काठमाडौँ — २ पुस २०७८
काठमाडौँ , सूर्यको बाहिरी सतहमा पहिलोपटक मानव निर्मित प्रोभ (यान) पुगेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको ‘पार्कर सोलार प्रोभ’ सूर्यको कोरोना (बाहिरी भाग) मा प्रवेश गरेको हो । मानव निर्मित यान सूर्यको यति नजिक पुगेको यो पहिलो घटना हो । सूर्यको ४ तहमध्ये कोरोना बाहिरी तह हो । सूर्यमा कोरोना, क्रोमोस्फेयर, फोटोस्फेयर र कोर गरेर मुख्य चार तह छन् । नासाका अनुसार सूर्यको कोरोना यति धेरै तातो हुन्छ कि यसको तापक्रम १७ लाख डिग्री सेल्सियस हुन्छ । सन् २०१८ को अगस्ट १५ मा नासाले उक्त यानलाई सूर्यको अनुसन्धान गर्न त्यसतर्फ पठाएको थियो । पार्कर प्रोभ एल्फेन भागभित्र प्रवेश गरेको नासाले मंगलबार पुष्टि गरेको हो । एल्फेन सूर्यको सौर्य आँधी र सूर्यको वायुमण्डलबीचको भाग हो । यानले यही भाग छिचोल्दै सूर्यको कोरोनामा प्रवेश गरेको हो । सूर्य र पृथ्वीबीचको दूरी ९३ मिलियन माइल छ । सूर्यको आयतन यति ठूलो छ कि १३ लाख वटा पृथ्वी त्यहाँ अट्न सक्छन् । सौर्यमा पृथ्वीको जस्तो सतह नभएकाले यहाँ प्लाज्मा (विद्युत् शक्ति रहने ग्यासको तह) मात्रै हुन्छ ।
नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान नास्टका सह–प्राज्ञ एवं कस्मोलोजिस्ट विनोद अधिकारीका अनुसार यो तहमा हाइड्रोजन र हिलियमबीचको आणविक प्रतिक्रियाका कारण धेरै ऊर्जा निस्किने उनले बताए । सूर्यको विज्ञान अध्ययन गर्न यो मिसन सुरु गरिएको नासाले जनाएको छ । १ अर्ब ८० लाख डलर खर्च गरेर तयार गरिएको यो परियोजनाबाट नासाले सूर्यसँग सम्बन्धित विभिन्न अध्ययन तथा अनुसन्धान गर्ने लक्ष्य राखिएको छ । सूर्य र सौर्य आँधीको उत्पत्ति र कारणहरू यो अध्ययनको मुख्य उद्देश्य रहेको छ । परियोजना प्रोबमार्फत कोरोनामा ऊर्जा र तापको अवस्था र सौर्य आँधी कसरी आउँछ भन्नेमा केन्द्रित हुने बताइएको छ । सौर्य आँधी किन आउँछ यसको अनुसन्धान के हो भन्ने सवालमा पनि अनुसन्धान केन्द्रित हुने भनिएको छ । सन् २०२४ सम्म कोरोनामा रहने यान सूर्यको सतह नजिक २१ पटक पुग्ने नासाका वैज्ञानिकको विश्वास छ । बाँकी ३ वर्षमा प्रार्कर प्रोभ सूर्य केन्द्र भागदेखि ३.८३ मिलियन माइल नजिक पुग्ने नासाले जनाएको छ । अन्तरिक्षमा यो दूरी धेरै नजिक हो । ६० वर्ष अघिदेखि नासाले सूर्य मिसन सञ्चालन गर्ने सोचे पनि त्यति तातो थेग्न सक्ने यान बनाउन सकिएको थिएन । थर्मल इन्जिनियरिङका कारण धेरै उच्च तापक्रम थेग्न सक्ने शिल्डहरू निर्माण भएपछि यो परियोजनाले सार्थकता पाएको हो ।
सन् १९५० मा वैज्ञानिक युजिन पार्कले पहिलोपटक सौर्य आँधी पत्ता लगाएका थिए । पार्करकै नाममा नासाले यान निर्माण गरेको हो । सौर्य आँधीबाट निस्किने चार्ज पार्टिकल्स (आयोन) हरूले सौर्यमण्डलका अन्य ग्रहलाई समेत प्रभाव पार्छन् । तीव्र गतिमा निस्किने यी सौर्य आँधीका कारण पृथ्वीको उत्तरी ध्रुवमा विभिन्न रंगका प्रकाश देखिने सह–प्राज्ञ अधिकारी बताउँछन् । ‘सौर्य आँधीसँगै सौर्य चुम्बकीय शक्ति पनि सँगै निस्कन्छन् । आँधीका आयोनहरू तीव्र रूपमा पृथ्वीसँग ठोकिन खोज्दा पृथ्वीको चुम्बकीय शक्ति कारण उत्तरी ध्रुवतिर जान्छन् । जसका कारण विभिन्न रंगका प्रकाशहरू देखिने गर्छन्,’ अधिकारीले भने । यी सौर्य आँधीका कारण स्याटेलाइट तथा अन्य मानव निर्मित भू–उपग्रहहरूलाई समेत प्रभाव पार्ने उनले बताए । पृथ्वीको ध्रुवीय क्षेत्रमा रातको समयमा अकाशतिर हेर्दा विभिन्न रङको प्रकाश देखिन्छ । ‘नर्दन लाइट’ वा अरोरासमेत भेनिने यी रंगचंगी प्रकाश सौर्य आँधीका कारण भएको मानिन्छ । सूर्यबाट निस्कने सौर्य आँधीका परमाणु तीव्र गतिमा पृथ्वीतिर ठोकिने क्रममा पृथ्वीको चुम्बकीय शक्तिले ती कणलाई उत्तरी ध्रुवीय क्षेत्रतिर पुर्याइदिन्छ ।
त्यहाँ उत्पन्न हुने परिवर्तनले विभिन्न रङका प्रकाशहरू देख्न सकिन्छ । सौर्य प्लाज्माको सतहमा धेरै तातो छ र आयोनहरूको घनत्व धेरै कम छ । अधिकारी भन्छन्, ‘एउटा अचम्म सूर्यको कोरोनामा छ । १७ लाख डिग्री सेल्सियस तापक्रम यहाँ छ तर थर्मोमिटरले एक डिग्री तापक्रम मापन गर्न लाखौं वर्ष लाग्छ, कारण यहाँ आयोजनहरूबीचको घनत्व धेरै टाढा हुन्छ ।’ सूर्यबाट निस्कने प्रकाश पनि त्यहाँको फोटोस्फेयरबाट निस्कने उनले बताए । फोटोस्फेयरको तापक्रम ६ हजार डिग्री सेल्सियस छ । धेरै चुम्बकीय क्षेत्र हुने र आकारमा नै परिवर्तन हुने जस्ता विभिन्न रासायनिक प्रतिक्रियाका कारण सूर्यमा कालो भाग देखिने गरे पनि यसको खास वैज्ञानिक कारण अहिलेसम्म पत्ता नलागेको अधिकारीले बताए ।
सूर्यको वरिपरि ग्रह, छुद्र ग्रह, उपग्रहलगायतका आकाशीय पिण्डहरू परिक्रमा गर्छन् । सूर्यको गुरुत्व बलले यी ग्रह र पिण्डहरूलाई आफूतिर तान्न खोज्ने क्रममा ग्रह परिक्रमा गर्ने अधिकारीले बताए । सौर्य आँधीले पृथ्वीलाई धेरै हिसाबमा असर गर्ने अधिकारी बताउँछन् । ५ सय किलोमिटर प्रतिसेकेन्डको गतिमा यी आँधी अन्तरिक्षमा पृथ्वी हुँदै अन्यत्र जान्छन् । जसको गतिको प्रभाव पृथ्वीको चुम्बकीय क्षेत्रलाई पर्छ । पृथ्वीको चुम्बकीय क्षेत्र हल्लिँदा ऊर्जालाई विकरण बेल्ट बनाइदिन्छ जसका कारण अन्तरिक्षको वातावरणमा प्रभाव पर्छ । अन्तरिक्षको वातावरणमा प्रभाव हुँदा मानव निर्मित स्याटलाइट तथा अन्य विभिन्न उपकरणलाई असर गर्ने अधिकारी बताउँछन् ।
( कान्तिपुर दैनिक )