Fast Nepal News

त्रिभुवन विश्वविद्यालयबाट ‘स्टार्टअप समिट नेपाल-२०२६’ को औपचारिक शुभारम्भ

banner single news

काठमाडौं, साउन २१। नेपालमा उद्यमशीलता, नवप्रवर्तन र आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माण गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ गरिएको छ। “राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका” भन्ने मूल विषयमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सभाहलमा बिहीबार बिहान आयोजित विशेष कार्यक्रममार्फत देशव्यापी अभियानको सुरुवात गरिएको हो।

स्टार्टअप भनेको केवल नयाँ व्यवसाय सुरु गर्नु मात्र नभई नयाँ सोच, नवीन समाधान र सिर्जनशील अवधारणालाई व्यवसायमा रूपान्तरण गर्दै समाज र देशका समस्याको समाधान खोज्ने उद्यमशील अभियान हो। विश्वका धेरै सफल कम्पनीहरू पनि कुनै समय सामान्य युवाको एउटा सानो सोचबाट सुरु भएका थिए। आज तिनै स्टार्टअपहरूले लाखौँ मानिसलाई रोजगारी दिएका छन्, नयाँ प्रविधिको विकास गरेका छन् र देशको अर्थतन्त्रलाई मजबुत बनाएका छन्। यही विश्वव्यापी अनुभवलाई आत्मसात् गर्दै नेपालमा पनि नवप्रवर्तनमा आधारित उद्यमशील संस्कृतिको विकास गर्ने उद्देश्यले स्टार्टअप समिट नेपाल–२०२६ अभियान सुरु गरिएको आयोजकले जनाएको छ।

नेपालमा हरेक वर्ष ठूलो सङ्ख्यामा युवा अध्ययन र रोजगारीका लागि विदेशिने क्रम बढिरहेका बेला उनीहरूको सिर्जनशील सोच, सीप र क्षमतालाई स्वदेशमै उपयोग गरी उद्यमशीलतामा जोड्ने, नयाँ व्यवसाय स्थापना गर्न प्रेरित गर्ने तथा रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने नेतृत्व तयार गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

देशभरका युवा, विद्यार्थी तथा व्यवसाय गर्न चाहने व्यक्तिहरूलाई स्टार्टअप भनेको के हो, व्यवसाय कसरी सुरु गर्ने, कम्पनी दर्ता प्रक्रिया, व्यवसाय योजना (Business Plan), स्टार्टअप कर्जा, सरकारी तथा निजी क्षेत्रबाट उपलब्ध सहयोग, लगानी जुटाउने उपाय, नेपाली उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कसरी विस्तार गर्ने, व्यवसाय सञ्चालनका चुनौती तथा जोखिम व्यवस्थापन लगायतका विषयमा तथ्यपरक, व्यवहारिक र प्रेरणादायी जानकारी प्रदान गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको पहिलो चरण त्रिभुवन विश्वविद्यालयबाट सुरु गरिएको हो। आगामी दिनमा काठमाडौं विश्वविद्यालयसहित देशभरका अन्य विश्वविद्यालय, कलेज, विद्यालय तथा सातै प्रदेशमा यस्ता कार्यक्रम आयोजना गरिनेछ। यस अभियानमार्फत नेपालभर स्टार्टअप इकोसिस्टम निर्माण गर्दै सरकार, विश्वविद्यालय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, उद्योगी–व्यवसायी, लगानीकर्ता र युवाबीच सहकार्यको वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका विभिन्न सङ्कायमा अध्ययनरत एक सयभन्दा बढी विद्यार्थी, प्राध्यापक, कर्मचारी, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा करिब दुई सय जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा ले नेपाललाई समृद्ध बनाउने आधारमध्ये स्टार्टअप पनि एक महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै यस्ता कार्यक्रम देशभर सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। विश्वविद्यालयले उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्न आवश्यक सबै प्रकारको सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले भन्नुभयो, “युवालाई सिर्जनशील, उत्पादनमुखी र आत्मनिर्भर बनाउने अभियानमा विश्वविद्यालय सदैव साथमा रहनेछ। देशको समृद्धिका लागि विश्वविद्यालयले गर्नुपर्ने भूमिका हामी पूरा गर्न तयार छौँ।”

कार्यक्रमकी अध्यक्ष तथा स्टार्टअप समिट नेपाल–२०२६ की अध्यक्ष शोभा ज्ञवाली ले नेपालमा बढ्दो ब्रेन ड्रेन लाई ब्रेन गेन मा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभयो। प्रतिभाशाली युवाहरूलाई विदेश जान बाध्य बनाउने अवस्थालाई परिवर्तन गरी उनीहरूलाई नेपालमै अवसर सिर्जना गर्न प्रेरित गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “नेपालमा सम्भावनाको कमी छैन, कमी छ त अवसर चिन्ने सोचको। अब हामीले युवालाई रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने उद्यमी बनाउनु आवश्यक छ।”

Inside Article Ads

उहाँले स्टार्टअप समिट नेपाल–२०२६ आजबाट औपचारिक रूपमा सुरु भएको उल्लेख गर्दै आगामी दिनमा देशका सातै प्रदेश र ७७ वटै जिल्लामा पुगेर युवालाई स्टार्टअप, नवप्रवर्तन, व्यवसाय सञ्चालन प्रक्रिया, विश्व बजारका अनुभव, सफल उद्यमीका कथा तथा लगानीका अवसरबारे प्रशिक्षण र अन्तरक्रिया गरिने जानकारी दिनुभयो। सरकार, निजी क्षेत्र, विश्वविद्यालय तथा सबै सरोकारवालाबीच सहकार्य गरेर नेपालमा स्टार्टअपको नयाँ अभियान सञ्चालन गरिने उहाँको भनाइ थियो।

कार्यक्रमका विशेष अतिथि तथा किनोट वक्ता, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ता रौनियार ले स्टार्टअप सुरु गर्न ठूलो पूँजीभन्दा सही सोच, दृढ इच्छाशक्ति र निरन्तर प्रयास आवश्यक पर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “व्यवसाय सुरु गर्न रकम आवश्यक हुन्छ, तर त्योभन्दा धेरै आवश्यक कुरा भनेको सही मानसिकता हो। सानो लगानीबाट पनि ठूलो सफलता हासिल गर्न सकिन्छ।”

उहाँले कम्पनी दर्ता, व्यवसाय सञ्चालन, कानुनी प्रक्रिया, बजार अध्ययन, लगानी व्यवस्थापन, स्टार्टअप कर्जाको उपयोग तथा व्यवसाय विस्तारका विषयमा विस्तृत प्रस्तुति दिनुभएको थियो। अध्ययनकै क्रममा सीप, अनुभव र नेटवर्क निर्माण गर्दै उद्यमशील यात्राको सुरुवात गर्न उहाँले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। आवश्यक परे सरकारी तथा निजी क्षेत्रबाट विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जा तथा सहयोग प्राप्त गर्न सकिने जानकारी पनि उहाँले दिनुभयो।

कार्यक्रमका विशेष अतिथि, त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका प्राध्यापक डा. भारत थापा ले शैक्षिक संस्थाहरूमा यस्ता कार्यक्रम समयको आवश्यकता भएको बताउनुभयो। विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक ज्ञान, उद्यमशील सोच र नेतृत्व विकाससँग जोड्नुपर्नेमा जोड दिँदै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न विभाग तयार रहेको बताउनुभयो।

कार्यक्रममा सफल नेपाली स्टार्टअप उद्यमीहरूको सहभागिता रहेको थियो। साथै, वैदेशिक रोजगारीबाट नेपाल फर्किएर स्टार्टअप कर्जा उपयोग गरी सफल व्यवसाय स्थापना गरेका नेपाली उद्यमीहरूको प्रेरणादायी वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो। उक्त वृत्तचित्रले सहभागी विद्यार्थी तथा युवामा उल्लेखनीय उत्साह र आत्मविश्वास जगाएको आयोजकले जनाएको छ।

कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूले स्टार्टअप, उद्यमशीलता, लगानी, व्यवसाय सञ्चालन, बजार विस्तार, सरकारी नीति तथा वित्तीय पहुँचलगायतका विषयमा जिज्ञासा राखेका थिए। प्रश्नोत्तर सत्रमा वक्ताहरूले सहभागीहरूको जिज्ञासाको उत्तर दिँदै व्यवहारिक सुझावसमेत प्रदान गरेका थिए।

Visited 3 times, 3 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.