Fast Nepal News

चार वर्षदेखि कागजमै अलपत्र ‘ई-हेल्थ’ सेवा

banner single news

काठमाडौँ — १९ पुस २०७८

काठमाडौँ , लकडाउनका कारण समयमा नियमित खोप नपुग्दा २०७७ जेठमा गोरखाको चेपाङ बस्तीमा दादुराको प्रकोप फैलियो । गोरखा र धादिङका दुई गाउँका १६० जनाभन्दा बढी प्रभावित भए । गोरखाको हुइलिङका एकै परिवारका तीन जनालाई बालबालिकालाई दादुरा भयो । गीता चेपाङका चार वर्षीय छोरा रविनलाई उच्च ज्वरो, बान्ता र पखाला लाग्यो । शिशु र गर्भवतीलाई नियमित दिइने बीसीजी, डीपीटी, हेपाटाइटिस बी, पोलियो, टिटानसलगायत ९ थरी नियमित खोप प्रत्येक वर्ष १ करोड ९३ लाख ७५ हजार डोज भित्रिन्छ । यी खोप समयमा लगाउन नपाए क्षयरोग, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टाकार, निमोनियाजस्ता रोग लाग्ने सम्भावना हुन्छ ।

  • चीनसँग सीमा जोडिएको दोलखाको विकट गाउँ लप्चीमा सरकारले समयमा खोप पुर्‍याउन सकेन । राजधानी तथा जिल्लाका सदरमुकाममा खोप अभियान चलिरहेका बेला यहाँका ४५ परिवार भने वञ्चित भए । भौगोलिक र प्राकृतिक विपत्तिकै कारण मनाङको नार्पाभूमि गाउँमा जेठमा कोभिडविरुद्धको खोप पुर्‍याउन नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्नुपर्‍यो । मर्स्याङ्दीको बाढीले गाउँ जोड्ने झोलुंगे पुल बगाएपछि हेलिकोप्टरबाट खोप पुर्‍याइएको थियो । यसअघि सदरमुकाम चामेबाट दुई दिन हिँडेर खोप लाने गरिन्थ्यो । अविरल वर्षाका कारण बाटो अवरुद्ध हुँदा उत्तरी गोरखाको चुमनुब्रीमा पनि साउनमा हेलिकोप्टरमार्फत कोरोना खोप पुर्‍याउनुपर्‍यो ।
  • गत भदौमा बैतडीको भटना स्वास्थ्य चौकीका अहेब रोहित धानुक र कार्यालय सहयोगी सिंहराज भट्टले बाढी आएको खोला जोखिमपूर्ण रूपमा तरेर बागा गाउँमा कोभिड–१९ विरुद्धको खोप पुर्‍याए । असारमा मुस्ताङको टुकुचे स्वास्थ्य चौकीका अहेब सविन खत्री र कोबाङ स्वास्थ्य चौकीका स्वास्थ्य सहायक लालबहादुर रोकायाले पनि ज्यानकै बाजी थापेर छाक्ताङ खोलाको बाढी तरेर गाउँसम्म खोप पुर्‍याए ।

स्वास्थ्य क्षेत्र प्रविधिमैत्री नहुँदा अत्यावश्यक स्वास्थ्य सेवा पुर्‍याउन स्वास्थ्यकर्मीले भोग्नुपरेका कष्टका केही उदाहरण हुन् यी । सरकारले चार वर्षअघि ल्याएको राष्ट्रिय ई–हेल्थ रणनीति कार्यान्वयन नहुँदा यस्ता समस्या विकराल बन्दै गएका छन् । यस्तै समस्यालाई सम्बोधन गर्न र बिरामीको उपचार सहज बनाउन स्वास्थ्य मन्त्रालयले तयार पारेको रणनीतिमा मोबाइल हेल्थ (विभिन्न रोगको जानकारीमूलक एप्स), ड्रोन प्रविधिमार्फत दुर्गम क्षेत्रमा औषधि, खोपलगायत स्वास्थ्य सामग्री ढुवानी, टेलिमेडिसिनमार्फत दुर्गमका बिरामीका उपचार, चिकित्सक र ग्रामीण स्वास्थ्यकर्मीबीच सम्पर्क विस्तार तथा अन्य प्रविधिमार्फत स्वास्थ्यकर्मी, बिरामीको उपचारलाई सहज बनाउने उल्लेख थियो । त्यस्तै मुलुकभरका स्वास्थ्य संस्थालाई पेपरलेस बनाउने उक्त रणनीतिको लक्ष्य थियो । चार वर्षसम्म कार्यान्वयनको खाका नबन्दा ई–हेल्थसम्बन्धी रणनीति अलपत्र परेको छ । स्वास्थ्य मन्त्रालयले ई–हेल्थको बढी उपयोग हुने कोभिड महामारीमा समेत कार्यनीति बनाउन सकेन ।

जबकि पछिल्ला केही वर्षमा फोन र इन्टरनेटको पहुँच उल्लेख्य मात्रामा विस्तार भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार कुल जनसंख्याको ९१ प्रतिशतको इन्टरनेटमा पहुँच छ । प्रविधिको पहुँचले यति व्यापकता पाइसक्दा पनि स्वास्थ्य सेवा परम्परागत ढंगले नै चलिरहेको छ । विश्व स्वास्थ्य संगठनले १६ वर्षअघि नै ई–हेल्थलाई परिभाषित गर्दै त्यस्तो विश्वव्यापी आवश्यकता औंल्याएको थियो । स्वास्थ्यविज्ञ डा. विन्ज्वला श्रेष्ठ भन्छन्, ‘बिजुली र इन्टरनेट पुगेको ठाउँमा स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन सकिन्छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा बिजुली र इन्टरनेट नपुगेको ठाउँमा सरकारले पुर्‍याउन पहल गर्नुपर्‍यो । उपकरण, डिभाइसलगायत आवश्यक भौतिक संरचना विकास गर्न ठूलो बजेट आवश्यक पर्छ । क्रमशः विस्तार गर्दै लैजाने योजना बनाउनुपर्‍यो ।’ उनले मोबाइल एप्सले विशेषगरी गर्भवतीलाई सरसल्लाह दिने र परिवार नियोजनका बारेमा जानकारी दिन सकिने बताइन् । ‘गर्भवतीलाई अस्पताल आइरहनुपर्ने झन्झटबाट मुक्ति मिल्छ,’ उनले भनिन्, ‘अहिले सरकार तालिम दिनमा सीमित छ । यस्ता समस्या सम्बोधन गर्न पनि ई–हेल्थ रणनीति कार्यान्वयनमा ढिलाइ गर्नु हुँदैन ।’  
 स्वास्थ्य विभागका कम्प्युटर इन्जिनियर प्रितेश सिंह पनि प्रविधिमैत्री स्वास्थ्य सेवाको खाँचो औंल्याउँछन् । उनका अनुसार ड्रोन र मोबाइल प्रविधि महँगो पनि छैन । ‘क्षमताअनुसार ड्रोनको मूल्यवृद्धि हुने हो, ५० हजारसम्म जाने पनि छन्,’ उनले भने, ‘बजेटभन्दा पनि राजनीतिक दलका नेता तथा उच्च पदमा बसेकाको इच्छाशक्ति हुनुपर्‍यो ।’ स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार पाइलट प्रोजेक्टका रूपमा सुरुमा एक/दुई ठूला अस्पतालमा लागू गर्न खोजिरहेको बताए । ‘त्यसका लागि दुई/तीनवटा सोफ्टवेयरको मोडल हेरिरहेका छौं,’ उनले भने, ‘कम्प्युटर सिस्टम र यसको क्षमता प्रत्येक वर्ष अद्यावधिक भइरहेको हुन्छ । त्यहीअनुसार डिभाइस पनि नयाँ खरिद गरिराख्नुपर्छ । यसले विद्युतीय प्रणाली विकास गर्न उपकरण, जनशक्ति, सफ्टवेयर प्रणालीको निरन्तरता दिन ठूलो बजेट आवश्यक पर्छ ।’ विज्ञहरूका अनुसार स्वास्थ्य संस्था पेपरलेस बनाउन दुई किसिमका सफ्टवेयर आवश्यक पर्छ । एउटा स्वास्थ्य संस्थाको आन्तरिक प्रयोजनका लागि, अर्को स्वास्थ्य संस्थाहरूबीचको सञ्जाल स्थापना गर्न । स्वास्थ्य विभागका कम्प्युटर इन्जिनियर सिंहका अनुसार यी कामका लागि इलेक्ट्रोनिकल मेडिकल रेर्कडर (ईएमआर) र इलेक्ट्रोनिकल हेल्थ रेर्कडर (ईएचआर) सफ्टवेयर प्रचलनमा हुन् । ‘ईएमआर अस्पतालहरूले छुट्टाछुट्टै आ–आफ्नो अस्पतालमा प्रयोग गर्ने हो, ईएचआर भने अस्पताल–अस्पतालबीच जोड्न प्रयोग हुने सफ्टवेयर हो, यो प्रणालीले रेफर भएर आएका बिरामीले कागजात बोकिराख्नुपर्दैन,’ उनले भने ।
Inside Article Ads

स्वास्थ्य संस्थालाई पेपरलेस बनाउन सकेमा शिशु जन्मेदेखि मृत्युसम्मको स्वास्थ्य उपचार विवरण थाहा पाउन सकिन्थ्यो तर मुलुकका प्रमुख अस्पताल नै पुरानै ढर्रामा सञ्चालन भइरहेका छन् । मुलुककै जेठो अस्पताल वीरको पछिल्लो अवस्थाबाट पनि धेरै कुरा प्रस्ट हुन्छ । अस्पतालमा बिरामीको सबै रेकर्ड फाइलमै राखिन्छ । पेपरलेस नहुँदा वीरमा उपचारका लागि आउने बिरामीको रेर्कडको हालत दयनीय छ । बिरामीको डाक्टर–चार्ट धूलोले छपक्कै भइसक्यो । प्रेस्क्रिप्सन, भर्ना, डिस्चार्जबारे लेखिएका कागजात धमिराले खान थालिसकेको छ । बिरामीले सेवन गरेको औषधि विवरण, पुराना रोग समेटिएका पेपर ढुसी परिसकेको छ । २०७२ को भूकम्पले रेकर्डर विभाग भत्केयता राष्ट्रिय ट्रमा सेन्टरको अन्डरग्राउन्डमा अस्पतालको डेढ लाखभन्दा बढी फाइललाई त्यत्तिकै फालिएको छ । थापाथलीको प्रसूतिगृहको अवस्था पनि उस्तै छ । सबैजसो रेकर्ड भद्रगोल छ । पाटन अस्पतालमा फाइल संख्या ९ लाख नाघ्यो । त्यहाँ २०४९ देखिका बिरामीका कागजात छन् । पोका बनाएर राखिएका फाइल कतिपय मक्किइसकेका छन् । अस्पतालले स्क्यान गरेर राख्न थालेको जनाएको छ । कान्ति बाल, टिचिङ, सहिद शुक्रराज ट्रपिकल, मानसिकलगायत मुलुकभरिका अन्य अस्पतालको अवस्था पनि खासै भिन्न छैन ।

मुलुकमा ४ हजारभन्दा बढी स्वास्थ्य संस्था छन् । राजधानीका ठूला अस्पतालमा देखिएका यस्ता समस्यालाई मात्र सम्बोधन गर्न नभएर पूरै देशको समग्र सार्वजनिक स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ मन्त्रालयले ई–हेल्थ रणनीति ल्याएको थियो । तर, कार्यान्वयन नहुँदा सार्वजनिक सेवाका अन्य क्षेत्र प्रविधिमैत्री र सर्वसुलभ भइसक्दा पनि आमनागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सार्वजनिक स्वास्थ्य सेवा भने पुरानै ढर्रामा चलिरहेको छ । मन्त्रालयले वित्तीय व्यवस्थापन गर्न विद्युतीय वार्षिक कार्ययोजना तथा बजेट (ई–एडब्लूपीबी) र लेखापालन तथा बजेट नियन्त्रण प्रणाली (टीएबीयूसीएस) जस्ता सफ्टवेयरमार्फत सुरु गरिसकेको छ । टेलिमेडिसिन सेवा आंशिक रूपमा सुरु गरे पनि अन्य प्रविधि विकासमा खासै ध्यान दिएको देखिँदैन । स्वास्थ्य मन्त्रालयको सूचना प्रविधि शाखाले पनि काम गर्न नसकेको आरोप छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्रले भने यस विषयलाई लिएर हालै मात्र सरोकारवालासँग छलफल भएको बताइन् । ‘योजनागत रूपमा सम्बन्धित शाखाले काम अगाडि बढाइरहेको छ,’ उनले भनिन् । ई–हेल्थ लागू भएमा दुर्गममा शिशु, पोलियो, दादुराबाट हुने मृत्युदर, कुपोषण, जापानिज इन्सेफ्लाइटिस नियन्त्रण तथा मृगौला/कलेजो, दम, बाथ, उच्च रक्तचापजस्ता दीर्घरोगीको औषधि उपचारमा सहज हुने आकलन गरिएको थियो । ई–हेल्थ लागू गर्न विशेषतः इन्टरनेट, ल्यापटप, सर्भर, सफ्टवेयरजस्ता उपकरण र प्रविधि चाहिन्छ । इन्जिनियर सिंहले यो प्रणालीका लागि आवश्यक पूर्वाधारको विकासमा प्रदेश र स्थानीय सरकारले पनि भूमिका खेल्नुपर्ने बताए । ‘पालिकाले आफ्नो मातहतका स्वास्थ्य संस्थाका लागि बजेटको व्यवस्थापन गर्न सक्छन्,’ उनले भने ।

अस्पतालहरूमा पेपरलेस व्यवस्था नहुँदा मुद्दामामिला तथा पुलिस रिपोर्टसँग सम्बन्धित कागजात खोज्न, बिरामीलाई आवश्यक परेका बेला नभेटिने, सार्नुपर्दा च्यातिने, हराउनेजस्ता समस्या छ । रजिस्टरलगायतको अभिलेख नष्ट हुने, दुर्गमका स्वास्थ्य संस्थाका जनशक्ति र औषधिको अवस्थाबारे थाहा पाउन समस्या छ । वीरका वरिष्ठ मेडिकल रेर्कडर अधिकृत करमसिंह रानाले मन्त्रालयले बजेट व्यवस्थापन गरेर चाँडै यो प्रणाली विकास गर्नुपर्ने बताए । ‘विद्युतीय कारोबार ऐनले विद्युतीय दस्तावेज, दस्तखत र कारोबारको वैधता दिएको छ । ऐनले ह्याकिङ, पाइरेसी, डिजिटल प्रतिलिपि अधिकार उल्लंघनजस्ता साइबर अपराध नियन्त्रणका उपायको व्यवस्था गरेको छ,’ उनले भने, ‘डाटा बेसको सुरक्षालगायत विषयमा केही नियम समानुकूल परिमार्जन गर्दै लैजानुपर्ने देखिन्छ । यसतर्फ मन्त्रालयको ध्यान जाओस् ।’ पाटन अस्पताल ओपीडी इन्चार्ज मिना दुवाडीले चिकित्सा विज्ञान अध्ययन गर्नेलाई थेसिस लेख्न, राज्यले स्वास्थ्यसम्बन्धी अध्ययन अनुसन्धान गर्न फाइल प्रयोग हुने बताइन् । ‘हामीले अहिले स्क्यान गर्न थालेका छौं, अस्पतालमा खोज्नेबित्तिकै भेट्टाउने किसिमले व्यवस्थित राखेका छौं,’ उनले भनिन्, ‘कोभिडसम्बन्धी फाइल पछि अध्ययन गर्न काम लाग्छ ।’

रणनीति कार्यान्वयन भए के हुन्छ ?

  • दुर्गममा स्वास्थ्य उपचार सुदृढ हुन्छ (प्रविधि– ड्रोनमार्फत खोपलगायत स्वास्थ्य सामग्री ओसार्ने, मोबाइलबाट सूचना र सन्देश दिने, एप्स बनाएर जनचेतना फैलाउने)
  • अस्पतालहरू कम्प्युटरमैत्री बन्छन् (शिशु जन्मेदेखि मृत्युसम्मको स्वास्थ्य उपचार सम्बन्धी सम्पूर्ण विवरण थाहा पाउन सकिने)
  • बिरामीले कागजपत्र बोक्नु पर्दैन, स्वास्थ्य सम्बन्धी सम्पूर्ण जानकारी कम्प्युटरमै रहन्छ
  • दुर्गमका बिरामीले घरैमा बसीबसी सुगमका डाक्टरसँग परामर्श र उपचार लिन सक्छन्रो
  • गव्याधी र महामारीलगायतको तथ्यांक समयमै उपलब्ध हुन्छ, नीति निर्माण, अध्ययन, अनुसन्धान र बजेट वितरणमा सहज हुन्छ
  • स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति र स्रोतसाधन कति छन् भन्ने थाहा पाउन सकिन्छ( कान्तिपुर दैनिक )
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.