
१० बैशाख,ओखलढुंगा — पेट्रोलियम ढुवानी व्यवसायीले महँगो भाडा लिएको भन्दै ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा डिजेल तथा पेट्रोलको मूल्य उच्च गराइएको छ । यसैलाई कारण देखाउँदै स्थानीय र लामो दूरीका यातायात व्यवसायीले चर्को भाडा असुलिरहेका छन् डिजेल–पेट्रोलको मूल्य महँगो र बाटोसमेत कच्ची भएको भन्दै यातायात व्यवसायीले भाडा असुलिरहेका हुन् ।
अमलेखगन्जदेखि ओखलढुंगा सदरमुकामसम्म करिब २९३ किमि दूरी छ । यसका लागि लिइने कुल भाडादरअनुसार प्रतिकिमि ३१९ रुपैयाँ पर्न आउँछ । अमलेखगन्जदेखि ओखलढुंगा, सोलुखुम्बु र खोटाङसम्म धेरैजसो बाटो कालोपत्र भइसकेको छ । तर ढुवानी व्यवसायीले कच्ची बाटोको दररेटमा भाडा लिने गरेको उपभोक्ता बताउँछन् । ओखलढुंगा र खोटाङमा डिजेल प्रतिलिटिर १७३ रुपैयाँ ५ पैसा छ । पेट्रोल भने १८५ रुपैयाँ छ । सोलुखुम्बुको सल्लेरीमा डिजेल प्रतिलिटर १७६ रुपैयाँ ३० पैसा र पेट्रोल १८९ रुपैयाँ ३० पैसा छ । नेपाल आयल निगमले उपभोक्तालाई निर्धारण गरेको खुद्रा मूल्य भने पेट्रोल प्रतिलिटर १७५ र डिजेल १६५ छ ।
पेट्रोलियम ढुवानी व्यवसायी संघले १० वर्षअघिको दूरी र दररेट परिमार्जन गरेको छैन । ओखलढुंगा र उदयपुरको सिमानामा पक्की पुल नबन्दा ड्रममा बोकेर तार्नुपर्थ्यो । पक्की पुल नभएकाले करिब दुई किमि थप दूरीको भाडादर व्यवसायीले निर्धारण गरेका थिए । पुल बनेको सात वर्ष बितिसक्दा सोही भाडादर कायम छ । यसले गर्दा सर्वसाधारण महँगीको मारमा परेका हुन् ।
पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघले तोकेको दररेटअनुसार अमलेखगन्जदेखि ओखलढुंगासम्म प्रतिकेएल (हजार लिटर) को भाडा सात हजार सात सय ९७ रुपैयाँ पर्छ । १२ केएलको ट्यांकरमा ढुवानी गर्दा एक ट्यांकरको ढुवानी मूल्य ९३ हजार पाँच सय ६४ रुपैयाँ पर्छ । सोही ढुवानी मूल्यलाई भाग गर्दा निगमले तोकेको भन्दा उपभोक्तालाई प्रतिलिटर सात रुपैयाँ ७९ पैसा बढी भार पर्छ ।
ढुवानी भाडादरका विषयबारे बुझ्न पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको कार्यालयमा फोन गर्दा कार्यालयका एक कर्मचारीले अध्यक्ष ध्रुवप्रसाद सिग्देल देशबाहिर रहेकाले केही दिनपछि सम्पर्क गर्न अनुरोध गरे । अरू पदाधिकारीबाट नभई अध्यक्षबाटै आधिकारिक जवाफ प्राप्त हुने उनले बताए ।
ढुवानीका विषयमा आइतबार मात्रै नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहले विज्ञप्ति जारी गरेको छ । ढुवानी मूल्य परिमार्जन गरी समायोजन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । पेट्रोलियम ढुवानी व्यवसायी संघ र निगम दुवैलाई ध्यानाकर्षण गराउँदै समायोजन नभए संघर्षका कार्यक्रम गर्ने चेतावनीसमेत दिएको छ ।
एक ट्यांकर (१२ हजार लिटर) डिजेल ल्याउँदा १३६ लिटर घटेर आइपुग्ने गरेको ओखलढुंगाका पेट्रोल पम्प व्यवसायीको दाबी छ । बाटोमा ट्यांकर बिग्रियो र एक रात बस्यो भने त्योभन्दा बढी डिजेलको परिमाण घट्ने उनीहरू बताउँछन् ।डिजेलचाहिँ तापक्रम चिसो भएपछि जम्छ र बाक्लिन्छ अनि परिमाण घट्ने गरेको उनीहरूको भनाइ छ ।
डिजेलभन्दा पेट्रोल झन् धेरै घटेर आइपुग्ने खुश्बु आयल सप्लायर्सका सञ्चालक कृष्णराम श्रेष्ठले जनाए । पेट्रोल प्रतिदिन औसतमा ४ लिटर पम्पमै (हावामा उडेर) घट्ने गरेको उनको भनाइ छ । अमलेखगन्जदेखि एक ट्यांकर तेल ढुवानी गरेबापत चालकलाई १० हजार भत्ता दिनुपर्ने पनि उनले बताए । निगमले ट्यांकरमा तेल भर्दा पनि सही परिमाण नदिने व्यवसायीको आरोप छ ।
समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।
