
काठमाडौं – २२ चैत्र २०७८
काठमाडौं, नेपाल राष्ट्र बैंकले आयातका लागि आवश्यक पर्ने प्रतितपत्र(एलसी) खोल्न काठाइ गरेको छ । राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाडी लगायतका विलासीका बस्तु आयातको एलसी रोक्न निर्देशन दिएको हो । विलासी बस्तुहरुको आयात बढेको भन्दै राष्ट्र बैंक सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई एलसी खोल्न कडाइ गर्न निर्देशन दिएको हो । बाणिज्य बैंकहरुलाई एलसी खोल्न कडाइ गर्दै अत्यावश्यक बाहेकका वस्तुको आयात रोक्न निर्देशन दिएको छ ।
पछिल्लो समय शोधानान्तर स्थिति लगातार घाटामा गएको, व्यापारघाटा उच्च भएको र वैदेशिक मुद्रा संचितिमा उच्च दवाव परेको भन्दै राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन दिएको एक बैंकका सीईओले बताए । ‘यो विशेष समय हो यस्तो अवस्थामा सबैले सहयोग गर्नुपर्छ । तसर्थ नेपाललाई अत्यावश्यक पर्नेबाहेक कुनैपनि वस्तुको एलसी नखोल्नुहोला,’ राष्ट्र बैंकले उक्त निर्देशन दिएको उनले भने, ‘भोलीकै दिनदेखि नेपाललाई नभई नहुने बाहेक गाडीलगायत कुनैपनि विलासी वस्तुको आयातका लागि एलसी खोलिने छैन ।’
यसअघि राष्ट्र बैंकले व्यापारघाटा नियन्त्रणका लागि भन्दै सवारीसाधन आयातमा दिईने नगद मार्जिनको सिमा ५० प्रतिशतले घटाईदिएको थियो । सोमबार २७ वाणिज्य बैंकका सीईओहरुसँगको बैठकमा राष्ट्र बैंकका तर्फबाट सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ र विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल सहभागी थिए । राष्ट्र बैंकले सोमबार २७ वटा वाणिज्य बैंकका सीइओलाई बोलाएर वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम भए नभएको जानकारी लिएको थियो ।
