Fast Nepal News

मेलम्चीमा अझै पनि ठूलो भेलबाढी आउन सक्छ : विज्ञ

banner single news

काठमाडौँ — ३२ श्रावण २०७८

सिन्धुपाल्चोकको मेलम्ची–इन्द्रावती तल्लो तटीय क्षेत्रमा अझै पहिरो र बाढीको जोखिम टरेको छैन । भेमाथाङ क्षेत्रमा १५ लाख टिपर बराबरको थिग्रेनी (ढुंगा, माटो, बालुवा, रूखबिरुवा) बाँकी रहेको र त्यसभन्दा माथि पनि दर्जनौं पहिरो रहेकाले वर्षा भए तल्लो तटीय क्षेत्रमा कुनै पनि बेला भेलबाढी आएर फेरि ठूलो क्षति निम्तिन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । असार १ र साउन १६ मा भेमाथाङबाट बगेर आएको थिग्रेनी र भेलबाढीले मेलम्चीसम्मै क्षति गरेपछि खानी तथा भूगर्भ विभागका विज्ञ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली भेमाथाङभन्दा माथिल्लो क्षेत्रको भौगोलिक अवस्था अध्ययन गर्न गएको थियो ।

भेमाथाङ र त्यसभन्दा माथिको पेम्दाङ र मेलम्ची खोला क्षेत्रको स्थलगत अध्ययनपछि फर्किएका विज्ञहरूले माथिल्लो क्षेत्र (भेमाथाङ र त्यसमाथि) जम्मा भएर बसेको थिग्रेनीले अझै तल्लो तटीय क्षेत्रमा विनाश निम्त्याउने सम्भावना बाँकी रहेको भन्दै सतर्कता अपनाउन सुझाएका हुन् । टोलीको नेतृत्व गरेका खानी विभागका भूगर्भविद् शिव बाँस्कोटाले भेमाथाङभन्दा माथिको पेम्दाङ खोलामा अहिले पनि दर्जनौं पहिरो देखिएको र अझै पहिरोको सम्भावना भएकाले चनाखो हुनुपर्ने बताए । ‘हामी ४२ सय ७० मिटरसम्मको उचाइमा पुग्यौं, जताततै साना–ठूला पहिरो भएकाले त्योभन्दा माथि जान सकिएन,’ बाँस्कोटाले कान्तिपुरसित भने, ‘अझै पहिरो जान सक्ने अवस्था छ । थिग्रेनी बगेर आयो भने तल्लो तटीय क्षेत्रमा फेरि भेलबाढी आउन सक्छ ।’ उनका अनुसार भेमाथाङ आएर जोडिने मेलम्ची खोलामा भने पहिरोहरू छैनन् । पेम्दाङ र मेलम्ची खोला ३६ सय ४० मिटर उचाइमा भेमाथाङ चौरमा आएर जोडिन्छन् ।

‘१५ सय मिटर लम्बाइ र ७ सय मिटर चौडाइ रहेको भेमाथाङ चौरमा अहिले पनि १० मिटर अग्लो थिग्रेनी जम्मा भएको छ,’ उनले भने, ‘त्यो क्षेत्रफलमा रहेको थिग्रेनीलाई हिसाब गर्दा १ करोड ५ लाख घनमिटर हुन जान्छ, त्यो थिग्रेनीलाई ठूलो टिपरले हिसाब गर्दा १५ लाख टिपर हुन्छ ।’ भेमाथाङमा जम्मा भएको सबै थिग्रेनीको स्रोत पेम्दाङ खोला नै हो ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार असार १ सम्म भेमाथाङको चौर खासै बगेको देखिन्न । त्यसपछि भने भेमाथाङ चौर केही भाग बगेको देखिन्छ । प्रारम्भिक अध्ययनअनुसार पेम्दाङमा १५ लाख, भेमाथाङमा १५ लाख र भेमाथाङभन्दा तलको कटान गरेको दायाँ–बायाँ किनारमा १५ लाख गरी ४५ लाख ट्रक थिग्रेनी बाँकी भएको उनले बताए । ‘असार र साउनमा गरेर १५ लाख ट्रकभन्दा बढी थिग्रेनी तल्लो तटीय क्षेत्रमा बगेको हामीले अनुमान गरेका छौं,’ उनले भने । त्यसअनुसार असारपछि त्यो क्षेत्रमा ६० ट्रक थिग्रेनी जम्मा भएको देखिन्छ ।

भूगर्भविद् बाँस्कोटाका अनुसार गेग्रानसहितको भेलबाढीले मेलम्ची खानेपानी आयोजनाको इन्टेक र हेडबक्स क्षेत्रमा १५ मिटरसम्म थिग्रेनी थुपारेको छ । ‘अम्बाथान इन्टेकमा १५ मिटर र मेलम्ची बजार क्षेत्रमा १० मिटर थिग्रेनी जम्मा भएको छ,’ उनले भने ।विगतका वर्षहरूमा सामान्य सास मात्र फेरेर बसेको हिमालय पर्वत शृंखला घोडा दौडिएझैं दौडिन थालेको आभास भएको कार्यकारी प्रमुख पोखरेलले बताए । ‘विगतमा पनि माथिल्लो क्षेत्रमा अलि–अलि विपद्का घटनाहरू त हुन्थे अबचाहिँ त्यो शृंखला चलायमान बन्दै गएको छ, दौडिन थालेको छ,’ उनले भने । सिन्धुपाल्चोकको मेलम्चीसहित गोरखाको माथिल्लो क्षेत्र, मनाङ र मुस्ताङको हिमशृंखला क्षेत्रमा जलवायु परिवर्तनको असरस्वरूप यस पटक भेलबाढी देखिएको उनले बताए ।
Inside Article Ads

‘ढिलै भए पनि हामीले अध्ययन सुरु गरेका छौं,’ उनले भने, ‘बितेका १ सय ५० वर्षमा थिग्रेनी र गेग्रानले निम्त्याउने क्षति हामीले बेहोरेका थिएनौं ।’ करिब ६–७ सय वर्षअघि भने सिन्धुपाल्चोकका धेरै बस्तीहरू र पोखरालगायत सहरहरू थिग्रेनीपछि बनेका हुन् ।यो वर्षको मनसुनी वर्षासँगै हिमालय क्षेत्रमा देखा परेको विपद्ले आगामी वर्षका लागि धेरै पाठ सिकाएको पोखरेलको बुझाइ छ । ‘१ सय १२ मिमि वर्षा हुँदा पनि कुन स्तरको क्षति बेहोर्नुपर्‍यो भन्ने सिकाइ भएको छ,’ उनले भने, ‘आगामी दिनमा तल्लो तटीय क्षेत्रको बस्ती, विकास–निर्माण र ठूला परियोजनाका लागि चौतर्फी अध्ययन आवश्यक छ भन्ने सन्देश मिलेको छ ।’

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का इन्जिनियर तथा जलवायु परिवर्तनविज्ञ अरुणभक्त श्रेष्ठले पनि भेमाथाङमा जम्मा भएको गेग्रान र त्यसभन्दा माथिका पहिरोहरू अस्थिर रहेकाले तल्लो तटीय क्षेत्रमा अझै बाढीको जोखिम प्रबल रहेको बताए । ‘ताउते र यास सामुद्रिक आँधीका कारण मेलम्ची जलाधार क्षेत्रमा हिउँ परेको थियो,’ नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको बहसमा उनले भने, ‘त्यो सबै पग्लिएपछि बाढीपहिरो गएको देखिन्छ ।’उनले हेलम्बुमाथि रहेको ८ हजार ८ सय ७० क्युबिक मिटरको तालसमेत अहिले नदेखिएको र ७० हजार वर्गमिटर क्षेत्रमा परेको हिउँ उष्णीकरणका कारण पग्लिएको पाइएको समेत बताए । मेलम्ची बाढीबारे इसिमोड र इन्जिनियर्स एसोसिएसनले समेत अध्ययन गरेका थिए । इसिमोडको अध्ययनमा समेत सहभागी श्रेष्ठले मेलम्ची क्षेत्रमा बगेर आएको थिग्रेनी (बालुवा) लाई प्रयोग गर्ने हो भने काठमाडौंको चक्रपथको सडक एक फिट अग्लो बनाउन पुग्नेजति भएको जानकारी दिए ।

भूगर्भविद् रञ्जन दाहालले विगतमा हिउँ पर्ने क्षेत्रहरूमा वर्षा भएपछि त्यसले कस्तो खालको विपद् निम्त्याउँदो रहेछ भन्ने सन्देश यसपटक प्राप्त भएको तर्क गरे । ‘तापक्रम पनि बढेको छ, त्यसपछि हिउँले ढाकेको क्षेत्र पनि परिवर्तन भएको छ,’ प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यसपटकको विपद् टर्‍यो भनेर ढुक्क हुने अवस्था छैन, हेलम्बु र मुलुकका अन्य भागमा यस्ता किसिमका विपद्सँग कसरी जुध्ने भनेर अहिलेदेखि नै सोच्नुपर्ने भएको छ ।’जलवायु परिवर्तन क्षेत्रका विज्ञ अजय दीक्षित नेपालको हिमाली क्षेत्र (भूतल) ले ‘आरीघोप्टे वर्षा’ थेग्न सक्दो रहेनछ भन्ने पुष्टि यो वर्षको मनसुनी वर्षाले गरेको उल्लेख गर्छन् ।

(कान्तिपुर दैनिक)

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.