Fast Nepal News

बस्तीतिर लम्किँदै हात्ती

banner single news

काठमाडौँ — २८ श्रावण २०७८

काठमाडौँ, उनलाई अचेल लाग्न थालेको छ– ‘हात्ती बलियो भनेको त, मान्छेले पो आफूलाई ऊभन्दा शक्तिशाली ठानिरहेका रहेछन् ।’ हात्ती–मानव द्वन्द्वको कारण खोतल्ने क्रममा मान्छेकै क्रियाकलाप–गतिविधि एउटा प्रमुख कारक भएको पत्ता लागेपछि नरेन्द्रमान बाबु प्रधानले मान्छेलाई हात्तीभन्दा शक्तिशाली ठानेका रहेछन् ।‘मान्छेले गर्ने लापरबाही र व्यवहार नबदलेसम्म जंगली हात्तीले गर्ने क्षति न्यून गर्न सकिँदैन,’ हात्तीमा विद्यावारिधि गरेका उनले भने, ‘त्यसैले हामीले बर्दियामा हात्ती मेरो साथी भनेर चेतनामूलक अभियान नै सुरु गरेका छौं ।’ हात्तीले समस्या गरेको बर्दिया, खाता क्षेत्रमा टावरमा बत्ती बाल्ने, घण्टी बजाउने र हात्तीबारे ज्ञान बाँड्न सुरु गरिएको हो ।

मान्छेले आनीबानी नबुझ्दा, लखेट्न जाँदा, घेरा हाल्दा, बाटोमा रोकछेक गर्दा नै हात्तीले आक्रमण गर्ने गरेको उनले बताए । ‘मान्छेले हात्तीको आनीबानी बुझेको भए धेरै घटनाहरू नै हुने थिएनन्,’ उनले भने, ‘त्यसैले अब सरकारले पनि स्थानीय बासिन्दाहरूलाई हात्ती र उसका आनीबानी बुझाउनेतिर ध्यान दिनुपर्ने देखिन्छ ।’पछिल्लो अध्ययनले चुरे–तराई क्षेत्रमा हात्तीले वर्षमा औसत २० जनामाथि आक्रमण गर्ने गरेको देखाएको छ । निजी र सफारीमा प्रयोग भएकाबाहेक नेपालभर जंगली रैथाने हात्तीको संख्या २ सय २७ को हाराहारी छ । यीबाहेक १००–१५० को संख्यामा बसाइँ सरेर भारतबाट नेपाल भित्रिन्छन् । समूहमा भित्रिने त्यस्तै हात्तीले बस्ती पसेर वितण्डा मच्चाउने गरेका छन् ।

प्रधानको तर्कलाई हात्तीमा विद्यावारिधि गरिरहेका अशोककुमार रामको अध्ययनले पनि पुष्टि गर्छ । ‘हात्तीको आक्रमण बढ्नुमा मानवीय क्रियाकलाप प्रमुख कारक बनेको देखिन्छ,’ उनले भने । मुलुकमा हालसम्म हात्तीबाट मारिएकामध्ये १ सय ३ जनालाई लखेट्ने क्रममा आक्रमण गरेको देखिन्छ । ‘केही वर्षयता हात्तीले मान्छेलाई आक्रमण गरेका घटना बढेको देखिन्छ,’ उनले भने, ‘टहरा र फुसका घरमा बस्नेहरू नै बारम्बार पीडित भएका छन् ।’रामको अध्ययनअनुसार चुरे र तराईका जिल्लाहरूमा सन् २००० देखि सन् २०२० सम्म नेपालमा ४ सय १२ जना हात्तीको आक्रमणमा परेका छन् । आक्रमणबाट २ सय ७४ जनाको ज्यान गएको छ भने १ सय ३८ जना घाइते भएका छन् । हात्तीको निसानामा पर्नेमा पुरुष बढी छन् । आक्रमणमा परेर १ सय ५८ जना पुरुषको मृत्यु भएको छ भने १ सय जना घाइते भएका छन् । १ सय १६ जना महिला मारिएका र ३८ जना घाइते भएका छन् । रामको यो अध्ययन हात्तीको बासस्थान रहेको चुरे–तराईको ४६ हजार वर्गकिमि क्षेत्र र २४ वटा जिल्लामा केन्द्रित थियो ।

उनको अध्ययनले के पनि पुष्टि गरेको छ भने आक्रमणका धेरै घटना निकुञ्ज–आरक्ष तथा मध्यवर्ती क्षेत्रभन्दा बाहिरको वन क्षेत्र र बस्ती नजिक भएका छन् । ‘निकुञ्ज–आरक्ष–मध्यवर्ती क्षेत्रभित्र १ सय ११ जनाको मृत्यु भएको तथ्यांक छ,’ उनले कान्तिपुरसित भने, ‘त्यो बाहिरको वन क्षेत्र र बस्ती आसपासमा १ सय ६३ जनाको मृत्यु भएको छ ।’ प्रधानका अनुसार सुरुमा हात्ती मान्छेदेखि डराउँछ, धेरै जिस्क्यायो भने रिसाउँछ र आक्रमणमा उत्रन्छ । उनले भने, ‘जम्काभेट भयो र भाग्ने अर्को उपाय छैन भने आक्रमण गर्छ ।’

रामका अनुसार हात्ती दैनिक १ सय ९५ किलोमिटर हिँड्न सक्छ । तर दैनिक औसत २५ किलोमिटर हिँड्छ । १८८ देखि ४०० वर्गकिमि क्षेत्रलाई आफ्नो विचरण क्षेत्र बनाउने हात्तीले दैनिक १ सय ४० देखि २ सय १० किलो आहार खान्छ । पानी मात्रै दैनिक दुई सय लिटर पिउँछ । हात्तीको तौल ५ देखि ६ हजार किलो हुन्छ । विश्वमा एसियाली र अफ्रिकी गरी हात्तीका दुई प्रजाति छन् । नेपालमा पाइने प्रजाति एसियाली हुन् । एसियालीभित्र पनि तीन उपप्रजाति छन्– श्रीलंकन, इन्डियन र इन्डोनेसियन (सुमत्रन) । ‘आक्रमणमा परेकामध्ये ८८ प्रतिशतभन्दा बढी मान्छेहरू एकदमै कम शिक्षित देखिन्छन्,’ उनले भने । यो तथ्यांकले गाउँलेहरूलाई हात्तीको आनीबानीबारे थाहा नभएको पुष्टि हुन्छ ।

अशोकको अध्ययनले जंगलसँग जोडिएका बस्तीहरूमा बढी आक्रमणका घटना भएको देखाएको छ । जंगलदेखि ५ सय मिटरभित्र १ सय ८३ जनाको ज्यान गएको र ९३ जना घाइते भएको देखिन्छ । त्यस्तै, १ किलोमिटर दूरीमा ५२ जनाको ज्यान गएको र १६ जना घाइते भएको देखिन्छ । ‘यसले के पुष्टि हुन्छ भने विगतमा वन क्षेत्र भएकै स्थानमा भएका बस्तीहरू बढी जोखिममा छन्,’ उनले भने । तथ्यांक अनुसार ज्यान गुमाउनेमध्ये १ सय ८७ जना कच्ची घर भएका छन् । त्यस्तै घर भएका २ सय ६७ जना घाइते भएका छन् ।कुन उमेरको हात्तीले मान्छेलाई बढी आक्रमण गर्छ भनेर पनि हेरिएको छ । २ सय १३ जनालाई बयस्क भालेले, ६ जनालाई वयस्क पोथीले, १७ जनालाई मिश्रित हात्तीहरूको समूहले र २७ जनालाई अर्ध–वयस्क भालेको समूहले मारेका छन् । ११ जना ज्यान लिने कुन समूहका हुन् भन्ने छुट्याउन सकिएको छैन । चितवनमा वितण्डा मच्चाइरहने ‘ध्रुबे’, कोसीटप्पु वन्यजन्तु आरक्ष आसपासका बस्तीहरूमा दु:ख दिने ‘मकुना’ जस्ता वयस्क–अर्ध र वयस्क भाले हात्ती देशभर ३७ वटा छन् ।

हात्तीको आक्रमणमा पर्नेमा जनजातिको संख्या बढी देखिएको छ । आक्रमणबाट ज्यान गुमाएकामध्ये १ सय १५ जना त्यो समुदायका छन् । यसको कारण राजमार्ग आसपास तथा हात्ती–बाघलगायतका वन्यजन्तु ओहोरदोहोर गर्ने करिडोर पर्नु र नयाँ बनेका बस्ती वन क्षेत्र मास्दै विस्तारित हुनु पनि हो । सामान्यतया, बस्तीमा भने हात्तीले रातको समयमा बढी आक्रमण गरेको देखिन्छ । यस्ता घटना झापा र बर्दिया बढी भएको छ । हात्तीको सुँघ्ने क्षमता अत्यधिक हुन्छ । जसले गर्दा रक्सी राखेको घर र पिएका मान्छे टाढैबाट थाहा पाउँछ ।

Inside Article Ads

अध्ययनअनुसार २० वर्षमा ३६ जनाको बाली कुरुवा ११ जनाको हात्तीको पछि लाग्दा र २ जनाको गोठालो जाँदा ज्यान गएको छ ।हात्ती र मानवबीचको द्वन्द्वको अर्को पाटो पनि छ । जंगलभित्र बस्तुभाउ चराउन गएका बेला हात्तीले बढी आक्रमण गरेको देखिन्छ । ‘घाम अस्ताउने बेलातिर हात्ती बढी सक्रिय देखिन्छ,’ अशोकले अध्ययन प्रतिवेदनमा लेखेका छन्, ‘घाम अस्ताउने बेलामा घाँस दाउरा गरेर फर्किनेहरूलाई आक्रमण गर्ने गरेको देखिन्छ ।’

बासस्थान खण्डीकृत

अध्ययनअनुसार हात्ती बाटो बिर्सँदैनन् । उनीहरू सयौं वर्षदेखि एउटै बाटो हिँड्छन् । तराई–चुरे क्षेत्रमा जनसंख्या वृद्धिदर अन्यत्रभन्दा बढी छ । वन विनाशको दर पनि उच्च छ । जसले गर्दा हात्तीले मन पराउने लहरा प्रजातिका वनस्पति मात्रै घटेका छैनन्, हात्ती करिडोर नै मासेर बस्ती र विभिन्न पूर्वाधार विस्तार भएका छन् । नेपालका ४२ हजार ४ सय ५६ वर्ग किमि क्षेत्रमध्ये १२ हजार ६९ वर्गकिमि क्षेत्र मात्र हात्तीको उपयुक्त बासस्थान हो । ‘पूर्वदेखि पश्चिमसम्मै हात्तीको हिँड्ने बाटो र बासस्थान खलबलिएको छ,’ प्रधानले भने, ‘हामीले हात्ती बस्ती छिर्‍यो भन्छौं, वास्तवमा उनीहरू आफ्नै परम्परागत बाटोमा हुन्छन् ।’

सरकारले अघि बढाएको पूर्व–पश्चिम राजमार्ग बिस्तार, विद्युतीय रेलमार्ग, विद्युत् प्रसारणलाइन, सिँचाइ, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र सहरीकरणजस्ता विकास आयोजना निर्माणले हात्तीको ओहोरदोहोरमा समस्या निम्त्याउन सक्ने भएकाले वन्यजन्तुमैत्री विकासको बहस सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिस्ट हरिभद्र आचार्य बासस्थान खण्डीकरण नै हात्तीको मुख्य समस्या देखिएकाले अब हुने विकास आयोजनालाई वन्यजन्तुमैत्री बनाउन निर्देशिका तयार गरिएको बताउँछन् ।निर्देशिकाको उक्त मस्यौदा रायका लागि कानुन मन्त्रालयमा पुगेको छ । ‘त्यसमा सडक, रेलवेजस्ता संरचना बनाउँदा वन्यजन्तुका लागि अन्डरपास र ओभरब्रिज बनाउन प्राथमिकता दिइने उल्लेख छ,’ आचार्यले भने ।

वन्यजन्तुविद् हेमसागर बरालले अध्ययनले द्वन्द्व न्यूनीकरणमा काम गर्न ढिलो भइसकेको संकेत गरेको टिप्पणी गरे । ‘समस्या पहिचानसँगै हात्तीको मुभमेन्टसमेत बताएकाले ती स्थानलाई फोकस गरेर समाधान निकाल्न यसले पूर्ण सहयोग गर्नेछ,’ अशोकको अध्ययनलाई सुपरभिजनसमेत गरेका बरालले भने ।मानवीय बस्तीमा पसेर पटक–पटक वितण्डा मच्चाएकामध्ये अहिलेसम्म विभिन्न स्थानमा ८ वटा हात्तीको घाँटीमा रेडियो कलर जडान गरेर सरकारले तिनको आउजाउ अनुगमन गरिरहेको छ । सरकारले हात्तीलगायत ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिन्छ । घाइतेले पनि राहत रकम पाउँछन्

(कान्तिपुर दैनिक)

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.