
हेमबहादुर मल्ल सम्मान, २०८१ डा. रामकण्ठ माकजु श्रेष्ठ र हेमबहादुर मल्ल सम्मान २०८२ श्री रामेश्वरप्रसाद खनाललाई अर्पण गरिन
काठमाडौँ, २०८३ भदौ ५ l नेपाल जन-प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउँदै आउनुभएका दुई विशिष्ट व्यक्तित्वलाई ‘हेमबहादुर मल्ल सम्मान’ अर्पण गर्ने जानकारी गराएको छ । शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रम माझ नेपाल जन-प्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले उक्त जानकारी दिनुभएको हो ।
नेपालकै उत्कृष्ट नमुना अस्पतालका रूपमा स्थापित धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनलगायत गुणस्तरीय सार्वजनिक सेवाको श्रीवृद्धिमा पुऱ्याउनुभएको विशिष्ट योगदानको कदरस्वरूप डा. रामकण्ठ माकजू श्रेष्ठलाई हेमबहादुर मल्ल सम्मान २०८१ अर्पण गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । डा. माकजू श्रेष्ठको नेतृत्वमा स्वास्थ्य सेवा तथा संस्थागत विकासका क्षेत्रमा अघि बढाइएको कार्यले स्वास्थ्य सेवाको प्रभावकारिता, गुणस्तर र नागरिकप्रतिको उत्तरदायित्वलाई सुदृढ गर्न महत्वपूर्ण योगदान पुऱ्याएको संघको ठहर छ। उहाँको योगदान व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही संस्थागत विकास, गुणस्तरीय सेवा प्रवाह र सार्वजनिक हितप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा रहेको संघले विश्वास गरेको छ ।
संघले वि.सं. २०८२ को हेमबहादुर मल्ल सम्मान रामेश्वरप्रसाद खनाल लाई अर्पण गर्ने भएको छ । सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाको श्रीवृद्धिमा उहाँले पुऱ्याउनुभएको विशिष्ट योगदानको कदरस्वरूप उहाँलाई यो सम्मान प्रदान गर्ने निर्णय गरिएको हो । सार्वजनिक जिम्मेवारीमा रहँदा नीति, प्रशासन तथा सार्वजनिक सेवाका क्षेत्रमा उहाँले निर्वाह गर्नुभएको भूमिका र योगदानलाई सम्मान छनोटको क्रममा महत्वपूर्ण आधारका रूपमा लिइएको छ ।
उपरोक्त दुवै सम्मानका लागि उत्कृष्ट व्यक्तित्व छनोट गरी सिफारिस गर्न नेपाल सरकारका पूर्व सचिव तथा नेपाल जन- प्रशासन संघका पूर्व अध्यक्ष श्री कृष्ण ज्ञवालीको संयोजकत्वमा एक सम्मान छनोट समिति गठन गरिएको थियो। उक्त समितिको सिफारिसका आधारमा नेपाल जन-प्रशासन संघले उपरोक्त सम्मान अर्पण गर्ने निर्णय गरेको हो । छनोट प्रक्रियामा सम्बनधित महानुभावहरूले सार्वनिक सेवा सरोकारको विषयमा दिनु भएको योगदान, सार्वजनिक जीवनमा पुऱ्याएको प्रभाव, संस्थागत नेतृत्व र विकासमा निर्वाह गरेको भूमिका तथा सार्वजनिक सेवाप्रतिको प्रतिवद्धतालाई महत्वपूर्ण आधारका रूपमा लिँदै आएको छ ।
नेपाल जन-प्रशासन संघले हेमबहादुर मल्ल सम्मान वि. स. २०६० देखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउने व्यक्तित्वलाई अर्पण गर्दै आएको छ । ख्यातिप्राप्त प्रशासक एवं कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नेतृत्व तहमा
रही सार्वजनिक वितरण, सेवा तथा व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण र प्रेरणादायी योगदान पुऱ्याउनुभएको योगदानको स्मरण तथा सम्मानस्वरूप साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको साझेदारीमा नेपाल जन-प्रशासन संघले हेमबहादुर मल्ल सम्मान स्थापना गरेको हो ।
सम्मानपत्रसहित नगद रु. २,००,०००/- (दुई लाख) पुरस्कारको व्यवस्था रहेको यस सम्मानले सार्वजनिक जीवनमा दीर्घकालीन, अनुकरणीय र संस्थागत योगदानलाई राष्ट्रियस्तरमा कदर गर्ने उद्देश्य राख्दछ । सार्वजनिक सेवामा व्यावसायिकता, उत्तरदायित्व र संस्थागत मूल्यलाई आत्मसात् गर्दै पुऱ्याइएको योगदानको सम्मान गर्नु नै हेमबहादुर मल्ल सम्मानको मूल भावना रहेको छ ।
उपरोक्त सम्मान एक समारोह बीच आगामी भाद्र ८ गते सोमबार अर्पण गरिने छ । सम्मान अर्पण समारोहमा दुवै सम्मानित व्यक्तित्वका योगदानलाई औपचारिक रूपमा सम्मान गर्दै उहाँहरूको अनुभव, दृष्टिकोण तथा सार्वजनिक सेवाप्रतिको प्रतिवद्धतालाई सार्वजनिक संवादको माध्यमबाट प्रस्तुत गरिनेछ ।
यस सम्मानबाट यसअघि सार्वजनिक प्रशासन, व्यवस्थापन, स्वास्थ्य, शिक्षा, न्याय, कूटनीति, सामाजिक सेवा तथा विभिन्न सार्वजनिक सरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउनुभएका २१ जना विशिष्ट व्यक्तित्वहरू सम्मानित भइसक्नुभएको
छ।
संघले यस सम्मानलाई केवल व्यक्तिको योगदानको सम्मानका रूपमा मात्र नभई सार्वजनिक सेवामा निष्ठा, व्यावसायिकता, उत्तरदायित्व, संस्थागत नेतृत्व र राष्ट्रहितप्रतिको प्रतिबद्धतालाई प्रोत्साहन गर्ने एउटा महत्वपूर्ण संस्थागत अभ्यासका रूपमा लिएको छ।
नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक तथा व्यवस्थापकबीचको पेशागत सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन तथा मूल्याङ्कनमा व्यावसायिक पृष्ठपोषण गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संघले छलफल, गोष्ठी, प्रशिक्षण, अनुसन्धान, प्रकाशन तथा राष्ट्रिय सम्मानका कार्यक्रममार्फत सार्वजनिक प्रशासनको व्यावसायिक विकास र सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धिमा योगदान पुऱ्याउँदै आएको छ । संघले यस कार्यक्रम साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसंगको सहकार्यमा गर्दै आएको छ ।
