Fast Nepal News

ढोरपाटनमा संस्थागत अतिक्रमण

banner single news

बागलुङ — २८ मंसिर २०७८

बागलुङ , बढ्दो अतिक्रमणलाई समयमै रोक्न नसक्दा देशकै एक मात्र सिकार आरक्ष ढोरपाटनको जग्गा अतिक्रमण संस्थागत बन्दै गएको छ । आरक्षको जग्गा बर्सेनि अतिक्रमित भए पनि सरोकारवाला निकायबाट यसलाई रोक्ने प्रयास भएको छैन । जग्गाधनी पुर्जा भएकै घरछेउमा जग्गा अतिक्रमण गरेर आफ्नो कम्पाउन्डमा भित्र्याउने क्रम चलेको हो । आरक्षको तथ्यांक अनुसार २ सय ४० हेक्टर भन्दा बढी जमिन अतिक्रमणमा परेको सहायक वार्डेन सूर्य खड्काले बताए । आरक्षले केही समयअघि सार्वजनिक गरेको तथ्यांकमा ढोरपाटन क्षेत्रका ५५ बस्तीका ३ सय १५ घरले जग्गा अतिक्रमण गरेको देखिएको हो । रुकुमको रन्मा, मैकोट, हुकाम, तकसेरा र काक्री, म्याग्दीको लुलाङ र गुर्जाघाट तथा बागलुङको छेन्तुङ, स्यालपाखे, नवीलगायत गाउँमा पनि अतिक्रमण छ । अतिक्रमणमा परेको केही जमिनमा खेती लगाइएको छ भने केही जमिन कम्पाउन्ड घेरेर मात्रै राखिएको छ । अतिक्रमण भएको मध्ये सबैभन्दा धेरै बागलुङमा ७७ हेक्टर, रुकुममा १६ र म्याग्दीमा ४० हेक्टर जमिन छ ।

Inside Article Ads
केही वर्षअघि अतिक्रमण हटाउने प्रयास भए पनि संस्थागत रुपमा बढेकोले सम्भव नभएको हो । ‘यो अतिक्रमण हटाउन राजनीतिक शक्ति, सरकार र आरक्ष मिलेर मात्रै संभव छ,’ खड्काले भने, ‘सहजै हटाउन सकिने अबस्था होइन ।’ छुट्टै जग्गा र घडेरीको रुपमा अतिक्रमण नभएपनि भएकै जग्गाको छेउछाउबाट बढी अतिक्रमण भएकोले अतिक्रमण हटाउन कठिन भएको उनले बताए । विशेषगरी माओवादी द्वन्द्वको समयमा यहाँ बढी अतिक्रमण भएको थियो । राज्यको उपस्थिति नभएको मौकामा बढी अतिक्रमण भए पनि अहिले भने रोकिएको हो । ‘हालसालै त अतिक्रमण छैन, तर पहिलाकै अतिक्रमित जमिन फिर्ता गर्न चुनौती छ,’ खड्काले भने, ‘सेना आएर बसेपछि यतिबेला अतिक्रमण रोकिएको छ ।’ सेना बसेपछि चोरी सिकारी समेत घटेको उनले बताए । आरक्षमा बँदेल, मृग, कुखुरा र कालिज जस्ता पशुपंक्षी बढी चोरी सिकार हुने गर्छ । आरक्ष बागलुङसहित रुकुम र म्याग्दीमा पनि फैलिएको छ । कुल भूगोलको ६० प्रतिशत रुकुममा पर्ने र रुकुम खण्डमा सैनिक पोस्टसमेत नभएकाले बढी चोरीसिकार हुने गरेको खड्काको भनाइ छ ।
‘आरक्षको पोष्ट भएकोले केही मात्रामा अनुगमन भए पनि सैनिक पोष्ट अभावमा चोरी सिकार र जग्गा अतिक्रमण बढी छ,’ उनले भने, ‘आरक्षबाट चोरी भएपछि कतिपय काठपात र वन्यजन्तु सामुदायिक वनमा समेत पुग्ने गरेका छन् ।’ आरक्ष संरक्षित क्षेत्र भएकोले तोकिएका वस्तु र जनावर मात्रै राजस्व तिरेर सिकार गर्न पाइने व्यवस्था छ । अतिक्रमण भएको जमिन पत्ता लगाउन हरेक कित्ताको क्षेत्रफल समेत हेर्नुपर्ने अवस्था भएको एक कर्मचारीले बताए । आरक्षको तथ्यांकमा २०४७ देखि सामान्य अतिक्रमण शुरु भएको देखिन्छ । सशस्त्र द्वन्द्वको समयमा यो क्रम बढेको हो । आरक्ष जोगाउने काममा राजनीतिक नेतृत्वको चासो कम भएको ढोरपाटन नगरपालिकका प्रमुख देवकुमार नेपालीले बताए । ‘टाठाबाठाले आफ्नो जमिनमा पारेका छन्, कमाएर खाएका छन्’ नेपालीले भने, ‘सोझो ढंगले किनबेच गर्नेले भने जमिन अतिक्रमण गरेका छैनन् ।’ कतिपय किसानले अस्थायी रुपमा खेतीपाती र पशुचरन गरेर बसेको स्थान बारबन्धन बनाएका छन् । तर उनीहरूको जग्गाधनी पूर्जा छैन ।
‘धेरैजसोको घरखेत बोबाङमा छ, यहाँ आएर पशुपालन गरेर बसेका छन्’ स्यालपाखे गाउँका तेजबहादुर बिकले भने, ‘मालपोतमा पुगेर जग्गा अतिक्रमण गर्न जानेका पनि छैनन, गरेका पनि छैनन् ।’ आबस्यक पर्दा जमिन फिर्ता गर्नसक्ने गरी बस्नेहरू धेरै भएको उनले बताए । अधिकांस जमिन भोगचलन मात्रै भएको उनको भनाइ छ । सरकारले २०३९ सालमा सिकार आरक्ष स्थापना गरेको थियो । आरक्ष एक हजार ३ सय १५ वर्ग किमि क्षेत्रफलमा फैलिएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए । अतिक्रमण सँगै संरक्षण अभावमा यहाँको रुद्रताल लगायतका केही संरचनाहरू लोप हुने अवस्थामा समेत छन् ।                  

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.