
काठमाडौँ — १४ श्रावण २०७८
काठमाडौँ, बाघलाई ‘अम्ब्रेला स्पेसिज’ मान्छन् संरक्षणकर्मी । जहाँ बाघ हुन्छन्, त्यहाँ वन हुन्छ, उसका आहारा प्रजातिका घाँस खाने जनावर हुन्छन् । ती बाँच्न पानी र घाँस चाहिन्छ । र, जहाँ हुन्छन्, त्यहाँ जैविक विविधता हुन्छ । त्यसैले बाघ बाँचे छाताजसरी सुरक्षा हुन्छ, वन्य जीवन जोगिन्छ भन्छन् विज्ञहरू । तर, बाघले मान्छेलाई बाँकी राख्छ ? बाघले किन लिइरहेको छ त मान्छेको ज्यान ? ‘बाघले सितिमिति मान्छेलाई आक्रमण गर्दैन ।
बच्चासँगै भएको पोथी बाघ, पोथी र भालेबीच संसर्गको अवस्था, बूढो र सिकार गर्न अशक्त तथा आफ्नो क्षेत्र बनाउने क्रममा भाले–भाले बीच लडाइँ हुँदा कमजोर भएको बाघ बढ्ता आक्रामक हुन्छ,’ बाघविज्ञ झमक कार्कीले भने, ‘मानसिक रूपमा समस्यामा भएको बाघले पनि मानिसलाई आक्रमण गर्छ ।’संसारका १३ मुलुकमा मात्रै बाघ पाइन्छ । संख्या घटेपछि संरक्षणको चासो बढ्यो ।
बर्दियामा गत आवमा मान्छेमाथि पटक–पटक आक्रमण गर्ने ४ वटा बाघलाई नियन्त्रणमा लिइएको थियो । तीमध्ये निकुञ्जले एउटालाई जावलाखेल चिडियाखाना, २ वटा निकुञ्जकै मुख्यालय ठाकुरद्वाराको रेस्क्यु सेन्टर र एउटालाई बाँके निकुञ्ज, ओभरीमा पठाएको थियो । मानव–बाघ द्वन्द्व ह्वात्तै बढेपछि न्यूनीकरण तथा व्यवस्थापन रणनीतिक योजना बनाइएको अधिकृत श्रेष्ठ बताउँछन् । बर्दियामा बाघका आक्रमणका घटना सबै निकुञ्जभित्रको जंगल र आसपासमा भएको देखिन्छ । ‘बाघको संख्या बढेर घटना भएको होइन,’ उनले भने, ‘बस्तीमा छिरेर बाघले घटना निम्त्याएको छैन, बरु जंगल क्षेत्रमा मानवीय क्रियाकलाप बढेको पुष्टि हुन्छ ।’
आक्रमणका घटना बढ्दा निकुञ्जले बाघ नियन्त्रणमा लिने र त्यस्तालाई अनुगमन गर्न घाँटीमा स्याटेलाइट कलर जडान गर्ने गरेको छ । सामान्यतः दुई पटकभन्दा बढी मान्छेलाई आक्रमण गर्ने बाघलाई समस्याग्रस्त रूपमा लिने गरिन्छ । अर्का बाघविज्ञ चिरञ्जीवी पोखरेल प्रविधिको विकासले समस्याग्रस्त बाघको पहिचान गर्न र उसको मुभमेन्ट हेर्न सहज भएको बताउँछन् ।अनुसन्धानकर्ताहरूका अनुसार एउटा भाले बाघको विचरण क्षेत्रमा सरदर तीनवटा बघिनी हुन्छन् । एउटै बासस्थानमा भालेले अर्को भालेको उपस्थिति रुचाउँदैन । एउटा वयस्क बघिनीले २–२ वर्षमा एकपटकमा २ देखि ३ वटा डमरु जन्माउँछ । ३ देखि ४ वर्षको भएपछि बघिनी प्रजननयोग्य हुन्छन् ।
अर्का अनुसन्धानकर्ता सिभिस भण्डारी सहवासका लागि प्रतिस्पर्धा हुँदा बाघ जुधेर मर्ने घटना प्राकृतिक चक्र भएको बताउँछन् । ‘धेरैवटा बाघले एउटै बघिनीसँग सहवास गर्न चाहेका हुन्छन्, त्यस्तो बेलामा बलियोले मात्र त्यो चाहना पूरा गर्न सक्छन्,’ उनी भन्छन् । लडाइँमा हारेको बाघ नयाँ ठाउँ जान्छ ।
करिब एक शताब्दीअघिसम्म १ लाखको हाराहारीमा रहेका पाटेबाघको संख्या ३ हजार २ सयमा सीमित भएपछि सन् २०१० मा बाघ पाइने १३ देशका राष्ट्र प्रमुखको रुसको सेन्ट पिटर्सबर्गमा भएको भेलाले सन् २०२२ सम्म बाघको संख्या दोब्बर (६,५००) बनाउने घोषणा गरेको थियो । उक्त लक्ष्य करिब पूरा हुने संघारमा छ । बाघ बढेसँगै मान्छेसँगको द्वन्द्व पनि वृद्धि भएको हो । नेपालसहित धेरैजसो मुलुकमा यो १० वर्षको बीचमा बाघको संख्यामा उल्लेख्य बढोत्तरी भएको छ । संख्या बढाउन आहार प्रजाति बढाउने, बासस्थान विस्तार गर्ने, अवैध चोरी–सिकार र व्यापार रोक्ने मुख्य संकल्प थियो ।
पिटर्सबर्गमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले दोब्बर पार्ने प्रतिबद्धता जनाइरहँदा बाघको संख्या १ सय २१ थियो । ३ वर्षअघि सन् २०१८ को गणनाले नै नेपालमा बाघको संख्या २ सय ३५ पुगेको देखाइसकेको छ । सरकारले अब सन् २०२२ को सुरुवातमै बाघ गणना गर्दै छ । योपटक संख्या थप बढ्ने सरकारी अधिकारी र प्राविधिकले अपेक्षा गरेका छन् । बाघ पारिस्थितिकीय प्रणाली सन्तुलनको सूचक भएकाले यसको बचाउका लागि विश्व समुदाय जुटेका हुन् ।
बाघ बढे सँगसँगै चुनौतीसमेत थपिएको महसुस हुन थालेको छ । त्यसैले बाघ संरक्षण र द्वन्द्व न्यूनीकरणमा काम गर्न नेपाल सरकारले ‘बाघ संरक्षण विशेष कार्यक्रम’ घोषणा गरेको छ । साउन २ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा भएको राष्ट्रिय बाघ संरक्षण समितिको सातौं बैठकले हरेक वर्ष १५ करोड रुपैयाँ खर्चने गरी विशेष कार्यक्रम सार्वजनिक गरेको हो ।
बाघले निम्त्याएका समस्याबारे सर्वत्र चर्चा भइरहेका बेला समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र पिटर्सबर्गको सम्मेलनमा सहभागी पूर्वप्रधानमन्त्री नेपाल र त्यो बेलाका वनमन्त्री दीपक बोहरा बाघबारेको बहसमा बिहीबार सँगै एकै मञ्चमा सहभागी हुँदै छन् । ‘बाघका लागि निकुञ्ज–आरक्षबाहिर पनि बासस्थान विस्तार गर्नुपर्ने देखिन्छ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारीसमेत रहेका इकोलोजिस्ट आचार्यले भने, ‘अर्को भनेको द्वन्द्व न्यूनीकरण तथा सहअस्तित्व कायम गर्नु नै हो ।’ सन् २०१८ को गणनाअनुसार चितवन निकुञ्जमा ९३ र बर्दिया निकुञ्जमा ८७ बाघ छन् । तर, लगातार दुइटा आर्थिक वर्षमा हेर्ने हो भने बाघले निम्त्याएका घटना बर्दियामा बढी छन् ।
बाघ रहेका निकुञ्जमध्ये कुनले कति बाघ थेग्न सक्छन् भनेर अध्ययन गरिएको छ । पहिलो चरणमा चितवन र पर्सा निकुञ्ज (चितवन–पर्सा कम्प्लेक्स) मा त्यस्तो अध्ययन पूरा भएको छ । उक्त अध्ययनले चितवन र पर्सामा १ सय ७५ वयस्क बाघ थेग्न सक्ने निष्कर्ष निकालेको छ ।
अहिले चितवनमा ९३ र पर्सामा १८ गरी १ सय ११ वयस्क बाघ छन् । चितवन निकुञ्जले १ सय ३६ र पर्सा निकुञ्जले ३९ वटा बाघ थेग्न सक्छन् । निकुञ्ज विभागले दुई वर्ष लगाएर अध्ययन गरेको हो । सन् २०१८ को गणनाअनुसार चितवन–पर्सासहित बर्दिया, बाँके र शुक्लाफाँटा निकुञ्जमा गरी २ सय ३५ वयस्क बाघ छन् । बाघको संख्या बढाउन सरकारले सन् २००९ मा बाँके निकुञ्ज घोषणा गरेको थियो भने पर्सा निकुञ्ज विस्तारसमेत गरेको छ । सँगै पर्सा निकुञ्जको भित्रको बस्ती सारेको थियो ।
(कान्तिपुर दैनिक)
