न लगाइयो ।’ केन्द्र, प्रदेश, जिल्ला र स्थानीयस्तरमा रहेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र/समितिहरूमा स्वास्थ्य विज्ञभन्दा सुरक्षा अधिकारीलाई बढी महत्त्व दिएको देखिन्छ ।
दोस्रो दर्जामा वा प्राथमिकतामा नराखिँदा स्वास्थ्यकर्मीको काम गर्ने मनोबल खस्कियो । उनीहरूको भूमिकालाई थप फराकिलो बनाउनुपर्नेमा खुम्चाइयो ।‘छिमेकी मुलुकहरूमा समेत कोभिड सम्बद्ध समितिहरूको नेतृत्व स्वास्थ्य विज्ञहरूले गरिरहेका छन्,’ जनस्वास्थ्य विज्ञ डा. सुरेश मेहता भन्छन्, ‘यो सुरक्षाको नभएर निःसन्देह स्वास्थ्यको समस्या हो भन्ने सन्देश पनि यसबाट जान्छ, त्यहीअनुरूप योसँग लड्न नागरिकस्तरमा तयारी हुनुपर्छ भन्ने प्रभावकारी कार्यक्रम छिमेकीहरूले अगाडि बढाएको देखिन्छ ।’ स्वास्थ्य सावधानी नै कोरोनासँग लड्ने अन्तिम हतियार भएको नागरिकलाई बुझाउन नसक्दा वा उनीहरूले बुझ पचाउँदा समस्या उत्पन्न भइरहेको मेहता बताउँछन् । सार्वजनिक यातायात, अस्पताल र बजारमा सर्वसाधारणले अझै हेलचेक्य्राइँ गरिरहेका देखिन्छन् । यो कुनै देशको नभएर विश्वको समस्या हो भनेर बुझ्न नसक्दा पूर्वतयारी व्यवस्थापनमा स्थानीय निकायदेखि केन्द्रसम्म चुकेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत बताउँछन् ।
( कान्तिपुर दैनिक )
